सरकारी स्कुलको घर जग्गामा मनोमानी, कोही महानगरको कब्जामा, कोही बोर्डिङलाई भाडामा

सराङकोट न्यूज
9 March, 2022 4:38 pm
Advertisements
Advertisements

पोखरा : सरकारी विद्यालय सरकारकै नीति नियम अनुसार चल्नुपर्छ यो धु्रव सत्य कुरा हो। राज्यकोषबाट चल्ने भएकोले सरकारी विद्यालयको दायित्वमा रहेका सबै सम्पत्ति पारदर्शी पूर्ण ढ·बाट सुरक्षित राखेर भरपुर सदुपयोग गर्नु विद्यालय प्रशासन र व्यवस्थापन समितिको मुख्य कर्तव्य हुन आउँछ । अब चर्चा गरौं सरकारी विद्यालयको स्वामित्वमा रहेका घर जग्गाहरु अन्य निकायलाई दिन मिल्ने नमिल्ने बारेमा ।
पोखरा महानगरपालिकाको आफ्नै व्यवस्थित भवन छैन । देशकै ठूलो महानगरपालिका भएर पनि कार्यालय व्यवस्थापन गर्न नसकेको अवस्था छ । जिल्ला भेटेरिनरी कार्यालय रहेको पोखरा–१२ को करिब सय रोपनी जग्गा लिएर सुविधा सम्पन्न महानगर कार्यालय बनाउने योजना अघि सारिएको थियो तर संघीय सरकारले उक्त जग्गा महानगरलाई नदिए पछि योजना तुहियो । अधिकार सम्पन्न महानगर निरिह बनेर खुम्चन बाध्य भयो । एउटा सरकारी कार्यालयको स्वामित्वको जग्गा अरुलाई दिन नमिल्ने नजिर कायम हुन पुग्यो ।
यस्तै पोखरा महानगरपालिकाका वार्ड नं.१६ मा रहेको चण्डिका आधारभूत विद्यालयको स्वामित्वमा रहेको करिब १२ रोपनी जग्गा र जग्गामा बनेको विद्यालय भवन समेत मातृशिशु मितेरी अस्पताललाई दिने गरि विद्यालय व्यवस्थापन समितिले निर्णय नै ग¥यो । उक्त निर्णयको खिलाफमा उच्च अदालत पोखरामा रिट दायर भयो अदालतले सरकारी विद्यालयको जग्गा कुनै पनि अर्को निकायलाई हस्तान्तरण गर्न नमिल्ने फैसला ग¥यो । चण्डिकाको अस्तित्व जोगियो अहिले ५४ लाखमा अर्को नयाँ भवन निर्माण सुरु भएको छ ।
यी माथिका दुई नमुना उदाहरण हुन् । सरकारी स्वामित्वका सामुदायिक विद्यालयको सम्पत्ति घर जग्गा अरु निकायलाई दिने वा बलपूर्वक लिने कार्य कानूनको दृष्टिमा अमान्य हुन्छ तर पोखराकै कतिपय विद्यालयहरुले आफ्नो स्वामित्वको घर जग्गा अन्य निकायलाई दिएको पाइएको छ । पोखरा–१, बगर टुडिखेलमा मर्ज भएको बालज्योती प्रा.वि. को घर जग्गामा वडा नम्बर १ कार्यालय आएर बसेको छ । भइरहेको वडा कार्यालय भवनमा राष्ट्रिय मा.वि. को दायित्वमा आएको साविकको बालज्योती प्रा.वि. मा वडा कार्यालय सारिएको छ । विद्यालयको घर जग्गामा २०७८ फागुन ३ गते वडा कार्यालय सारिएको खुल्न आएको छ ।

सर्वत्र आलोचना

साविक बालज्योती प्रा.वि. राष्ट्रिय मा.वि. टुँडिखेलमा मर्ज गरिएपछि सबै दायित्व सरेर राष्ट्रिय मा.वि.मा गयो तर राष्ट्रिय मा.वि.ले उक्त जग्गाको उपभोग गर्न सकेन । विद्यालयले वर्षैपिच्छे प्रधानाध्यापक फेरिफेरि पायो तर आफ्नो सम्पत्तिको भरपुर उपयोग गर्ने कार्यमा सफल हुन सकेन । साविक बालज्योतीमा प्राथमिक कक्षा तहको छुट्टै ब्लक सञ्चालन गर्ने योजना रहेकै मौकामा महानगर स्वास्थ्य महाशाखा अन्तर्गत चलाइएको शहरी स्वास्थ्य केन्द्र बगरलाई वडा कार्यालयबाट साविक बालज्योती प्रा.वि. मै सारियो । भईरहेको वडा कार्यालयमा मर्मत तथा रंगरोगन साज सज्जा गर्ने भन्दै केही दिनको लागि शहरी स्वास्थ्य केन्द्र राख्ने बताउँदै सारियो । राष्ट्रिय मा.वि. व्यवस्थापन र प्रशासनले अर्थपूर्ण विरोध गर्न सकेन । त्यसमा पनि वडा कार्यालयले विद्यालयको सम्पत्ति माथि बल मिचाइ गरेको आरोप लाग्यो । वडा शिक्षा समितिको नेतृत्व कर्ता नै वडा अध्यक्ष स्वयम हुन तर झण्डै दुई हजार विद्यार्थी पढिरहेको राष्ट्रिय मा.वि.को दिर्घकालिन हितमा कार्य हुन नसकेको वडामा क्रियाशील एमाले ईतरका दलका नेताहरुले आरोप लगाएका छन् ।
राष्ट्रिय मा.वि.को स्वामित्वको घर जग्गामा वडा कार्यालय सार्ने बारेमा वडाका जनप्रतिनिधिले सर्वपक्षिय र सर्वदलिय भेला बोलाएर राय सुझाव लिने पहल समेत नगरी एक्लौटी निर्णय गरेकोमा नेपाली कांग्रेस, माओवादी, नेकपा एस.राप्रपा सहित पाँच दलको बैठकले विद्यालयको घर जग्गा विद्यालयकै कायम गराउन आन्दोलन नै गर्न तयार रहेको बताएका छन् । दलको बैठकले वडा कार्यालयले अनुकूलको शिक्षक कृष्णलाल बास्तोलालाई प्रधानाध्यापक नियुक्त गरि विद्यालयको घर जग्गामा कार्यालय सारिएको निष्कर्षमा पुगेको बैठकमा सहभागी नेकपा माओवादीका रुद्रनाथ लुइटेलले बताए । विद्यालयले नै चाबी दिएर आफ्नो सम्पत्ति वडा कार्यालयलाई सुम्पिएको आरोप लागि रहँदा प्राचार्य बास्तोला त्यो आरोप स्वीकार्न तयार भएनन्। बास्तोलाका अनुसार शहरी स्वास्थ्य क्लिनिकका कर्मचारी कमला गौतमले विद्यार्थीलाई खोप चलाउन भन्दै चाबी मागेर लगेको र चाबी खोलेपछि वडा कार्यालय पसेर आफ्नो चाबी लगाएको भन्दै विद्यालय माथि धोका दिएकोले न्यायको लागि अदालत जाने तयारी भइरहेको बताएका छन् ।
व्यवस्थापन समितिले जग्गा दिने निर्णय भएको चण्डिका आधारभूत विद्यालय पोखरा १६ को निर्णय उल्ट्याइदिएको नजिर राष्ट्रिय मा.वि. को लागि पनि लागू हुन सक्ने देखिन्छ । पोखरा महानगरपालिका वडा नम्बर १ को कार्यालय सामुदायिक विद्यालयमा सार्दा महानगर कार्यपालिकाको मिति २०७६।१।६ गतेको निर्णयलाई ह्वाला दिइएको छ । जबकी महानगरपालिका आफ्नै कार्यालयको लागि जग्गा व्यवस्थापन गर्न असक्षम सावित भएको छ । आफू मातहतमा रहने कृषि तथा पशु कार्यालयको जग्गा लिन नसक्नेले विद्यालयको जग्गामा वडा सार्ने निर्णय कुन कानूनमा टेकेर गर्न मिल्यो भन्ने बारेमा पनि सर्वत्र जिज्ञासा उठेको छ ।

विद्यालय पनि अप्ठेरोमा

राष्ट्रिय मा.वि. सँग ७३ रोपनी जग्गा रहेको छ । भएका जग्गा चारै तिरबाट मिच्ने, हडप्ने कार्य भएको छ । बाटो खुलाउने मुखैमा गोविन्द कोइराला र छवि चापागाईले घर संरचना बनाएका छन् । पूर्वतर्फ भूपू सैनिक क्लब वडा प्रहरी बगर लगायत २२ जनाले विद्यालयको जग्गा मिचेको प्रतिवेदन पटक पटक सार्वजनिक भएका छन् तर आफ्नो जग्गा संरक्षण गर्न विद्यालय असफल छ राज्यका प्रशासनले पनि सहयोग गरेका छैनन् ।
त्यतिमात्र हैन राष्ट्रिय मा.वि.को कम्पाउण्ड परिसरकै जग्गा अञ्जुली बोर्डिङलाई मासिक ८० हजार रुपैया भाडामा लगाइएको छ । करिब २० वर्ष देखि भाडामा लगाइएको बोर्डिङ २५ लाख ५४ हजार भन्दा बक्यौता रहेको प्राचार्य कृष्णलाल बास्तोलाले बताएका छन्। बोर्डिङसँग सम्झौताको म्याद सकिएपछि पनि हटाएर राष्ट्रिय मा.वि.ले आफ्नो हितमा प्रयोग गर्न सकेको पाइदैन । सरकारी विद्यालयको जग्गा बोर्डिङलाई भाडामा लगाएर जोडिएर बोर्डिङ सञ्चालन गर्न दिनुलाई कानूनी र व्यवहारिक दुवै पक्षबाट राम्रो मानिदैन । यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ तर पनि सुनुवाई हुन सकेको छैन।

विद्यालयमा दुई सत्रमा पढाई

सरकारले कक्षा १ देखि १२ सम्मलाई विद्यालय तह घोषणा गरि गरेको छ । मा.वि. लाई दुई सत्रमा पढाई गर्न नपाइने नीतिगत निर्णय गरेको खिलाफमा राष्ट्रिय मा.वि.ले अझै पनि दुई सत्रमा विद्यालय चलाएको छ । कक्षा ११-१२ को मानविकी, शिक्षा र व्यवस्थापन विषयमा विहान ६ बजेबाट १० बजेसम्म र अरु कक्षालाई दिउँसो १० देखि ४ बजेसम्म पढाई गरिरहेको पाइएको छ । राज्यले गरेको नीति निर्देशन अवज्ञा गर्ने राष्ट्रिय मा.वि. यस प्रदेशकै धनी सुविधा सम्पन्न मानिन्छ । आफ्नैै घर जग्गा समेत संरक्षण गर्न नसकेर बोर्डिङलाई भाडामा लगाउने, वडा कार्यालयले घर जग्गा लिई कार्यालय सार्दा पनि प्रतिरक्षा गरि आफ्नैो घर जग्गा संरक्षण गर्न नसकेको प्रष्ट छ ।
विद्यालय एकै सत्रमा सञ्चालन गर्न गराउन श्रोत, साधन र जनशक्ति भएर पनि ३ वटा फ्याकल्टीमा अझै विहानी सत्रमा पढाइ गर्दै आएको राष्ट्रिय मा.वि.ले एकै तहमा लगिहाल्ने अवस्था नरहेको प्राचार्य स्वयम् बताउँछन् । एकै सत्रमा पढाइ गर्न विद्यालय भित्रैबाट सहयोग नरहेकाले पनि एकै सत्र बनाउन अड्चन आइपरेको बुझिन आएको छ । महानगर शिक्षा महाशाखाले २०७८।११।१० गते सूचना जारी गरि महानगर भित्रका सम्पूर्ण विद्यालयहरुलाई आगामी शैक्षिक सत्र देखि कक्षा ११-१२ का कक्षाहरु दिवा समयमा मात्र सञ्चालन गराउन उर्दी जारी गरेको छ । महानगरको यो निर्णय लागू गर्न कति प्रतिवद्ध रहन्छ, नगर्नेलाई के गर्छ त्यो भने आगामी शैक्षिक सत्र सुरुआत पछि मात्र थाहा हुनेछ । हामी निरन्तर खबरदारीमा छौं ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: