यदुनाथ बन्जारा
नीतिनिर्माता हरुलेनै कानून मिचेर आफ्नो स्वार्थ पूरा गर्छन भने आम नागरिकलाई कुन नैतिकताले कानून कार्यान्वयन र नियमन गराउन मिल्ला । अगुवाले नै बाटो बिराए भने पछि लाग्नेहरु कसरी गन्तब्यमा पुग्लान ? नेपालमा नीतिनिर्माताहरुले पदको दुरुपयोग गरेर आफ्नो काम सिद्द गर्ने र राज्यको कानुन र स्रोतको चरम दुरुपयोग गर्ने रोग घटेर जानु त कहाँ हो कहाँ उल्टै महारोग बनेर फैलिदै गएको छ । एक रिपोर्ट -:
पोखरा महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले नेपाल सरकारले जारी गरेको भवन निर्माण सम्बन्धि नीति र पोखरा महानगरपालिकाले बनाएको मापदण्डलाई चुनौती दिदै पोखरा -४ चिप्लेढुङ्गामा भवन निर्माण गरिरहेका छन ।
पोखराको केन्द्रभागमा पर्ने चिप्लेढुङ्गाको मुल सडकमा निर्माण भैरहेको कर्माचार्यको भवन अहिले चौथो तल्ला ढलानको कार्य गरिरहेको देखिन्छ । उक्त भवन निर्माण स्थललाइ जस्तापाताले डमक्क घेरेर राखिएको छ । माथिल्लो भागमा हरियो नेट लगाइएको छ ।निर्माणाधीन घर दोहोरो मोहोडामा परेको छ । उत्तर तर्फ गैरापाटन निस्कने आदर्शमार्ग छ भने दक्षिण मोहोडा ट्रेडमहल तर्फ फर्केको मुख्य सडक रहेको छ ।
महानगरपालिकाको केन्द्र चिप्लेढुङ्गामा रहेको कर्माचार्यको घरमा माछापुच्छ्रे बैकको शाखा रहेको थियो । २०७८ सालमा महानगरपालिकाबाट पुरानो घरको अभिलेखिकरण गरिएको उक्त भवन साढे दुई तल्लाको रहेको नक्सा शाखामा रेकर्ड देखिन्छ । अभिलेखिकरण गरिएको तत्कालिन (साबिक ) भवन करिब ४ बर्ष पछि भत्काएर नयाँ निर्माण गरिदैछ तर रेट्रोफिटिङ गरेको देखाउन आदर्शमार्ग तर्फको मोहडामा रहेको पूरानो सटर र सटर सङ्ग जोडिएको ८ लाइनको ४ वटा रड हालेको पुरानो पिल्लर भत्काइएको छैन , रेट्रोफिटिङ गरेको थियो भने साबकको पिल्लरलाइ वरिपरि बढाएर ठूलो बनाइन्थ्यो , ढलान र भित्ताका गारोहरु जाली बुनेर सिमेन्ट बालुवाको सपोर्ट थपिन्थ्यो तर हाल नयाँ निर्माणाधीन भवनमा पुरै पिल्लर नयाँ हालिएकाछन र ढलान नयाँ बनाइएको छ देखिन्छ ।
बाहिरबाट सर्सर्ती हेर्दा भवन रेट्रोफिटिङ गरेको देखाउन खोजिएको छ , भित्री उद्देश्य नयाँ भवन निर्माण भइरहेको स्पष्ट खुलेको छ । तर रेट्रोफिटिङ गर्ने अनुमती र नयाँ भवन निर्माण गर्ने दुइ मध्य कुनैपनी अनुमती महानगरपालिका र ४ नम्बर वडा कार्यालय दुबैबाट लिइएको भेटिएन ।नक्सा पास नगरी हाक्काहाक्की नयाँ ४ तले भवन बनाइदै गरेको छ ।
सामान्य नागरिकले यो आट गर्नै सक्दैन । गरेको भएपनी डोजर चलिसक्थ्यो । देशकै ठूलो महानगरपालिका पोखराका वडा अधक्ष प्रेम प्रसाद कर्माचार्यले पोखराको मुटुमा आफैले बनाएको नियम कानुन बिपरित यो कार्य गरिरहेकाछन । वडा अधक्ष कार्यपालिकाका सदस्य हुन । महानगर पालिकाको आन्तरिक सुशासन कायम गराउनु र विधि सम्मत ढङ्गले बिकाश निर्माणकार्यमा पारदर्शिता अपनाउनु , कानुनको परिपालनामा रोलमोडलको भुमिका निर्बाह गर्नुपर्ने वडा अध्यक्षबाट भइरहेको गैरकानुनी निर्माणले गलत सङ्केत गरेको छ । आफै वडा अध्यक्ष जस्तो जिम्मेवार कार्यकारी पदमा रहेको समयमा पदको दुरुपयोग गरि ब्यक्तिगत लाभ लिएर आफ्नै महानगरले बनाएको मापदण्डको ठाडो उल्लंघन गरेको देखाउछ ।
चिप्लेढुङ्गामा दोहोरो मोहोडामा बनिरहेको अध्यक्षको घर
नया भवन निर्माण गर्दा आम नागरिकलाइ लाग्ने नियम कानून तथा मापदण्ड वडा अध्यक्षलाई लाग्ने कि नलाग्ने ? पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य भन्छन यसबारेमा सत्यतथ्य छानबिन गरेर गलत प्रमाणित भएमा कानुन बमोजिम कारबाही गरिनेछ । आफ्नै कार्यपालिका सदस्यले कानुन बिपरित भवन निर्माण गरिरहेको बारेमा केही हालसम्म केही जानकारी नपाएको पनि मेयर आचार्यले बताए । त्यसो त पोखरा महानगरका नगर सुरक्षा प्रमुख पुरुसोत्तम थापाका अनुसार उक्त गैरकानुनी निर्माणकार्य रोक्न ४/५ पटक बेल्चा गैची लगाएतका निर्माण सामाग्री नियन्त्रणमा लिइसकेको बताउँछन् ।
बाहिर पुरानो देखाउने भित्र नयाँ बनाउने
अझ टिठ लाग्दो कुरा के छ भने उक्त भवन ४ नम्बर वडामा निर्माणकार्य भइरहेकोछ । महानगरपालिका को सुशासन समितिको सयोजक वडा अध्यक्ष रहेको वडामा कुशासनले काम गरेको छ । ४ नम्बर वडाका अध्यक्ष देबकृष्ण पराजुली सङ्ग नक्सापास नगरी अर्को वडाका वडा अध्यक्षले तपाइको वडामा घर बनाइरहेको बारे प्रतिक्रिया लिदा पराजुलिले भने “नक्सापास नभएको बारेमा थाहा पाएको तर टोलका केही स्थानिय सङ्ग सहमति गरेर भवन निर्माण गरेको जानकारी पाएको छु ” ऐन कानुन र मापदण्ड बिपरित घर बनाउन कस कसले के सहमति गरे त्यो छानबिनको बिषय बनेको छ ।
११ नम्बर वडाका अध्यक्ष प्रेम प्रसाद कर्माचार्यलाई पनि हामिले सोध्यौ , तपाइँ आफै कानुन बनाउने कार्यपालिका सदस्य भएर आफैले कानुन बिपरित भवन बनाउन मिल्छ ? उनले पनि सहमतिका कुरा सुनाए । “मेरो आफ्नै ब्यबहारिक समस्या भएकोले नक्सा पास वा रेट्रोफिटिङ नगरी घर बनाएको हो” म सङ्ग भएको कागजात हेरेर मात्र समाचार लेख्न उनले अनुरोध गरेका थिए । हामिले पोखरा महानगरपालिकाको घरनक्सा शाखामा वडा अध्यक्षले बनाइरहेको भवनको बैधानिकताका सम्बन्धमा जान्न खोज्यौ तर केही कागज भेटिएन । घर नक्सा शाखा प्रमुख इन्जिनियर सुरेन्द्र पौडेलले फाइल पल्टाउदै भने “२०७८ सालमा लिएको पुरानो घरको अभिलेखिकरणको कागज बाहेक केही पनि छैन । ”
पोखरामा यो भन्दा भद्दा मजाक के होला ? नागरिकलाइ कसरी कानुन कार्यान्वयन गर्न सक्लान जनप्रतिनिधिले ? के मुल सडकमा जग्गा थोरै छ भन्दैमा वडा अध्यक्षलाई कानुन लाग्दैन ? यो नजिर बन्छ कि भवन नियमन गरिन्छ भन्ने प्रश्न उठेको छ । महानगरका ७० जना प्रहरीले बेलैमा किन रोक्न सकेनन ? घर नक्सा शाखाको सेटिङ त छैन खोजिको बिषय बनेको छ । यो प्रकरण अख्तियार कार्यालयमा उजुरी परि महानगर सङ्ग जवाफ माग गरेको बुझिएको छ , महानगरले अख्तियारलाई नक्सा पासनगरी , सडक मापदण्ड नछोडी वडा अध्यक्षले कानुन मिचेर घर बनाएको यथार्थ प्रतिबेदन लेखी पठाएकी मिलिभगत गरि झारा टार्ने उद्देश्यले जवाफ पठाए ? यस रताका साथ स्थलगत छानबिन गरेको खन्डमा सर्बसाधारण आम पोखरेली नागरिकले न्यायानुभूती गर्ने अपेक्षा गरिएको छ । घरायसी सम्झौता ठूलो कि कानुन यसको जवाफ अब के हुन्छ ? महानगरपालिका र अख्तियार लगायतका नियमनकारी निकायले कस्तो कदम चाल्छ त्यो भने प्रतिक्षाको बिषय बनेको छ हामी नियमित फलोअपमा रहनेछौ ।
प्रतिक्रिया दिनुहोस्