२०८२ जेष्ठ १५
०६१४४५०००, ९८५६०३३३९१

आरोपै आरोपको घेरामा कोटिहोम , लक्ष प्राप्तिमा शङ्का ! बिश्वहिन्दु महासंघ असन्तुष्ट !!

पर्यटन  नगरी पोखरामा श्रीगन्डकी शत कुण्डीय गायत्री कोटिहोम बिराट ज्ञान महायज्ञ जारी रहेको छ । चैत्रको दोस्रो हप्ताबाट बिरौटामा सुरु गरिएको भएपनी कोटिहोमको आयोजना २०८२ बैशाख १७ गते देखि जेष्ठ २६ गते ४१ दिन सम्म हुने आयोजकले घोषणा गरेको छ ।
कोटिहोम आफैमा एउटा धार्मिक अनुस्ठानको रुपले बिशेष मानिन्छ । करोडौ आय ब्यय हुने कोटिहोम एबम ज्ञान महायज्ञले आर्थिक चलायमान गराउछ । ॐकार परिवारका धर्म अनुरागिहरुको लागि पोखरामा देवि प्रतिभा , राधिका दासी लगाएतका चर्चित बाचक प्रबचक आइ यो बृहद कार्यक्रम हुनुलाइ महत्वका साथ हेरिएको छ । यति बृहद कार्यक्रम सङ्गै विभिन्न आलोचना र आरोपका पोका पन्तुराहरु पनि सङ्गै पोखरा भित्र खोलिएका देखिन्छ । धार्मिक आस्था जगाउने यस्ता कार्यक्रमहरु आरोप प्रत्यारोपबाट मुक्त भएर सफा स्फटिक रुपमा गरियोस भन्ने आम भक्तजनको मनोभावना र अपेक्षामा आलोचना र बिबादले ठेस पुर्याएको छ ।
बैशाख १७ गते बुधबारबाट कोटिहोमको औपचारिक सुरुवात गरिने भनिएपनी चैत्र महिना बाट विभिन्न बाचक बाचिकाहरुबाट प्रवचन सुरु गरिएको छ । देबि प्रतिभा , राधिका दासी लगाएतका चर्चित बाचिकाहरुले प्रवचन दिन सुरु भएको छ । यति ठूलो कोटिहोम तथा महायज्ञमा भक्तजनको उपस्थिति अपेक्षाकृत बाक्लिन सकेको छैन । मानव सेवा फाउन्डेसन कास्कि मुल आयोजक रहेको प्रचार गरिएपनी मुख्य पात्र आफुलाइ बाल योगेस्वर दाबी गर्दै आएका बिजय कृष्णमुर्ती भन्डारी नै प्रमुख सङ्कल्पकर्ता रहेकाछन ।

सुरु नहुदै बिबादको घेरामा कोटिहोम

Advertisement:

बिराट ज्ञान महायज्ञ र कोटिहोम सुरुबाटै बिबादको घेरामा फसेको छ । कोटिहोममा समिदाको रुपमा प्रयोग गर्ने भन्दै पोखरामा रहेका वर पीपल र समिका चौतारा मुडुल्याएर उजाड गर्ने कामबाट सुरु भयो कोटिहिमको बिबाद । पोखरा महानगरपालिका भित्र रहेका चौताराहरुको १६३ वटा रुखका हाङ्गा छिमलेर उजाड बनाइएको , ६ नम्बर वडा १३ नम्बर र १४ नम्बर वडामा गरि २१ वटा वर पीपल र समि चौताराका रुखहरु मुडुल्याएर रुखको अस्तित्व नै नामेट पार्न खोजिएको छानबिन प्रतिबेदनले निकालेको छ । ती रुखका हाङ्गा काठ दाउराहरु कोटिहोमको लागि काटेर दिइएको थियो । सर्बत्र आलोचना भएपछी महानगरले सबै जर्ना काठ दाउरा फिर्ता ल्याएको थियो ।
चौताराहरु नासमासबाट बिबाद बहिरिएपछी महायज्ञ आयोजकको ओरालो यात्रा आरम्भ भएको थियो ।
दोस्रो बिबाद कोटिहोम स्थल रह्यो । फेवातालको किनार हल्लनचोकमा रहेको नेपाल ट्रस्टको जग्गामा कोटिहोम गर्ने तयारी गरियो । महानगरपालिकाको सहमती स्वीकृति समेत नलिइ वडा नम्बर ६ को जस्केलाबाट छिरेर वडा सदस्य (का बा ) को निर्णय गराइ कोटिहोमको स्थान चयन र सम्झौता गरिएको बिषय लामो बिबादमा फस्यो ।पोखरा महानगरपालिका र कोटिहोम आयोजक बीच चर्को रस्साकस्सी चल्यो , हात हालाहाल र मारपिटको अबस्था सृजना हुन पुग्यो । बिबाद मुद्दा बनेर अदालत सम्म पुग्यो । दुबै पक्ष इगो वारमा लड्न पुगे । अन्ततः बिरौटामा भेनु परिवर्तन गरियो ।

बिबादको केन्द्रमा शङ्कल्पकर्ता भन्डारी

 

विभिन्न बिबादका बीच २०८१ साउनमा पशुपतिनाथ मन्दिरमा कोटिहोम गरेका बाल योगेस्वर बिजय कृष्णमुर्ती भन्डारी यहाँ पनि बिबादास्पद पात्रको रुपमा उभिएका छन । “धर्मको नामम अधर्म पनि गर्न सक्ने “, नेपाललाई बङ्गलादेश बनाइदिने जस्तो साम्प्रदायिक र धार्मिक उछृङ्खलता भड्काउने खालको अभिव्यक्ति दिएर दादागिरी शैलीमा आएको उनको प्रस्तुतीकरण अहिलेपनि पोखरेली जनजनको कानमा गुन्जिएको छ ।
अर्को मुख्य बिबाद बाल योगेस्वर बिजय कृष्ण भन्डारीको आपराधिक छबिलाइ लिइएको छ । कानुनी रेकर्डमा भन्डारिको इतिहास बिबादास्पद रहेको छ । मानव तस्करी गरि अमेरिका पुर्याउने योजना मुताविक करिब सय जनाबाट पेश्की रकम उठाएको र अमेरिका पठाउन नसकेपछी तिनै युवाले प्रहरिमा मुद्दा दिएपछी मुद्दामा तानिएका भन्डारिलाइ अदालतले जेल सजाय गरेको कारण २०७१ असोज देखि २०७३ चैत्र सम्म साढे २ बर्ष जेल सजाय भोगेको राष्ट्रिय सन्चारमाध्यममा स्पष्ट खुलेको छ ।
बैदेशिक रोजगार न्यायाधिकरणको २०७५ जेष्ठको फैसला अनुसार करिब डेढ बर्ष कैद तोकिएपछि भन्डारिले सर्बोच्च अदालतमा पुनराबेदन गरेका थिए । यसका अलाबा उनी पटकपटक विभिन्न आरोपमा प्रहरिको निशानामा पर्दै आएका थिए । गत साउनमा पशुपति कोटिहोममा समेत प्रहरीले उन्लाइ घेरा हालेको भन्दै प्रतिकारमा उत्रन उनले फेसबूक लाइभ मार्फत उर्दि जारी गरेका थिए । उनी आफुमात्र नभै आफ्नी धर्मपत्नीलाई समेत मानव तस्करी कार्यमा प्रयोग गरिएको प्रहरीले फेला पारी मुद्दा चलाएको र भन्डारिको श्रीमतिलाइ कैद र जरिवाना समेत भएको समाचार सार्बजनिक भएको थियो ।

भन्डारीको प्रहरी रिपोर्ट शङ्कास्पद !

 

बाल योगेस्वर उर्फ बिजय भन्डारिलाइ नेपाल प्रहरी हेड क्वाटरले २७ मे २०२४ मा दिएको प्रहरी रिपोर्ट शङ्काको घेरामा रहेको छ । भन्डारीले मिडियालाइ देखाउदै आएको प्रहरी रिपोर्ट कार्डलाई मान्ने हो भने बिजय भन्डारी दुधले नुहाएका पात्र हुन , यस अघि उनी माथी लागेका सबै आरोप र मुद्दा अनि हिरासत र जेल बसेका कुरा मिथ्या हुन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी निरिक्षक उद्दब पोखरेलको हस्ताक्षर रहेको घुर्कोट -५ गुल्मी ठेगाना भएका बिजय भन्डारिको रिपोर्ट कार्डमा २७ मे २०२४ सम्म उनको बिरुद्दमा कुनै फौजदारी रेकर्ड नरहेको उल्लेख छ ।
मुद्दा चलेको , हिरासत बसेको , कारागर बसेको ब्यक्ती हुन बिजय भन्डारी । फौजदारी मुद्दामा जेल बसेको ब्यक्तिको प्रहरी रेकर्डमा भने क्लिन चिट देखाइएको छ । भन्डारिको तान्डब देख्ने , मानव तस्करिमा प्रतक्ष पिडित भएका ब्यक्तिहरु उनलाई नेपाल प्रहरीले क्लिन चिट दिएको देख्दा अचम्म मान्न्ने गरेका छन । एक प्रहरी अधिकृत सङ्ग हामिले जान्न खोज्दा यस्तो क्लिन चिट दिन मिल्ने बिषय यो हुन नसक्ने प्रतिक्रिया दिए । सराङ्कोट साप्ताहिक पत्रीकाका कानुनी सल्लाहकार अधिबक्ता बेद बहादुर (बि बि ) बिस्टले भने “अन्तिममा जाहेरवाला(पीडित ) सङ्ग मिलापत्र गरेमा वा जाहेरी फिर्ता लिएमा प्रतिबादी माथी लागेको मुद्दाको लगत कट्टा हुन गइ निजको नाममा लागेको मुद्दाको अभिलेख मेटाइएको पनि हुनसक्छ । ”
यो बिषयमा बाल योगेस्वर उर्फ बिजय भन्डारीले आफुमाथी चलेका मुद्दा र सोका सम्बन्धमा अदालतबाट भएका आदेश र फैसलामा तोकिएको बिगो वा जरिवाना फिर्ता गरि जाहेरवाला (पीडित) पक्षको चित्त बुझाइ अदालतबाट मुद्दाको लगत कट्टा गरेको हुन सक्ने बुझिन्छ । त्यसको अलाबा निज भन्डारी बिरुद्द लागेका मुद्दा क्लिन दिने कार्यमा कतै बाट मिलेमतो पो भएको छ कि त्यो पनि खोजिको बिषय बनेको छ । प्रहरी प्रधान कार्यालयले अदालतको आदेश अनुसार मुद्दाको ल क गर्यो वा अरु केही त्यो बिषयमा आगामी दिनमा फलोअप हुनेनै छ ।
त्यसो त बिजय भन्डारीले आफ्नो पद नाम परिवर्तन गरेर आफ्नै भक्त अनुयायीहरुलाइ अल्मलाउन समेत खोजेको बुझिन्छ । २०६९ साल अघि सम्म अफुलाइ बिष्णु प्रपन्नाचार्यजी महाराज नामले चिनीएका भन्डारीले २०६९ पछि आएर आफ्नो पदनाम नै परिवर्तन गरि बाल योगेस्वर बिजयकृश्ण मुर्ती भन्डारी राखेका थिए । कृष्णमुर्ती तर्फ पदनाम राखे लगत्तै उनले अमेरिकामा विश्व गिता म्याराथनमा भाग लिन जाने भन्दै विभिन्न ब्यक्तिबाट रकम लिन सुरु गरेको बिषय सतहमै छताछुल्ल भएका थिए ।
बाल योगेस्वर भन्डारी घमण्डी प्रबृतिका पात्र रहेको उनको कार्यशैलिबाट सहजै बुझ्न सकिन्छ । आफ्नो बिरुद्दमा आलोचना सुन्न नसक्ने भन्डारी कसैले आलोचना गरे वा प्रश्न राखेमा झम्टिहाल्ने , आक्रमण गरिहाल्ने उनको स्वभाव रहेको देखिन्छ , यो रिपोर्टिङ पछि उनको अर्को दम्भ नदेखिएला भन्न सकिन्न । २०८१ भाद्र १ गते पशुपति कोटिहोमको अन्तिम दिन रिपोर्टिङमा पुगेका नेपाल भ्युजका पत्रकार श्यामसुन्दर पुडासैनीमाथी कोटिहोमका आयोजकले गरेको दुर्व्यवहार सतहमै आएको थियो । पत्रकार महासङका केन्द्रिय महासचिव रोशन पुरीले प्रेस बिज्ञप्तिनै जारी गर्न परेको थियो । धर्मको नाममा कार्यक्रम गर्ने तर आलोचना सहन नसक्ने भन्डारीले सभ्य समाज निर्माणको लागि आफू र आफ्ना अनुयायीहरुलाइ पाठ पढाउन जरुरी देखिन्छ , ऐना पुछ्न होइन आफ्नो अनुहारको दाग मेटाउन पोखराको कोटिहोमलाइ उचित अबसरको रुपमा लिने उपयुक्त मौका आएको छ ।

बिश्व हिन्दुमहासंघ कोटिहोमको बिरुद्धमा किन ?

योगि नरहरिनाथ बाबाका अनुसार कोटिहोम हिन्दु धर्म अनुयायीहरुको पक्षमा गरिनु पर्ने एक बृहत् अनुष्ठान हो । यसले हिन्दु धर्मको रक्षा र सरक्षणमा प्रमुख भुमिका निर्बाह गर्नुपर्ने हो तर पोखरामा भइरहेको बिराट ज्ञान महायज्ञ र कोटिहोमका सम्बन्धमा योगि नरहरिनाथका अनुयायी सस्था बिश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिती कास्की बिरोधमा उत्रिनुलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । महासंघ कास्की जिल्लाले २०८१ चैत्र ९ गते एक सूचनानै जारी गर्दै महायज्ञ र कोटिहोम सम्बन्धी कार्य रोक्न स्थानीय सरकार पोखरा महानगरपालिका सङ्ग अनुरोध गरेको थियो । पोखरामा आयोजना हुने गण्डकी सतकुन्डिय गायत्री कोटिहोम बिराट ज्ञान महायज्ञ २०८२ गर्ने भन्ने बिषय सङ्गै विभिन्न आरोप प्रत्यारोप हुँदै पक्ष बिपक्षमा बहस र आलोचना भइरहेको सम्बन्धमा महासंघको ध्यानाकर्षण भएको जनाउदै यस्तो बिबादास्पद कार्य रोक्न पोखरा महानगरपालिका सङ्ग अनुरोध गरेको थियो ।
पोखराका चौताराहरुको पन्चपल्लबका रुखहरु मुडुल्याइएको बिषयले सर्बत्र आलोचना छाएको र प्रमुख सङ्कल्पकर्ता ब्यासाचार्यज्युको चरित्र र आचरणका सम्बन्धमा विभिन्न सन्चार माध्यम र सामाजिक सन्जालमा आएको बिषयमा महासङको ध्यानाकर्षण भएको कास्की अध्यक्ष सुजन बाबू पौडेलले खुलासा गरेकाछन । उनले हस्ताक्षर गरेको पत्रमा प्रमुख सङ्कल्पकर्ता ब्यासाचार्य बिजय कृष्ण मुर्ती भन्डारी माथी लागेको आरोपका सम्बन्धमा माथिल्लो अदालतबाट मुद्दा जितेको प्रमाण र पीडितलाई रकम फिर्ता दिएको पुस्ट्याइ र क्षतिपूर्ति भरेको हो भने उक्त रकमको बैधानिक स्रोत खुलाउन समेत चुनौती दिइएको छ ।
हिन्दु धर्म रक्षाको लागि स्थापित सस्था विश्व हिन्दु महासङको कास्की जिल्ला समितिले आफ्नै जिल्लामा हुन लागेको महायज्ञ र कोटिहोममा असहयोग गर्नुमा धेरै कारण रहेको बताएको छ । पोखरामा हुने भनिएको कोटिहोम र महायज्ञ केबल धार्मिक महोत्सव मात्र रहेको आरोप महासङले लगाइएको छ । यो कोटिहोम नीति थिती र सस्कृतिको परिधिभित्र नहुने भएकोले हामिले सहयोग गर्न सकेनौ अध्यक्ष पौडेलले भने । पैसाको खेलोमेलोका लागि मात्र गरिने कोटिहोम योगी नरहरिनाथले स्थापना गरेको धार्मिक प्रबर्द्धनको नितिभित्र पर्दैन त्यसैले हार्मो सहयोग हुदैन अध्यक्ष पौडेलले भने ।
पशुपतिनाथमा गत साउनमा गरिएको कोटिहोम बिबादमुक्त हुन सकेन , करोडौ घाटा भयो भन्दै अलाप्ने कार्य भयो भने पोखरामा हुने गण्डकी सतसय कुन्डिए कोटिहोमले नाफा त के आफ्नो लागत खर्च उठाउन पनि मुश्किल पर्ने लख काटिएको छ । आयोजक र सङ्कल्पकर्ताले कसले दान बढी चढाउला भन्ने प्रतिस्पर्धा गराउने नीति लिदै प्रचारप्रसारलाई तिब्रता दिएको छ । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा गायत्री कोटिहोम र ज्ञान महायज्ञ जस्तो बृहद कार्य भइरहेपनी यहाँका सबै सन्चारमाध्यमले खुलेर प्रचार गरेका छैनन । कोटिहोमका आयोजकले लेखेर पठाएको एकाङ्की समाचार छाप्ने , बजाउने काम भएकी केही सन्चारमाध्यममा देखिन्छ । कोटिहोमका सुरुवाती दिनबाटै विभिन्न बिबादका कारण सन्चारमाध्यममा दुई कित्तामा बिभाजित भएको देखिन्छ । अझ गम्भीर कुरा त के छ भने जारी महायज्ञ र कोटिहोमबाट कति बचत गर्ने र त्यो रकम के केमा खर्च गर्ने भन्ने स्पस्ट सङ्कल्प प्रस्ताव पारिएको पाइन्न भोलिका दिनमा घाटा पर्यो पैसा तिर्न सकिन्न भनेर आयोजक र सङ्कल्पकर्ता तितरबितर भए भने त्यसलाइ अन्यथा नमाने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्