उल्टियो पोखराको विरासत, घात अन्तरघातको काण्डै काण्डै

यदुनाथ बन्जारा
24 May, 2022 12:26 pm
Advertisements

देशकै ठूलो महानगरपालिका पोखरा–३३ वडा रहेको पोखरा महानगरको मतगणना जारी रहेको छ । ३३ मध्ये २९ वटा वडाको मत परिणाम घोषणा भइसकेको छ । घोषणा भएको परिणाम अनुसार नेपाली कांग्रेसले स्पष्ट बहुमत हासिल गरिसकेको छ । अघिल्लो स्थानिय चुनाव २०७४ मा ११ वटा मात्र वडा जितेको नेपाली कांग्रेस र २२ वटा वडा जित्न सफल नेकपा एमाले बीच घम्साघम्सी निकै पेचिलो देखियो ।
एमालेले आफ्नो अघिल्लो विरास जोगाउन सकेन । २२ वडा जितेको एमालेले कांग्रेसको स्थान वरिपरि चित्त बुझाउनु पर्ने भएको छ भने ११ सिटमा सिमित नेपाली कांग्रेसले अघिल्लो एमालेको स्थान अर्थात दुई तिहाई वडाको वरिपरि सिट हासिल गर्ने भएको छ । यसले ५ वर्षमा गरेका कार्य जन चाहना शिद्ध गर्न असफल रहेको बुझ्न सकिन्छ । जन चाहना फेल भएका वडाहरुमा नेतृत्व परिवर्तन हुन पुगेको छ ।
यो समाचार तयार पार्दा सम्म पोखराका २९ वटा वडाका मत परिणाम घोषणा भइसकेको छ । घोषित २९ वडा मध्ये नेपाली कांग्रेसले वार्ड २, ३, ४, ७, ९, १०, ११, १२, १३, १४, १६, १९, २३, २४, २५, २६, २७, २८, ३० र ३१ गरि २० वटा वडा जितेको छ भने नेकपा एमालेले १, ५, ६, ८, १५, १७, २०, २१, २२, २९ गरि १० वटा वडामा जितेको छ ।
नेपाली कांग्रेसले जितेको २० वडा मध्ये वार्ड नं.७,१३,१४,१६,१९,२४,२५,२६,२८, ३०, ३१ गरी ११ वटा वडा अघिल्लो चुनावमा एमालेले जितेको वडा हो । ५ वर्षपछि आयोजित दोश्रो चुनावमा एमालेले आफ्नो विरासत गुमाएको छ । यस्तै अघिल्लो चुनावमा नेपाली कांग्रेसले जितेको वार्ड नं.६ यस पटक एमालेले जितेको छ । ६ नम्बर वार्डमा अघिल्ला अध्यक्ष जगत पहारी आफै उम्मेद्वार बनेका थिए तर उनैले आफ्नो विरासत धान्न सकेनन् आफ्नै कार्यकालका वडा सदस्य विष्णु बहादुर भट्टराई (एमालेबाट) ले आफ्नै अध्यक्ष पहारीलाई पराजित गरि जित हासिल गरेका थिए ।

एमालेले किन गुमायो ?

पोखराको लागि यस पटकको स्थानिय चुनाव चर्चाको शिखरमा रहन पुग्यो । मेयरका उम्मेद्वार छनोटका पहिलो पात्र पोखरा–१९, पुरुन्चौरका दीपक पौडेल सुन काण्डको विवादमा मुछिए । पार्टीले प्रतिरक्षा नगरि हतार हतारमा पोखरा–१६ का कृष्ण थापालाई उठाइयो। त्यहिबाट सुरु भयो एमाले भित्र अन्तरविरोध। पर्दा अगाडि दिपक पौडेल र कृष्ण थापा देखिए पनि पर्दा पछाडि एमालेका शिर्ष नेता संगठन विभाग प्रमुख खगराज अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ थिए ।
कृष्ण थापा अचानक मैदानमा आएपछि पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी बीचको जुंगाको लडाई भुसको आगो झैं सनसनी फैलियो। एमालेकै कार्यकर्ताबीच भएको अडियो टेप पब्लिक भएपछि चुनावको आंकलन नै बदलियो । मतदान सम्पन्न भएको पर्सिपल्ट अडियो सार्वजनिक भएको कारण मतदानमा प्रभाव पार्न सकेन तर अडियोमा जस्तो सम्वाद सुनिएको थियो नतिजाले त्यस्तै रुप देखायो ।
२० हजार मतान्तरले मेयर जित्ने दाबी गरेका एमाले उम्मेद्वार कृष्ण थापाको नतिजा उल्टो पर्न गयो बरु कम मत हैसियत भएका ने.क.पा. एसका उम्मेद्वार धनराज आचार्यले अनपेक्षित नतिजा हासिल गर्न सके । लगभग १३ हजार मत गणना बाँकी रहँदा आचार्यले ४५ सय मतले अग्रता लिएका छन् । आचार्यको सफलतामा गठबन्धनको मत त थियो नै त्यसको अलावा अडियो काण्डमा आएको प्रकरणले साथ दिएको छ । एमाले वडा अध्यक्ष जितेकै वडामा कृष्ण थापालाई भन्दा धनराज आचार्यलाई बढि मत जानुलाई अडिया काण्ड संयोग मात्र हो भन्न सकिदैन । मतदान भित्र अन्तरघातको गन्धले पल्ला भारी भएको छ । थापाले विस्थापन गरेका पोखरा–१९ का उम्मेद्वार दीपक पौडेलकै वडाबाट सय भोट कृष्ण थापालाई भन्दा बढी आचार्यलाई मत प्राप्त भएको छ । यस्तै दलित विभेद काण्डमा महानगरभरबाट संयौ भोट काटिएको दलित अगुवाहरुले बताएको कुरा यथार्थ नजिक पुगेको देखिन्छ ।
मेयर उम्मेद्वार प्रकरणको असर वडा तहसम्म परेको एमालेकै वडा अध्यक्ष उम्मेद्वारहरुले गुनासो गरेका छन् । नाम नबताउने सर्तमा एक पराजित उम्मेद्वारले भने–“गठबन्धन भन्दा आफ्नै नेता कार्यकर्ताका कारण पराजित भइयो।”

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: