वडाका जनप्रतिनिधि र कर्मचारी कोभिड महामारीमा कामै छोडेर घुमफिरमा

सराङकोट न्यूज
28 April, 2021 1:07 pm
Advertisements
Advertisements

नेपाल यतिखेर दोश्रो लहरको कोरोना महामारीको चपेटामा परेको छ । त्यसमा पनि कास्की रोड जोनमा परेको जिल्ला हो । रेड जोनमा परेका जिल्लाहरुमा २५ जना भन्दा बढी सम्मिलित हुने सबै कार्यक्रम रोक्का गरिसकिएको छ । पूर्व निर्धारित कार्यक्रमहरु स्थगित भइसकेका छन्। कतिपय जिल्लाहरुमा लकडाउन र निषेधाज्ञा जारी भइरहेका छन् ।
यस्तो विषय परिस्थितिमा पनि पोखरा महानगरपालिका वडा नं.१ का जनप्रतिनिधी कर्मचारीहरुलाई भने घुमफिर गर्ने लहर चलेको छ । सामाजिक दुरी कायम गर्नुपर्ने, कोरोना महामारीको चेन बे्रक गर्नुपर्ने कार्यमा क्रियाशिल रहनुपर्ने जनप्रतिनिधि र कर्मचारीहरु आफै घुमफिर गर्न लालायित हुनुलाई जनउत्तरदायी कसरी मान्ने?
यस्तै भएको छ पोखरा महानगरपालिका वडा नं.१ । जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयम्सेविकाहरु सहित ३० जनाको जम्बो टोली ३ दिने भ्रमणमा गएर फर्किएका छन् । उनीहरु २०७८ वैशाख १० गते शुक्रबार ११ बजे कास्कीको पर्यटकीय गन्तव्य घले गाउँ, भुर्जु· र राइनासकोट डुलेर वैशाख १२ गते आइतबार दिउँसो साढे दुई बजे पोखरा फर्किएका छन्। घुमफिर टोलीमा वडा अध्यक्ष शारदा पराजुली, सदस्यहरु रुद्र प्रसाद चुवाई सुवेदी, साहारा प्रधान, प्रेम कुमारी परियार, सचिव कुल प्रसाद पौडेल, सहायक सचिव शारदा सापकोटा सहित ३० जना संलग्न रहेको थिए । वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरु सबै भ्रमणमा निस्किएका कारण शुक्रबार र आइतबार दुई दिन सम्म सेवा लिन आएका सेवाग्राहीहरु सेवा नपाई फर्कन परेको भन्दै दुःख व्यक्त गरेका थिए ।
कोरोना प्रभावित कास्कीको पोखरा महानगरका ३० जना एउटै बसमा चढेर बेजिल्ला भ्रमणमा निस्किएको विषयमा वडा नम्बर १ का नागरिक मात्र हैन प्रत्यक्ष दर्शीहरु समेतले आलोचना गरेका थिए । आम नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन गर्न लगाउनु पर्ने दायित्व बोकेको स्थानीय वडा सरकार आफैले बाटो बिराएको छ । केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले कोरोना महामारीलाई मध्यनजर गर्दै जन्ती, मलामी, भेला गोष्ठी गर्न समेत २५ जनाभन्दा कम हुनुपर्ने सूचना जारी गरेको अवस्था छ । तर महानगरपालिकाको वडा नं.१ स्वयम्ले राज्यको निती निर्देशन विपरित गई ३० जना को जम्बो टोली बेजिल्ला भ्रमण गएका थिए ।
पोखरा महानगरका प्रवक्ता तथा ५ नम्बर वडाअध्यक्ष धनबहादुर नेपाली कोभिड रोकथामका लागि जारी मापदण्ड पालन गर्ने गराउने निकायबाटै उल्लंघन हुनु गैह्र जिम्मेवारी पूर्ण कार्य भएको बताउँछन् । २५ जना बढी जम्मा हुन समेत रोक लगाएको अवस्थामा ३० जना एउटै बस चढेर बेजिल्ला भ्रमणमा जानु यो अवस्थामा उचित नभएको पनि प्रवक्ता नेपालीले बताए ।
सार्वजनिक जग्गा

संरक्षणको बजेट रकमान्तर गरी घुमफिरमा खर्च

पोखरा महानगरपालिकाका विभिन्न वडाले रातो बुकमा भएका स्वीकृत योजनाका बजेटलाई रकमान्तर गरि खर्च गर्ने गरेका छन् । वडा भेलाबाट पारित भई महानगरबाट स्वीकृत योजना मध्ये कतिपय बजेट योजना तथा कार्यक्रमलाई तोडमोड गरि रकमान्तर स्वीकृत गराई खर्च गर्ने कार्य वर्षेनी चल्दै आएको छ ।
यस्तै पोखरा महानगरपालिका वडा नं. १ ले सार्वजनिक जग्गा संरक्षण तथा सरसफाई शिर्षकमा छुट्टिएको बजेटबाट रकमान्तर गरि ३ दिने लमजुङ भ्रमण गएको खुल्न आएको छ । बजेट खर्च शिर्षक २२२९१ को ७ लाख बजेट मध्यबाट १ लाख ५० हजार रुपैया रकमान्तर गरी घुमफिरमा खर्च भएको पाइएको छ । २२२९१ बजेट खर्च शिर्षकबाट २२५२२ नम्बर शिर्षकमा रकमान्तर गरिएको छ । नगरसभाबाट स्वीकृत बजेटलाई रकमान्तर गर्न वडा कार्यालयले २०७७ चैत्र ३१ गते पेश गरेको थियो भने प्रमुख प्रशासकीय अधिकृत महेश बरालले २०७८ वैशाख ६ गते रकमान्तर सदर स्वीकृत गरेका थिए ।
वडा नं.१ का वडा अध्यक्ष शारदा कुमारी पराजुलीले कर्मचारी र जनप्रतिनिधिहरुलाई मनोरञ्जनका लागि अवलोकन भ्रमणमा लागिएको बताइन् । कोरोना महामारीमा भ्रमण गर्न उचित थियो र भन्ने हाम्रो जिज्ञासामा उनले भनिन् “गत वर्ष पनि कोरोनाले घुम्न पाइएन यसपाली चाही महामारी नचर्किदै गइयो ।”
जनप्रतिनिधि, कर्मचारी सबैलाई ताजकी, मनोरञ्जनका लागि घुमफिर आवश्यक पर्छ तर अन्य शिर्षकमा छुट्याइएको बजेट रकमान्तर गरि घुमफिरमै निस्कने परिपार्टीले विकृति बढाउन सक्छ । वार्षिक बजेट विनियोजन र स्वीकृति गर्दा अवलोकन भ्रमण शिर्षकमै बजेट छुट्याएर घुम्न गए राम्रो हुने थियो कि भन्ने हाम्रो प्रश्न मात्र हो।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: