मालपोत र वडा कार्यालयको मिलेमतोमा अदालतको आदेश विरुद्ध नावालकको जग्गा विक्री

यदुनाथ बन्जारा
16 March, 2021 11:45 am
Advertisements

कास्की जिल्ला अदालतको आदेशलाई उल्लंघन गर्दै नावालकको जग्गा संरक्षकले विक्री गरेको खुलेको छ । पोखरा महानगरपालिका वडा नं. ९ न्यूरोड बस्ने प्राची रानामगर खवासले अंशवण्डा मुद्दाको निर्णय सुनुवाईबाट प्राप्त हुन आएको पोखरा ९ को कि.नं. २६० को जग्गा मध्य ६ वर्षिया नावालक छोरीको नाममा एक अंश प्राप्त गरेकी थिइन् ।
कास्की जिल्ला अदालतका न्यायाधिश नगेन्द्र लाल कर्णको ईजलाशले मिति २०७३ साल वैशाख २० गते गरेको फैसलामा नावालक वादीको सम्पत्ति सावालक नहुञ्जेल विक्री एवं खर्च गर्न नपाउने गरी वादी प्राची रानामगरको जिम्मामा राखी दिने स्पष्ट किटान गरिएको छ । फैसला वमोजिम नावालक आरजु सावालक हुन १२ वर्ष वाँकी छदै संरक्षक प्राची रानामगरले उक्त जग्गा पोखरा ९ वस्ने विना श्रेष्ठलाई १ करोड १० लाख रुपैयाँमा विक्री गरेको पाइएको छ । विना श्रेष्ठले १ करोड १० लाखमा प्राची रानामगरबाट जग्गा किनेको वताएपनि मालपोतको मिति २०७७÷९÷२७ गतेको राजिनामा तमसुकमा उक्त जग्गा २६ लाख ५० हजारमा विक्री भएको उल्लेख छ ।
कित्ता नं. २६० को १५ हात जग्गा (१०६ व.मि.) मध्य दुई अंश वादी पक्ष प्राची राना र छोरी आरजुको नाममा १० हात संयुक्त पास गरी श्रेस्ता कायम गरिएको थियो भने प्रतिवादी जगत खवासको नाममा १ अंश ५ हात दिलाइएको थियो । फैसलाको ठहर खण्डमा नावालक (वादी) को सम्पत्तिको सुरक्षालाई प्राथमिकता दिएको वुझिन्छ । कि.नं. २६० बाट वण्डा भई आएको सम्पत्ति विक्री एवम् खर्च गर्न निषेध गरेको भए पनि संरक्षक आमा प्राची राना मगरले विक्री गरेको घटनालाई रहस्यमयी ढंगबाट हेरिएको छ । नावालकका घर परिवारले अदालतको आदेश विपरित नावालकको अचल सम्पत्ति विक्री गरेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
यसरी गरियो विक्री
प्राची रानामगरले नावालक छोरी समेतको संयुक्त जग्गा विक्रीको लागि मिति २०७७÷०९÷१९ गते वडा नम्वर ९ बाट घर वाटो प्रमाणित (सिफारिस) लिएकी देखिन्छ । वडा अध्यक्ष रामराज लामिछाने सँग अदालतले विक्री नगर्न आदेश दिएको नावालकको सम्पत्ति विक्री गर्न किन सिफारिस दिनु भयो भन्ने हाम्रो जिज्ञाशामा लामिछानेले अदालतको फैसलाबारे आफूलाई जानकारी नभएकोले सिफारिस गरिएको स्वीकार गरे ।
वडाको सिफारिसलाई मात्रै आधार मानेर मालपोत कार्यालय कास्कीले नावालकको जग्गा विक्रीको राजिनामा पास स्वीकृत गरिदिएको छ । अदालतबाट निर्णय सुनुवाई र फैसला भई आएको जग्गा सम्बन्धि विवरण र कैफियत अध्ययन नगरी विक्री गर्न नमिल्ने जग्गा विक्रिनामा पास गरिदिनुलाई मिलेमतो हुन सक्ने भन्दै लिखत वदर गरी नावालकको सम्पत्ति अदालतको आदेश वमोजिम सुरक्षित रहनु पर्ने स्थापित जानकारहरुले वताएका छन् ।
२०७७ पुष २७ गते नासु कृष्ण प्रसाद शर्मा, नासु टेक नारायण तिवारी र मालपोत अधिकृत केशव प्रसाद सुवेदीले नावालकको जग्गा विक्रीको काम तामेल गरेको खुल्न आएको छ । मालपोत अधिकृत केशव प्रसाद सुवेदीले फैसलाको जानकारी आफूलाई नभएको र वडाको सिफारिसको विश्वासमा परेर नावालकको झुक्यानमा पारेर गलत काम गर्न लगाएको भन्दै अधिकृत सुवेदीले सेवाग्राहीले फैसला लुकाएर आफ्नो काम गरेको बताएका छन् ।
प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेल अदालतबाट आएका मुद्दाका फाइल दाखा शाखाले राम्रो सँग अध्ययन नगरेका कारण चिप्लिन पुगेको बताउँछन् । अदालतले विक्री एवं खर्च नगर्नु भनेको नावालकको जग्गा विक्री नामसारी गर्न नहुने प्रमुख पौडेलले वताए । विक्री नामा भइसकेको अवस्थामा दुवै पक्षलाई वोलाएर जग्गा फिर्ताको लागि पहल गर्ने त्यसमा सहमत नभए अदालतको सहारा लिनु पर्ने पौडेलले सुझाव दिए ।
एक नावालकको सम्पत्तिको सुरक्षा सम्बन्धमा अदालतले स्पष्ट आदेश गर्दा गर्दै पनि विक्री गर्न नमिल्ने जग्गा विक्री भएको छ । स्थानिय सरकार (वडा कार्यालय) ले कानूनी पाटो प्रति नजर अन्दाज गर्दै घरबाटो सिफारिस दिएको छ । मालपोत कार्यालयले दाखा सम्बन्धि अध्ययन नै नगरी राजिनामा पास गरिदिएको छ । यि सवै कार्यले एक नावालकको सम्पत्ति विक्री भएको छ । अदालतको आदेशको उल्लंघन भएको छ ।
यता नावालकको संरक्षक प्राची रानामगर अदालतले विक्री नगर्न भनेको जग्गा विक्री गरेपनि पोखरा २५ सुइखेतमा छोरी र आफ्नो संयुक्त नाममा जग्गा खरिद गरेको र उक्त जग्गामा घर बनाउने तयारी भइरहेको बताइन् । विक्रि र खर्च गर्ने नमिल्ने जग्गा विक्री गरेर अर्को जग्गा किन्ने सम्बन्धमा अदालतले केहि वोलेको छैन ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: