२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

पोखरेली ट्याक्सी सेवा प्रालिको साधारणसभा सम्पन्न , प्रबिधिमा जाने प्रतिबद्धता

अनुराग  बन्जारा / सराङ्कोट

भाडा कार व्यावसायिहरुको व्यावसायिक छाता सस्था पोखरेली ट्याक्सी सेवा प्राली पोखराको ७औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल यातायात व्यवसायि राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले  नीजि क्षेत्र सरकारको सहयात्री भएको बताउँदै नीजि क्षेत्रलाई तिरस्कार गर्दा दूर्घटना निम्तन सक्ने बताएका थिए । बिहिबार पोखरामा आयोजित पोखरेली ट्याक्सी सेवा प्रालिको सातौँ बार्षिक साधारणसभामा बोल्दै उनले नीजि क्षेत्रको पीर मर्का सरकारले नबुझेर तिरस्कार गरे मुलुक दूर्घटनामा जान सक्ने चेतावनी दिएका थिए । उनले यातायात व्यवसायीहरुले पनि  आ-आफ्नो गल्ती कमी कमजोरीलाई स्वीकार गर्दै व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउँदै लैजानुपर्ने बताउँदै यसो गरेमात्र सरकारसँग गुनासो गर्ने ठाउँ रहने बताएका थिए ।

कार्यक्रममा नेपाल यातायात राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्षपुण्य प्रसाद सिटौला सरोजले ट्याक्सी व्यवसायीहरु अब पनि प्रविधिमा नजाने हो भने आफूहरुले मात्र केही गर्न नसक्ने बताए ।  उनले सरकारले सिण्डिकेटको नाममा यातायात क्षेत्र धरासायी बनाएको आरोप लगाए । उनले भारतीय गाडी खुलेआम नेपालमा चल्न दिदा यातायात क्षेत्रमा मारमा परेको भन्दै उनले यस्तै अवस्था अझै केहि वर्ष भए नेपालको यातायात क्षेत्र ध्वस्त हुने उनले चेतावनी दिए ।  उनले जेनजी आन्दोलनपछि बनेको सरकारसँग अपेक्षा धेरै रहेको बताउँदै यसअघि भएका सहमती कार्यान्वयन बारे छिट्टै नै गृहमन्त्रालयबाट परिपत्र आउनेमा आशावादी रहेको बताए ।

साधारणसभाको अवसरमा बर्ष भरी बिना दुर्घटना उकृष्ट सेवा प्रदान गरेका २४ जना चालकलाई नगद ३ हजार सहित नो क्लेम अवार्ड प्रदान गरिएको थियो । कार्यलयका सह-लेखापाल संगीता मिजार र तुलसी गिरीलाई नगद रु ५ हजारसहित सम्मान गरिएको छ । पोखरेली ट्याक्सी सेवा प्रालिमा आबद्ध सदस्यका एसईई र एसएलसी परिक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने छोराछोरीहरुलाई उत्कृष्ट विद्यार्थी सम्मानबाट सम्मान गरिएको छ । यसरी सम्मान प्राप्त गर्ने विद्यार्थीहरुमा शिशिर बास्तोला, स्वस्तिका देवकोटा, अनिशा कुवर, अबिशा गुरुङ, सदिच्छा बास्तोला, निसा बराल,  रोनिस खत्री, सिर्जना सुवेदी, दिया कार्की, रोशनी खनाल, असिम जिटि थापा, सुरक्षा सिरपुजा, युनिक गुरुङ, सृष्टि गोदार,  सलिना चिताउने मगर, आयुशा बराइली, सौरभ सुनार, एलिना सुनार र मदन थापा रहेका छन् ।


कार्यक्रममा स्वागत मन्तव्य राख्दै  पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले प्रालिमा हाल १५ सय ६१ शेयर सदस्य रहेको बताउँदै यसमा आबद्ध ट्याक्सीलाई डिजिटल प्रबिधिमा रुपान्तरण गर्न  मुभ ईन नेपाल एप्लिकेशनमार्फत सेवा सुरु गरिएको बताए । यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश र जिल्ला कमिटि, पोखरा पर्यटन परिषद, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारसँग पटकपटक छलफल र समन्वय गरेर यो एप्लिकेशन सञ्चालनमा ल्याईएको अध्यक्ष पौडेलले बताए । एप्लिकेशन मार्फत सेवा प्रदान गर्न ट्याक्सी बाहेक अरुलाइ अनुमति नदिन मुख्यमन्त्री सँग आग्रह गरिएको जानकारी गराए । उनले मिटरमा ट्याक्सी सेवा प्रदान गर्न नसकिने बताउँदै एप्लिकेशनमार्फत साधारण देखि लक्जरी सेवासहितको ट्याक्सी सेवा दिन प्रतिबद्ध रहेको समेत बताए ।

हाल यातायात क्षेत्र धरापमा रहेको बताउँदै यातायात क्षेत्रको समस्या समाधानका लागि व्यवसायीहरुको एकता आवश्यक पर्ने बताए । यसका लागि पोखरामा सञ्चालित अन्य ट्याक्सी सेवा संस्थाहरुलाई एकीकृत गरिएको बताए । प्रालिमा आबद्ध व्यवसायी एवं चालकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आविस्कार हस्पिटल, दृष्टि आँखा हस्पिटल सँग छुट सम्झौता गरीएको उनले  जानकारी दिए ।

कार्यक्रममा यातायात कम्पनी प्रालिको तर्फबाट यातायात ब्यबसायी महासंघ गण्डकीका प्रदेश संयोजक केदार पौडेलले यातायात व्यवसायलाई मर्यादित बनाउन ट्याक्सी व्यवसायीको भुमिका महत्वपूर्ण हुने बताएका थिए । कार्यक्रममा  पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रालिका अध्यक्ष एनकुमार साई,  मजदूर संघको तर्फबाट नेपाल यातायात मजदूर संघ गण्डकीका अध्यक्ष किरण बाबू पन्त, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, रुपान्तरित पोखरेली ट्याक्सी सेवा प्रालिका संस्थापक अध्यक्ष एवं नेपाल यातायात ब्यवसायीराष्ट्रिय महासंघ ट्याक्सी तर्फका बर्गिय संयोजक प्रकाश मणि तिवारी, नेपाल यातायात ब्यवसायीराष्ट्रिय महासंघका सचिव भानुभक्त बरालले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव युवराज भट्टराईले गरेका थिए । कार्यक्रममा हिमाली साँस्कृतिक परिवारले साँस्कृतिक नृत्य प्रस्तुत गरेको थियो । साँस्कृतिक कार्यक्रमको सन्चालन  उपाध्यक्ष प्रभाकर गुरुङले  गरेका थिए ।  कार्यक्रमको बन्द सत्रमा बार्षिक आय ब्यय प्रतिबेदन पेश भै अनुमोदन भएको थियो ।
पोखरेली ट्याक्सी सेवा प्रालिले आफुलाइ समयसापेक्ष रुपमा रुपान्तरण गर्दै मुभ इन एप मार्फत सेवा प्रबाहमा प्रभावकारिता ल्याएको दाबी गर्दै आएको छ । बिदेशमा दर्ता भएका एपहरुले निजि तथा भाडा सवारी मार्फत राइड शेयरिङ ब्यबसाय सन्चालन गरि मोटो कमिसन रकम बिदेश लगिरहेका छन । यसतर्फ राज्य उदाशिन रहनुलाइ अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्