![](https://www.sarangkotnews.com/wp-content/uploads/2019/11/photo-1-1024x338.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
मुलुक संघिय संरचनामा गएपछि सामुदायिक विद्यालयको घर जग्गा प्रति प्रदेश तथा स्थानिय सरकारको नजर परेको छ । सरकारी विद्यालयले प्रयोग गर्ने जग्गा र घर मासेर सहकारी स्वास्थ्य केन्द्र र वडा कार्यालय राख्न वल पूर्वक निर्णय हुन थालेका छन् ।
विद्यालयको स्वामित्वमा रहेको घर जग्गा कव्जा गरी पोखरा महानगरपालिकाले वडा कार्यालय राख्ने निर्णय गरी परिपत्र गरेपछि पोखरा १ को राष्ट्रिय मा.वि.ले विरोध जनाएको छ । ३ वर्ष अघि २०७३/४/३२ गतेको जिल्ला शिक्षा समिति कास्कीको निर्णय वमोजिम राष्ट्रिय मा.वि. मा मर्ज भएको वाल ज्योती प्रा.वि. मा वडा कार्यालय संचालन गर्ने महानगरपालिकाको २९ औं कार्यपालिका वैठकले निर्णय गरेको थियो । केहि ढिलो गरी उक्त निर्णयको पत्र २०७६ कार्तिक ६ गते मात्र राष्ट्रिय मा.वि. लाई पठाइएको छ । महानगर शिक्षा महाशाखाले राष्ट्रिय मा.वि.लाई सम्वोधन गरी लेखिएको पत्रमा नगर शिक्षा समितिको निर्णय अनुसार बाल ज्योती आ.वि. राष्ट्रिय मा.वि. मा समायोजन भएको उल्लेख गर्दै महानगर कार्यपालिकाको २०७६/१/९ गतेको वैठकको निर्णय कार्यान्वयन गरिदिनुहुन भन्ने शिर्षकमा उप सचिव गंगा वहादुर गुरुङ द्धारा हस्ताक्षरित पत्रले विद्यालयलाई झस्काएको छ ।
२०७३/०४/३२ गते तत्कालिन जिल्ला शिक्षा समितिको निर्णय वमोजिम समायोजन भएको वाल ज्योती प्रा.वि.को सम्पूर्ण चल अचल भौतिक नगदी जिन्सी सामग्री सहित सम्पत्ति राष्ट्रिय मा.वि.लाई हस्तान्तरण भएको विषयलाई वङ्गाएर महानगर शिक्षा समितिले समायोजन गरेको उल्लेख गरेको छ ।
२४ सय विद्यार्थी अध्ययनरत गर्दै आएको राष्ट्रिय माध्यमिक विद्यालयले आफूसँग मर्ज भएको बाल ज्योती प्रा.वि.मा हाल अतिरिक्त पढाई गरिरहेको दावी गरेको छ । निकट भविष्यमै एस.इ.इ. तयारी कक्षा सञ्चालन गर्ने वारे तयारी भइरहेको राष्ट्रिय मा.वि.का प्राचार्य वेद प्रकाश वस्तीले बताए । हाल विहान र दिउँसो चलाइएको ११ र १२ कक्षा अव एउटै सिफ्टमा चलाउन पर्ने कानूनी व्यवस्था अनुसार विद्यालयले वालज्योतीलाई प्रयोग गर्ने तयारी भइरहेको प्राचार्य वस्तीले वताए ।
सरकारी विद्यालय विस्तार गरी व्यवस्थित गर्नु आम नागरिकका छोरा छोरीलाई सर्वसुलभ मूल्यमा शिक्षा दिन समर्पित हुनु पर्ने स्थानिय सरकार उल्टै भइरहेको विद्यालय उखेल्न तिर उद्दत देखिनु लाई किमार्थ राम्रो मान्न सकिन्न ।
वालज्योती स्कूलमा वडा कार्यालय वगरले शहरी स्वास्थ्य केन्द्र लाई २०७५ जेष्ठ २१ गते पठाएको थियो । पहिला केहि दिनको लागि मात्र हो भने पठाइएको स्वास्थ्य केन्द्रको एक कर्मचारीले वताइन् । विद्यालयको भवनमा पहिला स्वास्थ्य केन्द्र छिराए अहिले वडा कार्यालय आफै छिरेर सामुदायिक विद्यालय मास्ने खेलमा जनप्रतिनिधि नै लागेको खुल्न आएको छ ।
सामान्यतया विद्यालयको जग्गा अन्य क्षेत्रमा प्रयोग गरिदैन । गर्नै परे पनि दुवै पक्षको सहमती लिएर प्रकृया पुरा गरेर क्याविनेटको निर्णय गरेर मात्र स्वामित्व परिवर्तन गर्न सकिन्थ्यो तर पोखरा महानगरपालिकाले विदालयसँग कुनै समन्वय नै नगरी सामुदायिक विद्यालय उखेल्न खोजेका छन् । यो कार्यशैलीले पोखरा महानगर सामुदायिक विद्यालय प्रति सकारात्मक र जिम्मेवार नरहेको देखिन्छ । देशको विकासको मुख्य आधार नै शिक्षा हो । सरकारले निःशुल्क र गुणस्तरिय शिक्षाका लागि सवैभन्दा वढि लगानी गर्नु पर्छ तव मात्र नागरिकले राहत महसुस गर्न सक्छन् ।
यता वडा नं. १ का वडा अध्यक्ष शारदा पराजुली महानगरलाई वडा कार्यालय राख्ने ठाउँ अभाव भएकोले बालज्योती स्कूल रोजिएको वताउँछिन् । वडा भरीको विद्यालयको संरक्षक तथा पदेन सदस्य रहने वडा अध्यक्षले राष्ट्रिय मा.वि.सँग किन समन्वय नगरेको होला भन्ने विषय अनुत्तरित नै छ ।
महानगरले साइनिङ अस्पतालको जग्गाबाट ६–७ रोपनी जग्गा सजिलै पाउने थियो तर खास पहल नै पुग्न नसक्दा आफ्नो अनुकुल जग्गा गुमाउन पुगेपछि महानगर स्कूलको जग्गामा आँखा लगाउन पुगेको हो ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)