चण्डीडाँडा मा.वि.को ६५ औं वार्षिक उत्सव सम्पन्न

सराङकोट न्यूज
22 January, 2024 9:21 pm
Advertisements

स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नम्बर १ मट्टिखान स्थित श्री चण्डीडाँडा माध्यमिक विद्यालयको ६५औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आइतबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा र यससँग जोडिएका पालिकाहरूको विकासमा जोड दिँदै महानगरले यस वर्ष छिमेकी पालिका साझेदारी अन्तर्गत २५ लाख फेदीखोला गाउँपालिकालाई प्रदान गर्ने बताए । उनले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न शिक्षकले मात्र गर्न नसकिने बताउँदै यसमा अभिभावक विद्यालय व्यवस्थापन समिति पनि जागरुक भएर लाग्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले विद्यालयमा क्रमागत विशेष अनुदान अन्तरगत भवनहरू निर्माण कार्य भइरहेको तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको चार कोठे भवन पूर्ण सम्पन्न गर्नका लागि यस वर्ष पालिका बाट बजेट विनियोजित भई कार्य भइरहेको बताए । उनले यस वर्ष पालिकाबाट ई लाइब्रेरी कार्यक्रमको लागि विद्यालयलाई ६ लाख ५० हजार बजेट विनियोजित गर्ने कुरा बताएका छन् । साथै पालिकाभित्रका सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको बैंकमा खाता खोली उक्त खातामा गाउँपालिकाबाट रु एकसय र प्राइम कमर्सियल बैंकबाट रु एकसय सुरुको पटक जम्मा गरिने र आगामी दिनदेखि विद्यार्थीले प्राप्त गर्ने सम्पूर्ण छात्रवृत्तिहरू उनीहरूकै खातामा पठाउने प्रबन्ध गरिने बताए । विद्यालयको शैक्षिक अवस्था सुधार गर्न स्थानीय सरकार सदैव तयार रहेको धारणा व्यक्त गरे।
शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले सिकाई प्रक्रियामा सूचना तथा प्रविधिको उचित तरिकाले प्रयोग गर्नुपर्ने बताए । उनले विद्यालयले तयार पारेको योजना सही रूपमा कार्यान्वयन गर्न सकेमा यसबाट राम्रो सिकाई प्रतिफल आउने कुरा व्यक्त गरे ।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अमृत श्रेष्ठले विद्यालयको प्रतिवेदन र लेखा शिक्षक नारायण प्रसाद पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । फेदीखोला गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र गुरुङ, फेदीखोला गाउँपालिका वडा नं. १ अध्यक्ष अमृत क्षेत्री, वडा नं. २ अध्यक्ष अभिलाष गुरुङ लगायतका महानुभावहरूको उपस्थितिमा भएको कार्यक्रममा अक्षय कोषबाट प्राप्त छात्रवृत्ति, शैक्षिक पुरस्कार, खेलकुद पुरस्कार वितरण गरिएको थियो । विद्यालयलाई सहयोग गर्नुहुने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो । विद्यालयले दीर्घसेवा पदकबाट शिक्षक भिमबहादुर गुरुङ, वर्ष शिक्षकबाट शिक्षक विपिन थापा, वर्ष अभिभावकबाट अभिभावक सुमित्रा सुवेदी साथै विद्यालयमा लामो सेवा गरेका निवर्तमान प्रधानाध्यापक लालप्रसाद शर्मालाई सम्मान प्रदान गरेको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानध्यापक कुलचन्द्र पौडेलले गरेका थिए । उक्त सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरू प्रतिज्ञा पोखरेल र सुशान्त गिरीले गरेका थिए भने समग्र कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक श्री बन्धुराज पौडेलले गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: