Prabhu Bank Ad

पिसिआर जाँच कसका लागि र किन ?

यदुनाथ बन्जारा
24 May, 2020 5:22 pm

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण सुरु भएको सय दिन नाघिसकेको छ । विश्वलाई चुनौती दिइरहेको कोरोना महामारीबाट बच्न नेपालले लकडाउन गरेको पनि साठी दिन पुरा गरिसकेको छ । पछिल्ला साठी दिन र अघिल्ला चालिस दिन सहितका सय दिनको अवधिमा कति सावधानी अपनायौं ? महामारीको सम्भावित जोखिमको सामना गर्न कस्तो कस्तो तयारी ग¥यौ के–के पूर्वाधार वनायौं भन्ने वारेमा आम चासो र समिक्षाको विषय वनेको छ ।
नेपालमा यतिखेर बन्दा बन्दी जारी छ । ३ करोड जनता घर, डेरा कोठा भित्रै वन्दी जीवन विताएर कोरोना कहरबाट उन्मुक्ती पाउने आशाको डोरीमा अल्झिरहेका छन् । तर सरकारको स्पष्ट नीति र निगरानीमा भएको कमि र लापरवाहीका कारण झन् पछि झन् जोखिम मोल्न वाध्य वन्नु पर्ने अवस्था आइरहेको छ ।
वन्दावन्दीका वावजुत कोरोनाको संक्रमण डरलाग्दो ढंगबाट फैलिरहेको छ । तिव्र संक्रमण भइरहेको छिमेकी राष्ट्र भारतबाट आफ्नो घर गाउँ फर्कने नेपालीहरुका कारण अहिले ४० जिल्लामा कोरोना प्रवेश भइसकेको छ । संक्रमण पहिचान नभएका लेखाजोखा हुन वाँकी नै छ । अवको काम संक्रमण पहिचान र त्यसबाट अलग रहनु नै हो । संक्रमण पहिचान अर्थात् स्वावको पिसिआर परीक्षण नै एक निर्विकल्प उपाय हो । आर.डि.टि. जाँचलाई एउटा अर्को आधार मानिए पनि त्यसको विश्वसनियता न्यून रहेको पाइए पछि सरकार आफै अलमलमा परेको छ ।
पिसिआर जाँच एक महंगो प्रविधि हो । एक पटक परीक्षण गर्दा झण्डै १५ हजारको हाराहारीमा खर्च हुने यो जाँच अपरिहार्य वन्न पुगेको छ । संक्रमित देशबाट आएका मानिस कोरोनाको सम्भावित उच्च जोखिममा छन् । चिकित्सकीय विषय भएकोले यसको वेलिविस्तार लगाउनु हाम्रो काम हैन तर यति एकिनका साथ दावी गर्न सकिन्छ यसबाट जोगिन कोरोना संक्रमित पहिचान हुनु जरुरी छ समयमै पहिचान गरिएन भने यसको फैलने दर अनियन्त्रित हुन सक्छ जसको नतिजा भारतको मुम्वई, अमेरिकाको न्यूयोर्क, रुस र युरोपका स्पेन इटली, फ्रान्स, जर्मनी तथा वेलायत भन्दा कम हुने छैन ।

जाँचको प्राथमिकतामा को र किन ?

पिसिआर परीक्षण कसको लागि भन्ने वारे राज्य एकिन हुनुपर्छ पहिला । काम नहुनेहरु घरमै वसेर जोगिन सक्छन् तर कामका लागि सार्वजनिक स्थलमा जानै पर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीको पिसिआर परीक्षण पहिलो प्राथमिकतामा पर्छन् । पछिल्लो अवस्था र नतिजाले पनि वाहिरबाट आएका आफन्त जनको संक्रमण भन्दा वाहेक स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी कोरोनाबाट प्रत्यक्ष प्रभावित भएका छन् । त्यसमा पनि पहिलो घेरामा प्रत्यक्ष उपचारमा संलगन चिकित्सक र स्वास्थ्य कर्मीको पिसिआर जाँच अनिवार्य गरिनु पर्छ ।
दोस्रोमा सुरक्षा कर्मी र स्थलगत रिपोर्टिङमा खटिने पत्रकारहरुलाई पिसिआर परीक्षण गरिनुपर्छ तर राज्यले कोरोना जाँच र उपचारमा स्पष्ट मापदण्ड र कार्यविधि तयार नगर्दा पिसिआर जाँच पहुँचका आधारमा जसको शक्ति उसकै भक्ति वन्न पुगेको छ ।
दिन रात स्याम्पल संकलन गर्ने, परीक्षण गर्ने कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मीको पिसिआर जाँच गर्न पाएका छैनन् । ५–६ फिट पर वसेर मुद्दा सुन्ने न्यायाधिशलाई कोरोना सर्ने डर छ, त्यसैले थुनुवालाई पिसिआर गरेर मात्र अदालत ल्याउन अदालतले आदेश जारी गरेको छ । कुन दिनबाट पिसिआर टेष्ट नगरेको वकिललाई वहस गर्न, रिट दर्ता गर्न नदिने अर्को आदेश नआउँला भन्न सकिन्न ।
जनप्रतिनिधि अर्थात् माननीय सांसदहरु पिसिआर परीक्षणको प्राथमिकतामा परेका छन् । संघिय सांसद र विभिन्न प्रदेश सांसदहरुको स्वाव परीक्षण भइसकेको छ भने केहिको नतिजा आउन वाँकी छ । महानगरको नगर सभा आउँदै छ त्यहाँका प्रतिनिधिहरुको पनि पिसिआर जाँच गर्ने चर्चा चलाइएको छ । यि विभिन्न तहका जनप्रतिनिधिहरुको पिसिअआर परीक्षण गर्दैमा ४–५ हजार परीक्षण किट खर्च हुने निश्चित छ ।
दिन दिनै घरबाट आउ जाउ गर्ने, कार्यकर्ता भेटघाट, मिटिङ भोजमा सामेल हुने नेताहरुको पिसिआर परीक्षण प्राथमिकतामा पारिएपनि यथार्थ परक रुपमा प्राथमिक सूचिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीको परीक्षण कहिले हुने भन्ने एकिन छैन । दाताको भरमा प्राप्त किटले कहिले सम्म थेग्ला ? नेपालका वोर्डरमा अड्किएका नेपालीहरु, तेस्रो देशमा रहेका श्रमिक मजदुरहरुलाई स्वदेश फर्काउने तयारी गरिहरहेको सरकारलाई दशौं हजार संख्यामा पिसिआर किट अव आवश्यकता पर्ने निश्चित छ । स्वदेश भित्र्याइएका नागरिकलाई कोरोना नभएको एकिन गरेर मात्र घर पठाउनु पर्ने हुन्छ । कोरोना भएमा उपचार वन्दोवस्त राज्यकै दायित्व भित्रको विषय वनेको छ ।
्सरकार कुहिरोको काग जस्तै अलमल परेको छ । कसरी कोरोना रोकथान गर्ने भन्ने तर्फ ठोस कार्ययोजना नै वनाउन असक्षम वन्दै गएको छ । लकडाउनले गर्दा लाखौं जनता भोकले मर्ने अवस्थामा छन् । न राहत छ न काम नै गर्न पाएको छन् । केहि मुठ्ठी भर व्यक्तिले मनोमानी गर्नै पाएकै छन् । सिमाबाट लुकिछिपी नेपाल भित्रिने संभावित व्यक्तिलाई रोक्न समेत राज्य संयन्त्र निस्प्रभावी वन्न पुगेको छ ।
समग्रमा भन्नु पर्दा कोरोना भाइरसको महामारीवाट नेपाललाई जोगिन भगवान भरोषा वन्न पुगेको छ । लक्षित समुदाय, लक्षित व्यक्तिमा हुन पर्ने परीक्षण पहुँचवालामा सिमित छ । परीक्षणको दायरा सानो र सिमित घेरामा छ यसले गर्दा संक्रमित पहिचान नै हुन सकेको छैन । केहि दिन भित्र भारतको सिमामा अड्किएका हजारौं नागरिकलाई भित्र्याइदै छ । उनिहरुको व्यवस्थापन वारे पूर्व तयारी समेत अलपत्र छ । क्वारेन्टिन नाम मात्रको छ । त्यहि क्वारेन्टिन रोग सार्ने अखडा वन्न पुगेको छ । यहि व्यवस्थापन र यहि परीक्षण रहने हो भने नेपालमा कोरोना भाइरस संक्रमण नियन्त्रण वाहिर जान सक्ने अवस्था छ । त्यो अवस्था रोग र भोक दुवैबाट नेपाली पीडित हुन सक्ने तर्फ तत्काल कार्ययोजना अघि सार्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्: