२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

कास्कीकोटमा सामाजिक सञ्जाल सदुपयोग सम्बन्धी तालिम सम्पन्न

हाम्रो कास्कीकोट युवा सञ्जाल (OKYN), पोखरा–२४ को आयोजनामा सामाजिक सञ्जालको सदुपयोग सम्बन्धी एक दिने तालिम शनिबार कास्कीकोटमा सम्पन्न भएको छ।
“बदलिँदै छ समाज, बदलिँदै छ हाम्रो सोच — सुन्दर, सभ्य र समृद्ध कास्कीकोट” भन्ने नारासहित एक दशकअघि स्थापित सञ्जालले पोखरीचौरस्थित नेपाली चुलो एण्ड होमस्टेको सभाहलमा तालिम आयोजना गरेको हो। तालिमको उद्घाटन वडा सदस्यद्वय सरस्वती त्रिपाठी र मैयाँ नेपालीले संयुक्त रूपमा गरेका थिए ।
सञ्जालका व्यवस्थापन संयोजक आविष्कार बस्ताकोटीले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा कार्यसमिति सदस्य सूर्यबहादुर परियारले सहभागी तथा अतिथिहरूलाई स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।
तालिममा पोखरास्थित Cloud Tech Solutions का प्रशिक्षक सुदिप भण्डारी, कविर श्रेष्ठ र सुलभ श्रेष्ठले सामाजिक सञ्जालमा फैलिने मिथ्या तथा भ्रामक समाचारको पहिचान, प्रभावकारी कन्टेन्ट सिर्जना, सामाजिक सञ्जाल मोनेटाइज गर्ने तरिका तथा कृत्रिम बुद्धिमत्ता (AI) को जिम्मेवार प्रयोगबारे व्यवहारिक प्रशिक्षण दिएका थिए।
तालिममा विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, युवा तथा व्यवसायी गरी ५४ जनाको सहभागिता रहेको थियो। सहभागीहरूलाई डिजिटल सुरक्षाका उपाय, अनलाइन ठगी र फेक सूचना पहिचानसम्बन्धी जानकारी पनि प्रदान गरिएको थियो।
कार्यक्रम संयोजन तथा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका सञ्जालका संयोजक तिर्थराज अधिकारीले यस्ता व्यवहारिक तालिमहरूले युवालाई डिजिटल रूपमा सक्षम र सचेत बनाउने बताउँदै आगामी दिनमा पनि डिजिटल साक्षरता तथा सीप विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । तालिम सञ्जालका संस्थापक हिसप श्रेष्ठको आर्थिक सहयोगमा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्