
शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरले एक औपचारिक कार्यक्रमको आयोजना गरि नव वर्ष २०८२ को अवसरमा नयाँ वर्ष विशेष लेख, रचना वाचन तथा भित्ते पात्रो सार्वजनिक गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली, पोखरा महानगर वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे , वडा नं १६ का कार्यवाहक वडाध्यक्ष राजकुमारी बानियाँलगायतले पात्रो सार्वजनिक गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले साहित्य भनेको सुवोध, सरल र जनसाधरणको मन छुने खालको हुनु पर्नेमा जोड दिँदै, सबैले बुझ्ने खालको साहित्य सदैव लोकप्रिय बन्ने बताए । उनले यथार्थपरक लेखनीका कुरा गर्दै जुनसुकै विधाको भएपनि साहित्य जिवन र जगतको चित्रणमा केन्द्रीत हुने स्पष्ट पारे ।
कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले साहित्यले समाज रुपान्तरणमा ठूलो भूमिका खेल्ने भएकोले सामाजिक विकृति विसंगतीहरुलाई दृष्टिगत गर्दै आफ्ना कलमहरु सामाजिक रुपान्तरणको पक्षमा कोर्न अनुरोध गरे । त्यस्तै पोखरा १६ का कार्यवाहक वडाध्यक्ष राजकुमारी बानियाँले शुक्ला साहित्य प्रतिष्ठानले भाषा साहित्यको विकासमा निरन्तर गर्दै आएका गतिविधिहरुको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यले निरन्तरता पाउनुपर्ने धारणा राखेकिथिइन ।
कार्यक्रममा प्रतिष्ठानका मानार्थ सदस्य ताराप्रसाद तिम्सिना, नव आदर्श सामूदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारी , विन्ध्यवासिनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिप थापाले शुभकामना मन्तव्य राख्दै नयाँ वर्षको आगमन संगै संस्थाले साहित्यिक विकासमा थप रचनात्मक आयामहरु थप्दै जाने अपेक्षा राखे ।
विभिन्न सामाजिक संघ, संस्था र साहित्यप्रेमीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा संस्थाका मानार्थ सदस्य,अग्निधर शर्मा, नेत्रबहादुर बानियाँ, इन्दु भट्टराई, सुमनराज पौडेल,सल्लाहकार शिव त्रिपाठी, सुवास अधिकारी र साहित्यकार मोहन प्रसाद पौडेल तथा बोधराज आचार्यले आ आफ्ना लेख रचना बाचन गरेका थिए ।
संस्थाका अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रामप्रसाद पौडेल र वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् । संस्थाले उपाध्यक्ष दीपेन्द्र बानियाँको संयोजकत्वमा पंचाङ्ग सहितको भित्तेपात्रो प्रकाशन गरेको छ।
प्रतिक्रिया दिनुहोस्