
आयल निगमलाइ डुबाउने भुमिका खेल्ने इन्धन चोरी कान्डमा सलग्न बिरुद्द अख्तियारले विशेष अदालतमा मुद्दा दायर भएको छ । गण्डकी प्रादेशिक कार्यालय, पोखरा अन्तर्गत गगनगौडास्थित नेपाल आयल निगमको डिपोमा पेट्रोलियम पदार्थ चोरी गरेको आरोपमा कार्यालय प्रमुखसहित पाँच जनामाथि विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी कार्यालयका प्रमुख चितरंजन दास, पश्चिमाञ्चल ट्रेडर्स तथा कम्पनीका सञ्चालक बाबुराम जम्मकट्टेल, गण्डकी–धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधिहरू जगन्नाथ ढुङ्गाना र लक्ष्मण राणाभाट तथा ट्याङ्कर चालक निर्मल थापाविरुद्ध मुद्दा दायर गरेको हो।
अनुसन्धानमा उनीहरूले योजनाबद्ध रूपमा मिलेमतो गरी डिपोको सीसी क्यामरा बन्द गरेर इन्धन बढी लोड गर्ने कार्य गरेको पुष्टि भएको छ। २०८० साउन २५ गते पश्चिमाञ्चल ट्रेडर्सले १२ हजार लिटर डिजेल अर्डर गरी नेपाल आयल निगमको खातामा भुक्तानी गरे पनि, त्यस दिन सिसी क्यामरा बन्द गरी नियोजित रूपमा ३ हजार ३८ लिटर बढी डिजेल लोड गरिएको आयोगको अनुसन्धानबाट खुलेको हो।
ग २ ख ८३६ नम्बरको ट्याङ्करमा लोड गरिएको सो डिजेल पोखरा महानगरपालिका–२७ मा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको थियो, जहाँ १५ हजार ३८ लिटर डिजेल फेला परेको थियो। बिजयपुर स्थित पेट्रोल पम्पमा डिजेल अनलोड गरेको र मिलेमतो गरि भ्रष्टाचार गरेको खुलेको छ ।
आरोपिहरुमाथि जनही ४ लाख ५८ हजार रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ। सरकारी पदमा रहेका कर्मचारी हरु निलम्बनमा परेका छन । अख्तियार मा मुद्दा मिलाएको हल्ला भएपनी अन्तत मुद्दा दायर भएको छ । इन्धन चोरी कान्डमा निजि ट्याङ्कर प्रयोग गरिएको छ । पोखरामा १२ वटा निजि ट्याङ्कर प्रयोगमा रहेको बताइएको छ । उक्त कान्डमा पेट्रोलियम डिलर्स एसोसियसनको अध्यक्ष राजन गोङ्गजु र महासचिवमा मोहन सुवेदी थिए यद्दापि उनिहरु छानबिनको दायरामा पारिएको छन ।
प्रतिक्रिया दिनुहोस्