आयल निगमको के हो खेल ? असम्बन्धित फर्मको पानमा करोडौंको विवरण, मिसम्याचको पत्रले आतंक

सराङकोट न्यूज
16 May, 2023 6:02 pm
Advertisements

पोखरा

नेपाल आयल निगमका कर्मचारीहरु कतिसम्म गैह्र जिम्मेवार काम गर्छन् भन्ने कुरा आयल निगम डिपो गगनगौंडा आसपासका व्यवसायीहरु माथि परेको पिरलो पछि बल्ल थाहा लागेको छ । आयल निगम गगनगौंडा डिपोले आफ्नो कारोबार नै नभएका साना व्यापारिक फर्महरुका नामको पानमा करोडौं रुपैयाँको इन्धन कारोवार भएको विवरण प्रविस्ट गरिदिएको फेला परेको छ । पोखरा गगनगौंडाका एक स्टेशनरी पसलको पान नम्वर प्रयोग गरी करिब १४ करोड रुपैयाँ इन्धन खरिद गरेको विवरण आन्तरिक राजस्व कार्यालय पोखरामा विवरण पठाएपछि उक्त फर्म ठूलो रकमको मिस म्याचमा परेको छ। मिसम्याचमा पारेको पत्र प्राप्त भएपछि व्यवसायी आतंकित बन्न पुगेको बताउँछन् ।
यसरी हचुवाको भरमा मिस म्याचमा पर्नेहरुमा गगनगौंडा आसपासका मात्र ७ जना रहेका छन् । इन्धन कारोवार नै नगर्ने त्यस्ता फर्महरुमा फेन्सी पसलको नाममा ८६ लाख, विजुली पसलका नाममा २८ लाखको इन्धन खरिद गरेको कारोबार डाटा इन्ट्रि गरी आन्तरिक राजस्व कार्यालयमा पठाइएको र आन्तरिक राजस्व कार्यालयले मिस म्याचमा परेको भन्दै दण्ड जरिवाना बुझाउन पत्राचार गरेको थियो । आफूले कारोवारै नगरेको पेट्रोलियम पद्धार्थ कारोवार (खरिद) गरेको भन्दै छानविनमा परि जरिवाना बुझाउने सम्बन्धि पत्र आएपछि व्यवसायीहरु अचम्मित भएका थिए । आफूले गर्दै नगरेको कारोवारमा कसरी यति ठूलो चार्ज आइलाग्यो भन्ने विषयमा सनसनी मच्चिएको थियो । सोमबार पिडित फर्म संचालकहरु आयल निगमको गगनगौंडा डिपो कार्यालयमा डेलिगेसन गएका थिए । उनिहरुले नखाएको विस नलगाउन खातामा देखिएको मिसम्याच विवरण हटाउन र तिरेको रकम फिर्ता पाउन माग गरेका थिए ।
राज्यको जिम्मेवार कम्पनीबाट किन यस्तो लापरवाही भयो भन्ने हाम्रो जिज्ञाशा राख्दा आयल निगम गगनगौंडा डिपोका प्रमुख चित्तरञ्जन दाशले आफू भर्खर मात्र कार्यालय आएको र लेखासँग सम्बन्धित विषय भएको बताए । डिपोका लेखा अधिकृत भैरव रावलसँग सम्पर्क गर्दा उनले यो केन्द्रीय कार्यालयको लेखा विभागबाट गल्ती भएको बताए । डिपोले पठाएको विवरण ठिक थियो केन्द्रले एक्सल सिटमा इन्ट्री गर्दा त्रृटि पोस्टिङ हुन गएको रावलले वताए । आ.व. २०७६÷७७ कारोवार विवरण पोस्टिङ गर्दा असम्बन्धित व्यवसायिक फर्महरुको पान नम्वरमा पोस्टिङ हुन पुगेको बताइएको छ । २०७६÷७७ को गलत पोस्टिङ आ.व. २०७९÷७८ मा आएपछि बल्ल थाहा हुन आएको हो । व्यवसायी फर्मको नाममा मिसम्याच गरेको भन्दै आन्तरिक राजस्व कार्यालयले पत्राचार गरेपछि मात्र आयल निगमको लापरवाही थाहा हुन गएको हो ।
आयल निगम कार्यालयबाटै असम्बन्धित फर्मको नाममा रहेको पान नम्वरमा विवरण प्रविस्ट भएकोले विवरण हटाउन र तिरिएको जरिवाना फिर्ता गर्नका लागि केन्द्रीय कार्यालयसँग अनुरोध गरिएको आयल निगम गगनगौंडा डिपोका सूचना अधिकारी श्रीधर लामिछानेले बताए ।
जिम्मेवार सरकारी कार्यालयबाट हुने गल्ती कमजोरीका कारण सर्वसाधारण नागरिकले हैरानी र वद्नामी खेप्नु परेको छ । त्यति मात्र हैन असम्बन्धित फर्मका नाममा विवरण पोस्ट गर्ने कार्यलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ३ वर्ष अघिको गल्ती बल्ल वाहिरिएको छ यस्तो गल्ती अरु कति होलान् आफ्नो विवरण वेलैमा निगरानी गर्नुपर्ने भएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: