खौला मा.वि.मा वेथितिको खाल्टै खाल्टा, जागिर जोगाउन गुरुआमाको किर्ते कागज, डाक्टर र प्र.अ.को साथ

यदुनाथ बन्जारा
28 July, 2023 4:23 pm
Advertisements

पोखरा

कुश्मा नगरपालिका वडा नं. १३ मा रहेको खौला लाकुरी मा.वि. मा बेथितिको खाल्टै खाल्टा परेका छन् । खाल्टा परेका शृंखलाबद्ध खबरहरु छरपस्ट भएपछि खाल्टा पुर्न र ढाकछोप गर्न विघ्न प्रयत्न गरिदै आएको छ तर खाल्डाको गहिराई र खाल्टाबाट निकालिएका फोहोरका डंगुरले शिक्षा जगतलाई नै र्दुगन्धित बनाउँदै लगेको छ ।
विद्यालय प्रशासन मिटरव्याजी लगाउने महाजन बन्न पुगेको छ । बैंक वित्तिय संस्थामा राखेर आर्थिक पारदर्शिता अपनाउन छोडेर गाउँका आफन्त इष्टमित्रलाई व्यक्तिगत पैसा झै बाँडेर मनोमानी व्याजमा लगाइएको छ । व्याजमा दिएको २६ लाख रुपैयाँ जोखिममा परेको छ । गैह्रकानूनी रुपमा व्याजमा लगाउने व्यक्तिबाट उक्त रकम असुल गरी विद्यालयको खातामा जम्मा गर्नु पर्ने स्थानीय युवाहरु बताउँछन् । विद्यालयकी प्रधानाध्यापक मिना भण्डारीको योजना मुताविक विद्यालयको रकम मनोमानी व्याजमा लगाइएको जानकारहरु बताउँछन् । यस विषयमा राजनितिक दलले जोगाउने पहल गरेको स्रोतले बताएको छ तर अख्तियारले छानविन गरि रहेको यस मुद्धामा विद्यालय र आम नागरिकले न्यायको दरिलो अपेक्षा गरेका छन् ।
प्रा.वि. दरबन्दीको मिना भण्डारी मा.वि. तहको प्रधानाध्यापक बन्नुको खास कुरो विद्यालयको ढुकुटीको डाडु पन्यूं चलाउन पाउने, दशौ लाखको निर्माण बजेट खेलाउन पाउने, शिक्षक सरुवा, नियूक्तिमा खेलोमेलो गर्न पाइने मात्र नभै आफ्ना खास मान्छेलाई कानुन विपरित विदाको कागजपत्र मिलाई अस्थायी राहत शिक्षकको जागिर जोगाइदिनेसम्मको काम गर्नु रहेछ भन्ने कुरा ढिलो गरि पुष्टि भएको छ । प्रधानाध्यापक मिना भण्डारी विद्यालयमा इजगज गर्ने उनका श्रीमान हिरा बहादुर कार्की जो अधिवक्ता हुन उनी यही राजधानी काठमाण्डौंमा बसेर पत्रकारलाई डर धाक, धम्की दिने, विद्यालयको बारेमा केही लेख्नु बोल्नु नहुने भन्ने यतिसम्म कि विद्यालयका सूचना अधिकारी राम के.सी.लाई फोन गरेर इमेल आइडी माग्दा इमेल आइडी पाउनु त कहाँँ हो कहाँ वकिल सापको धम्की आउँछ “मेरा श्रीमती प्र.अ. भएको खौला मा.वि. मा किन फोन गरेको” भन्ने । मैले व्यक्तिगत सूचना मागेको पनि थिइन तर वकिल साहेपको दम्भ र धम्की अर्थपूर्ण रुपमा सहनु परेको छ । कानूनविद् विद्धवान अधिवक्ताज्यूले उठाइदिन्छन त प्र.अ.ले व्याज लगाएको विद्यालयको २६ लाख रुपैयाँ ? जवाफ खोजौं।

गुरुआमाको विदामा को को फसे ?

खौला लाकुरी मा.वि. मा कार्यरत हिराकुमारी शर्मा राहत शिक्षक हुन् । राहत शिक्षकलाई असाधारण विदा दिने कानूनी प्रावधानमा छैन तर खौला लाँकुरी विद्यालयमा कानूनी व्यवस्था चल्दैन । जसलाई जे गरे पनि छुट रहेको छ । शिक्षक हिरा कुमारी शर्मा २०७५ साल कार्तिकको पहिलो हप्ता अमेरिका पुगेकी थिइन । २४ अक्टुवर २०१८ (अर्थात् कार्तिक ७ गते २०७५) मा यसपालिको दशैं अमेरिकामा भन्दै घुमघामको फोटो सामाजिक सञ्जालमा फोटो पोष्ट गरेकी थिइन तर उनले २०७५ कार्तिक १९ गते मात्र विरामी विदा पाउँ भनी विद्यालयलाई हस्तलिखित निवेदन दिएको फेला परेको छ । विद्यालयले २०७५ माघ २ गते मात्र विदा स्वीकृतको पत्र दिएको छ । विद्यालयले विरामी विदा स्वीकृत गर्दा कुनै चिकित्सकीय आधार लिइएको पाइदैन । अमेरिका घुम्न गएकी शिक्षिका हिराकुमारी शर्मा विदेश घुमेर फर्किएपछि वल्ल विद्यालयले विदा स्वीकृत पत्र दिएको छ ।
यता चिकित्सक डा. दिवस कटुवाल क्षेत्री (एन.एम.सी नम्बर ११३४४ ले २०७५ फागुन १६ गते रिजनल हस्पिटल प्रा.लि. पोखराको लेटर हेडमा विरामी प्रमाणित पत्र थमाइदिएका छन् । डा. क्षेत्रीले दिएको पत्रमा हिरा कुमारी पौडेल नसा च्यापिएको कारण २०७५ कार्तिक २४ गते रिजनल हस्पिटलमा भर्ना भएको ३ महिना नियमित औषधी खान र फिजियोथेरापी गर्नुपर्ने भनेका छन् । डाक्टर क्षेत्रीले दिएको यो रिपोर्ट सिधै किर्ते हो भन्ने स्पष्ट हुन्छ । विरामी भनिएकी राहत शिक्षक हिरा कुमारी शर्मा कार्तिकको पहिलो हप्ता अमेरिका पुगिसकेकी थिइन । उनले २०७५ कार्तिक ७ गते, कार्तिक १२ गते अमेरिकामा रहेको भन्दै पोष्ट गरेको फोटोले पुष्टि गरेको छ । अमेरिकाबाट ३ हप्तामा पोखरा आई रिजनल हस्पिटलमा उपचार गराइ पुन अमेरिका गएको तर्क गर्ने र झुटको नाटक रच्ने भन्दा अर्को उपाए देखिन्न । डाक्टरले दिएको रिपोर्टमा नसा च्यापिएको भन्ने लेखेका छन् नसा च्यापिएको एकिन गर्न एम.आर.आई वा सिटी स्क्यान गरिएको हुनुपर्छ त्यो प्रमाण छ भने पेश गर्नुपर्छ हैन भने किर्ते रिपोर्ट बनाई कानुन छल्न सहयोग गर्ने चिकित्सक उपर नेपाल मेडिकल काउन्सिल र अख्तियारले छानविन गर्नुपर्छ र कारवाही गर्नुपर्छ । चिकित्सकले आचार संहिता विपरित गई रोगीलाई निरोगी, निरोगीलाई रोगी बनाउनु पदिय दुरुपयोग हुन जान्छ । यस्तै किर्ते रिपोर्ट कै वलमा भ्रष्टाचार बढ्ने अनुचित कार्य हुने र राज्यलाई हानी नोक्सानी पुग्ने गरेको छ ।
यहाँ राहत (अस्थायी) शिक्षक हिरा कुमारी शर्माले विद्यालयलाई र विद्यार्थीलाई धोका दिएकी छिन । उनका श्रीमान् शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका प्रमुख भएका कारण पनि फर्जि कागजका भरमा अमेरिका पुग्न बल पुगेको बताइन्छ । विद्यालयकी प्र.अ. मिना भण्डारीले अनियमित विदा दिएको कागज बनाउन सहयोग गरेकिछिन तर तारतम्य र सिलसिला पटक्कै मिलेको देखिदैन । छोरा छोरीलाई मामाघर पठाएको जस्तै गरि विद्यालय प्रसाशनले हिरा कुमारी शर्मालाई अमेरिका पठाएको देखिन्छ । अमेरिका गइसकेपछिको मितिमा निवेदन दिनु विदेशबाट आएपछि स्वीकृत पत्र दिनु, विदा मिलाई तलव खाने वेलामा दोस्रो चौमासिक निकासा लिने बेलामा २०७५÷११÷१६ गते हचुवाको भरमा डाक्टरले मेडिकल रिपोर्ट दिनु यि सवै मतियार जन्य कार्य हुन भन्दा अत्युक्ति नहोला ।
खौला लाकुरी मा.वि.मा भएका वेथितिका शृंखला क्रमश उजागर भइरहेका छन् । मा.वि. स्थायी शिक्षकलाई पेण्डुलम बनाएर प्रा.वि. शिक्षक ले मा.वि. विद्यालय चलाउँदा ट्याक्सीको लाइसेन्स लिएको डाक्टरले बस चलाए जस्तै हविगत भएको छ । बाटो खराव छ यात्रा धरमरछ अनिश्चित रहन्छ त्यसैले विवादित विद्यालयमा राज्यको ध्यान कहिले जान्छ ? उदिमराज पौडेल शिक्षा विकास तथा समन्वय इकाइ पर्वतमा रहुञ्जेल उनिबाट केही अपेक्षा नरहेपनि कुश्मा शिक्षा शाखा र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयबाट न्यायोचित निकास पाउने स्थानीयले अपेक्षा राखेका छन् । हामीलाई प्राप्त पछिल्लो सूचना अनुसार वडा नम्बर १३ कार्यालयले सर्वदलिय र सर्वपक्षिय भेलाबाट कुनै विवाद नरहेको प्रतिवेदन बनाउन पहल गरेकोमा दलहरुले हस्ताक्षर गर्न नमानेको थाहा हुन आएको छ ।

 

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: