व्यवस्थापन समितिले पूर्णता नपाएका पोखराका यि चर्चित विद्यालयहरु

सराङकोट न्यूज
17 March, 2020 11:49 am
Advertisements
Advertisements

यदुनाथ बञ्जारा

सरकारी लगानीमा सञ्चालित सामुदायिक विद्यालयहरुको व्यवस्थापनको जिम्मा स्थानिय समुदायलाई दिइएको छ । संघिय सरकारको शिक्षा ऐन नियमावलीमा रहेको त्यो व्यवस्थापकीय पाटो अहिले स्थानिय सरकार समक्ष आई पुुगेको छ । कक्षा १२ सम्म पढाई हुुने विद्यालयहरु स्थानिय सरकारको मातहतमा आएपछि त्यसको व्यवस्थापन, निगरानी र नियमन थप प्रभावकारी हुने अपेक्षा गरिएको थियो तर स्थानिय सरकारले आफ्नै आगनका विद्यालयका व्यवस्थापन चुस्त दुरुस्त वनाउन सफलता हासिल गर्न सकेको छैन ।
नेपालको संविधान २०७२ को धारा २६६ ले दिएको अधिकार वमोजिम वनेको स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार पोखरा महानगरपालिकाले स्थानिय राजपत्र प्रकाशन गरी शिक्षा नियमावली जारी गरेको थियो । २०७५ जेष्ठ ८ गते जारी भएको राजपत्र वमोजिम मवि सम्मको विद्यालय संचालन व्यवस्थापनको जिम्मा महानगरको काँधमा गएको थियो । आफैले जारी गरेको शिक्षा नियमावली २०७५ अझै पनि कार्यान्वयनमा ल्याउन महानगर असफल देखिएको छ ।
पोखरा महानगर भित्रका नाम चलेका विद्यालयहरुले नै शिक्षा नियमावली कार्यान्वयनमा ढिलासुुस्ती गर्दै आएका छन् । सामुदायिक विद्यालयको संचालन र व्यवस्थापकीय दायित्व वोकेको विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्यमा सहमती कायम हुन सकेको छैन । विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाउँदा विद्यालयको नितिगत निर्णय लिन कठिनाई परेको छ । विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाई ठूला निर्णय लिन नमिल्ने हुँदा विविध समस्या पर्ने गरेको ति विद्यालयका प्राचार्यहरुले गुुनासो गर्ने गरेका छन्।

कहाँ कहाँ छ अपुरो वि.व्य.स.?

अमरसिंह मा.वि. पोखरा

अमरसिंह मा.वि. पोखराको चर्चित र नमूना विद्यालयको रुपमा स्थापित अमरसिंह मा.वि. पोखरा १२ को विद्यालय व्यवस्थापन समिति अपुरो रुपमा चलिरहेको छ । अभिभावक भेलाबाट तिन जना सदस्य सर्वसम्मत छनोट भई आएपनि वाँकी ५ जना सदस्यको हुने भन्ने यकिन भएको छैन । वडा शिक्षा समितिले छनोट गरी पठाउने दुुई जना सदस्यको नाम विद्यालयमा प्राप्त हुन नआएपछि मनोनित सदस्य चयन गर्न समेत अप्ठेरो परेको छ । पोखरा महानगरपालिका वार्ड नं. १२ को वडा शिक्षा समितिले छनोट गरेर पठाउने दुई जना सदस्यको वारेमा वडामा नै विवाद रहेको पाइएको छ । वडा शिक्षा समिति १२ का संयोजक तथा वडा अध्यक्ष राम बहादुर कार्कीले मिन बहादुर गुरुङ र शिव बहादुर वराललाई छनोट गरेको वताएका छन् । उक्त दुवै जना व्यक्ति नेकपाका कार्यकर्ता हुन् । कार्यकर्ता वृत्तमै विवाद चर्किएपछि गुरुङ र बरालको नाम सिफारिस हुनवाट रोकिएका छन् । मिन गुरुङ र शिव व. वराल आवद्ध सत्ताधारी दलभित्रै नाम छनोट प्रति रुष्टता वढेपछि अर्को नाम छनोट गर्ने र तिनै नाम पठाउने भन्ने विषयमा अन्यौलता रहेको वडा अध्यक्ष राम बहादुर कार्कीले वताए । कार्की भन्छन् मैले आफ्नै दलको मान्छे नपठाई काम गर्दा पनि सुख पाइन ।
अम्मर सिंह मा.वि. वि.व्य.स. गठन कार्यमा यस अघि पनि पटक पटक विवादको भुमरीमा फस्दै आएको विद्यालय हो । स्थानिय तहको सरकारको मुठ्ठीमा अधिकार आउँदा पनि त्यसबाट समयमै निकास निस्कन नसक्नु लज्जाको विषय वनेको छ । राजनीतिक दाउपेच र विभिन्न स्वार्थ समूहको दवाव र प्रभावका कारण कानूनले तोकिएको समय भित्र समिति वन्न सकेको छैन । समितिले पूर्णता नपाउँदा विद्यालयका भौतिक पूर्वाधार विकास निर्माण, शिक्षक कर्मचारी नियुक्तिमा समस्या आउने प्राचार्य तेजस्वी वरालले वताए ।

राष्ट्रिय मा.वि. पोखरा

पोखरा को अर्को पुरानो र चर्चित विद्यालय राष्ट्रिय मा.वि. को विव्यसले पनि पूर्णता पाएको छैन । अभिभावक भेलावाट छनोट हुनुपर्ने सदस्य छनोट भई सकेका छन् । वडा शिक्षा समितिले छनोट गर्नु पर्ने २ जना सदस्य पनि छनोट भइसकेका छन् । नेकपाका वडा नं. १ का अध्यक्ष दामोदार रिमाल र अधिवक्ता जनकल्याण पराजुली वडा शिक्षा समितिवाट चयन भएका हुन् । ९ सदस्यीय समितिमा ५ सदस्य मात्र चयन भएका छन् । ५ जनाले एक सदस्य चयन गरेपछि ६ जना मध्यबाट अध्यक्ष चयन हुनु पर्ने प्रावधान छ तर विडम्वना एकजना सदस्य कसलाई मनोनयन गर्ने भन्ने वारेमा सदस्यहरु वीचमा सहमती कायम हुन नसक्दा राष्ट्रिय मा.वि.को विव्यस पूर्णता पाउने विषय अनिर्णयको वन्दी झै वनेको छ । अभिभावक भेलावाट छनोट भई आएका तीनजना सदस्य एकातिर र वडा शिक्षा समितिले छानेका दुई जना र वडा अध्यक्ष सहित एकातिर रहेका कराण वरावर मतका कारण जग्गा दाता, चन्दादाता, लव्धप्रतिष्ठित मध्यवाट विव्यसले मनोनित गर्ने कार्य अलपत्र रहेको छ । अव मनोनित गर्ने सदस्य अध्यक्ष चयनका लागि निर्णायक हुने भएको कारण मनोनितको गाठो फुकाउन सकस पर्ने देखिन्छ। जवसम्म मनोनित प्रकृया पुरा हुदैन तवसम्म अध्यक्ष चयन प्रकृया सम्भव छैन । अध्यक्षका लागि जनकल्याण पराजुली र अभिभावक भेलावाट छनोट भएका मध्यवाट मोहन दवाडी र निवर्तमान अध्यक्ष सिता अधिकारीकोे दावी रहने तयारी भएको वुझिन आएको छ ।
राष्ट्रिय मा.वि.मा देखिएको दुई धुर्वको टकरावका कारण विद्यालयले पूर्ण विव्यस पाउन कठिन देखिन्छ । विद्यालयको हित र गुणस्तरमा लाग्नु पर्ने सदस्यहरुको यो हठले सरकारात्मक नतिजा दिन्छ भनेर कसरी विश्वास गर्ने ?

सितलादेवी मा.वि. पोखरा

२ पटक राष्ट्रिय पुरस्कार एक पटक प्रदेश पुरस्कार प्राप्त गर्न सफल शितलादेवी कास्की जिल्लाकै इज्जत राख्ने सामुदायिक विद्यालय हो । तर विडम्वना यस विद्यालयको व्यवस्थापन समितिले पूर्णता पाउन सकेको छैन । महानगर आफैले वनाएर जारी गरेको शिक्षा नियमावली कार्यान्वयनमा ल्याउन महानगरपालिका असक्षम रहेको छ। नियमावली वमोजिम अभिभावक भेलावाट छानिएर आउन एक महिला र दुई पुरुष सदस्य १५ महिना पहिल्यै मिति २०७५÷८÷२९ गते नै चयन भइसकेका हुन तर महानगरपालिका वडा नं. १२ को वडा शिक्षा समितिले छनोट गरी सिफारिस गर्नु पर्ने २ जना सदस्यको चयन गर्न नसक्दा विव्यसले पूर्णत पाउन सकेको छैन। वडा शिक्षा समितिका संयोजक राम वहादुर कार्कीको नेतृत्वमा रहने शिक्षा समिति निकम्वा वन्न पुगेको छ ।
वडा भित्र रहेका सामुदायिक विद्यालयलाई माया गर्ने शिक्षा प्रेमीहरु मध्यबाट वडा शिक्षा समितिले २ जना व्यक्ति मनोनित गर्न नसकेका कारण झण्डै डेढ वर्ष देखि सितलादेवी मा.वि.को विद्यालय व्यवस्थापन समितिले पूर्ण पाउन नसकेको हो । समिति अपुरो हुँदा शिक्षक अभिभावक संघ गठन हुन सकेको छैन । शि.अ. संघ विव्यसले गठन गर्ने कानूनी व्यवस्था छ । सरकराले जम्मा मा.वि. मा १ र प्रा.वि. मा ८ जनाको दरवन्दी दिएको उक्त विद्यालयलाई सर सहयोग जुटाउन समेत हम्मे हम्मे परेको अवस्था छ भने भौतिक विकास निर्माण जस्ता विषयमा काम गर्न समेत कठिन परेको विद्यालयका प्राचार्य वावुराम अधिकारी वताउँछन्।
देशका दुई चर्चित विद्यालय पोखरा महानगर पालिका वार्ड नंं १२ मै रहेका छन् । अमरसिंह नमूना मा.वि. र सितलादेवी मा.वि. लाई प्रत्यक्ष अभिभावकत्व प्रदान गर्ने स्थानिय सरकार पोखरा महानगरको अकर्मण्य कार्यशैलीका कारण शिक्षा मन्त्रालयले गर्ने मूल्यांकनमा समेत नम्वर कम आएको सितलादेवी मा.वि.का प्र.अ.ले वावुराम अधिकारीले वताए ।
अमरसिंह मा.वि. वि.व्यस. सदस्यमा छनोट गर्ने वडा शिक्षा समितिको निर्णयमा मेयर मानवहादुर जिसीले हस्तक्षेप गरेर विद्यालयलाई वन्धक वनाएको वताइएको छ यस वारेमा मेयर जिसी सँग सम्पर्क हुन सकेन ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: