अन्तर्राष्ट्रिय मातृभाषा दिवस (फेब्रुअरी २१) को सन्दर्भमा आउँदो फागुन १२ गते शनिवार गण्डकी प्रदेशका विभिन्न मातृभाषाका सर्जकहरु आआफ्ना सिर्जनासाहित एकै ठाउँमा उपस्थित हुने भएका छन् ।

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा गण्डकी प्रदेशभित्रका विभिन्न मातृभाषामा आधारित बहुभाषिक काव्य गोष्ठी गरिन लागेको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

नेपालको संविधान २०७२ ले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्र भाषा मानेको सन्दर्भमा २०७८ को जनगणना अनुसार गण्डकी प्रदेशभित्र नेपाली, मगर, गुरुङ, नेवार, तामाङ, शेर्पा, भोटे, थकाली, धिमाल, कुमाल, भोजपुरी, शेर्पालगायत २५ भन्दा बढी मातृभाषा रहेका छन् ।

यस सन्दर्भमा गण्डकी प्रदेशभित्रका मातृभाषाहरूको भौगोलिक तथा सामाजिक स्थिति र सम्बन्ध, भाषा नीति र योजनाका विषयमा सहप्राध्यापक डा. यमनाथ तिमिल्सिनाले अनुसन्धान पत्र पनि प्रस्तुत गर्नुहुनेछ ।

कन्या क्याम्पस पोखराको सभाहलमा बिहान ठिक ७ : ४५ बजे सुरु हुने उक्त कार्यक्रममा उपस्थित हुनका लागि प्रतिष्ठानले विभिन्न भाषामा सिर्जना आह्वान गरिसकेको छ ।

आआफ्नो मातृभाषामा गीत, कथा, कविता, निबन्ध, गजल, मुक्तक आदि विधामा आधारित कुनै एक सृजना संस्थाको जिमेल ठेगाना [email protected] मा पठाउन सकिने जनाइएको छ।