२०८२ माघ २२
०६१४४५०००, ९८५६०३३३९१

“आफै गाडी चलाएर गण्डकी अस्पताल गएको ३ घन्टा भित्रै कोमाको यात्रा” मृत्यु संघर्ष पछिको बिजयी यात्रा !

आज यो स्मृतिको पाना पल्टाउदै गर्दा एक बर्ष अघिको दिनलाइ सम्झिरहेछु । आजको ठिक एक बर्ष अघि म शिक्षण अस्पताल  महाराजगन्जको विशेष सघन उपचार कक्ष ( भेन्टिलेटर ) मा अचेत अबस्थामा पल्टिरहेको थिए , जीवन र मरणको कठोर लडाइमा थिए ।  जुन कुरा मैले अनुभुती गर्न पनि असमर्थ थिए । अस्पतालका कागजात र मेरो जीवन सहयात्री पारिजातको मनको चित्रले ब्यक्त गरेका कुरा हुन यी ।

हो ! जीवन कति अप्रत्याशित र संबेदनसिल रहेछ भन्ने कुरा मैले प्रतक्ष्य  भोग्न बाध्य  पारिए  । नसोचेका कुरा सामान्य भएर जीवनमा आउने  र जटिल बनेर चुनौती दिने रहेछ।  तर भोग्नु र सामना गर्नु नै जिवनको वास्तविक अर्थ रहेछ जुन कुरा म आज मृत्युलाइ जितेर यो आत्म समिक्षात्मक  स्मरण सार्बजनिक गर्ने साहस गर्दैछु । मलाइ बिश्वास छ यो स्मृति पत्रले  मेरा शुभेच्छुकका सकल मनहरुमा खाटा बसिसकेका घाउहरुलाइ चस्काउन खोज्नेछन त्यसको लागि म सगर्ब क्षमाप्रार्थी छु किनकी  आफ्नो इतिहास आफै लेखेर तपाइहरु समक्ष पुर्याउन सक्नु र पाउनु नै तपाईं हामि सबैको अहोभाग्य मानेको छु।

त्यस दिन अर्थात २०८१ पुष ८ गते सोमबार । २०६६ साल देखि हरेक सोमबार सबैभन्दा ब्यस्त बार थियो मेरो लागि । हरेक मङ्गलबार प्रकाशन हुने सराङ्कोट साप्ताहिकको फाइनल तयारी गर्ने दिन थियो सोमबार । त्यस दिन सोमबार भएर पनि  प्रेसमा जाने हिम्मत नै आएन । कोरोनाको महामारीमा पनि कुनै दिन नरोकिएको सराङ्कोट त्यस दिन पनि  रोक्ने मेरो मनै थिएन । तर शरिरले सार्है गार्हो मानेको थियो । त्यही दिन जेठो छोरा अनुराग र  म आफ्नै वडामा रहेको कोमागाने अस्पताल गयौ ।  केही ल्याब परिक्षणको लागि नमुना सङ्कलन गरे , इसिजी गरे रिपोर्ट राम्रो आएन , अङ्कलको इसिजी पनि बिग्रेर आयो भन्दै स्टाफहरुले गफ गरेको सुने , दोहोर्‍याएर इसिजी गरे फेरि उस्तै आयो भन्ने कुरा गरेको कानले सुने । डाक्टरले रिपोर्ट हेरेर मणिपाल जान रिफर गरे , सरकारी अस्पताल हुदाहुदै निजि मणिपाल अस्पतालका डाक्टरको नामै लिएर  रिफर गर्ने  कोमागानेको शैली मलाइ ठिक लागेन , म गइन , भोलि गन्डकी अस्पताल जाने योजना  गरेर घर फर्कियौ हामी बाउ छोरा ।

म निजि स्वास्थ्य सस्था , निजि बिध्यालयलाइ त्यति भर गर्दिन सरकारी भएसम्म । सोचे एक दिनमा के नै होला र , आज सोमबार पत्रीकाको काम भ्याउछु र भोलि गण्डकी अस्पताल जान्छु र पुरै शरीर चेक गराउछु अनि जहाँ  रिफर गर्छ त्यही जानुपर्ला सोच्दै  घर आयौ । केही समाचार टाइप गरे  , बस्नै मिलेन छाती दुखेर , सुत्न पनि गारो भयो । लहरे जस्तै  खोकीले  एक हप्ता देखि  मलाइ छोडेको थिएन कति औषधि खाए तर निकै भएको थिएन । खोकी रोग होइन अरु रोगको लक्षण पो रहेछ ! मेरो यथार्थ भोगाइ ।

साझ ६ बजे तिर खोकीले बेस्सरी सतायो , सुत्नै मिलेन , गार्हो भयो । मेडम पारिजात पनि जरो आएर  बेड रेस्टमा थिइन । छोरा अनुरागले खाना बनाउदै  थियो यतिकैमा मलाइ छट्पटी भयो पिडाले , खोकिले उठ्न- सुत्नै मिलेन , अऔषधी लिन जाउ मैले बिरामी श्रीमतिलाइ अनुरोध गरे ,पुषको जाडो थियो  मैले गाडी निकाले , छोरा सहित हामी तीनै जना सधै औषधि लिने गरेको सुन्दरफीडको चिरञ्जीवी दाइको पसलमा गए । कोमागाने अस्पतालको रिपोर्ट देखाउदै मैले खोकिको औषधि दिन आग्रह गरे । दाइले रिपोर्ट हेरे , जिब्रो टोक्दै भने ” खुरुक्क गन्डकी अस्पताल गइहाल म इमर्जेन्सीमा फोन गर्दिन्छु ”  मलाइ गाली गर्दै तुरुन्त जान भने । हामी गण्डकी अस्पताल गयौ । ( दुर्भाग्य मलाइ बाच्ने बाटो देखाउने चिरञ्जीवी दाइ आफू भने केही महिना पछि मुटुघात भएर बिते )

डाक्टरले रिपोर्ट हेर्दै केस सिरियस छ  आइसियु राख्नुपर्छ अन्तै जानुस भने । मैले मानिन ,यहीं उपचार हुनुपर्छ मेरो ढिप्पी थियो तर बेड अभाब भएको उनले बताए । मैले तत्कालिन डाइरेक्टर डाक्टर भरत खत्रीलाइ फोन गरेर जसरी हुन्छ आइसियु बेड मिलाउन भने । खोकी र छातिको पीडा भएपनी बोल्दै थिए राति ९  बजे सम्म । पछि ल्याबको रिपोर्ट , इसिजी , भिडियो एक्सरे को रिपोर्ट आउदा सम्म आइसियु बेडको ब्यबस्थापन भएछ ।
९.३० बजे मलाइ माथी आइसियुमा लगियो । म हिडेरै जान्छु भनेको थिए तर  दिएनन डाक्टरहरुले ।मेडिकल  रिपोर्ट अनुसार म कृटिकल अबस्थामा पुगेको रहेछु तर मेरो आत्मबल उस्तै ज्याद्रो र जब्बर थियो । गुडाउने स्टेचरमा मलाइ आइसियु बेडमा लगियो । म टुक्रुक्क बसेर कुरा गर्दै थिए डाक्टर सङ्ग । “हेर्नुस त डाक्टर छेउमा आएपछी मेरो त खोकी नै भाग्यो ” मैले यति बोलेको सम्म मलाइ हेक्का छ । त्यतिन्जेल सम्म मेरो जीउका कपडा फेरिदै थियो । परिजातलाइ एउटा कागजमा सहि गर्न भनेको सम्म सुनेको थिए । सहि गरिन गरिनन मलाइ केही थाहा भएन । मेरो होस चेत गुमेछ ।

तीन घण्टा अघि गाडिको चालक सिटमा बसेर गाडी चलाएर गएको ड्राइभर ३ घन्टा पछि आइसियु बेडमा ! आइसियुले पनि नधान्ने भएपछी तत्काल भेन्टिलेटरमा राख्न सहि गराएर श्रीमती र छोरालाइ बाहिर धपाएछन । रातभर मेसिनबाट सास फेर्ने अबस्थामा पुगेको रहेछु । ९ गते बिहान कार्डियो डाक्टर आशिष त्रिपाठी ,सरदचन्द्र बराल लगायतले राउन्ड गर्दा म अन्तिम अबस्थामा पुगेको कुरा  पारिजातलाइ  रिपोर्टिङ गर्नुभएछ । “पारिजात मेम ,बन्जारा सरको १ प्रतिशत मात्रै होप छ अब बिचार गर्नुस ” भन्दै डाक्टर आशिषले सुनाएपछी उनले आफुलाइ धानेर  हाम्रो पारिवारिक सदस्य समानका डाक्टर पदम खड्कालाइ फोन गर्दै गन्डकी अस्पताल आउन बोलाएपछी १०-१५ मिनेटमै  आएर तत्काल काठमान्डू लाने तयारी भएछ ।

डाक्टर पदमले शिक्षण अस्पताल महाराजगन्जतिर भेन्टिलेटर आइसियु बेडको ब्यबस्थापनमा लाग्नुभएको र पारिजातले हेलिकप्टरको लागि पत्रकार महासङ गन्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र कास्की शाखा अध्यक्ष माधब बराललाइ फोन गरेर मेरो अबस्थाको जानकारी गराए लगत्तै रमेश पौडेल , माधाव बराल ,प्रेस रजिस्ट्रार बिमला भन्डारी लगाएतका साथिहरु आइपुगेर हेलिकप्टरको ब्यबस्थापनमा जुट्नुभएछ ।

मेरो स्वास्थ्य अबस्था बिग्रेको खबर हावा सरि तिब्र बेगमा फैलिएपछी कास्किका अधिकास पत्रकार  साथिहरु , मेरा इस्टमित्र र शुभचिन्तकहरु गण्डकी अस्पताल आएर छिटो भन्दा छिटो काठमान्डू लैजाने तयारीमा जुट्नुभएछ । पोखरामा उपचार सम्भव नभएपछी अत्तालिएको मेरो परिवारको लागि सान्त्वना भन्दा सहयोगको जरुरत थियो । कास्किका तत्कालीन सिडियो भरतमणि पान्डे , पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानका निर्देशक हालका उपकुलपति प्रा डा भरत बहादुर खत्री ,  पत्रकार साथी सहकर्मिहरु लगायत चिकित्सक टोलिले गर्नुभएको साथ र सहयोग प्रती हाम्रो सम्पुर्ण परिवार आभारी छ , रहिरहनेछ ।

म त मुढो झै कोमामा ढलिसकेको थिए । ऐया आत्था , सा सु केही चाल थिएन , चिर निन्द्रामा परे जस्तै । जीवन र मृत्युको केही प्रवाह नहुदो रहेछ । हेलिकप्टरमा लगे की गाडिमा मलाइ कुनै वास्था र चासो खाचो र जानकारी थिएन । अहिले पनि त्यो दिनको फोटो हेर्छु टम्म थिए मेरा शिकारी आखाहरु , मुढो जस्तै ढलेक थियो शरीर ।  पुष ९ गते अपरान्ह मलाइ महाराजगन्ज शिक्षण अस्पतालको विशेष सघन उपचार कक्ष १२ नम्बर बेडमा  पुर्याएको भएपनी मेरो चेतको आँखा ११ गते मात्र खुलेका थिए ।  मलाइ होस आउदा बेस्सरी असहज भएको थियो ।

यमदुतहरुसङ्ग लाप्पा खेलेको , उनिहरुले तानेर लान खोजेको बाटो जान नमान्दा द्वन्द भएको , बाकसमा बन्द गर्न खोज्दा खोज्दै किला काटि फुस्काएको कठोर सपनाको छायां फाटेर उज्यालो देख्दा अचानक मेरा आखाले शिक्षण अस्पतालको सघन उपचार कक्षको बि १२ नम्बर बेडको सिलिङमा बलेको बत्ति देखेको थियो ।आधुनिक मेडिकल र सर्जिकल उपकरणले भरिएको त्यो कोठामा आधा दर्जन उपकरणको जालोमा जेलिएको थिए म । उपकरणहरुले दिने संकेत आवाज  ट्या टु मेरो कानले थाहा पायो , हातगोडा  नचलाओस भनेर बाधिएको थियो । मुखबाट ४ वटा पाइप घाटी हुँदै छाती र पेटतर्फ  घुसाइएको थियो । भेन्टिलेटर पाइप र तारहरु नहल्लियोस  भनेर कडा खालको टेपले मुख बाधिदो रहेछ  किरिप्प हुनेगरी । त्यो पीडा भन्दा त बेहोस हुदा नै  जाती लाग्ने सम्मको हुने रहेछ अबस्था ।

मेरो शरीरबाट फुत्त निस्केर बाहिरिन खोजेको प्राण नामको जिनिसलाइ शरिरमै राख्ने कार्यमा खट्नुहुने शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ मुटु रोग विशेषज्ञ डिएम डाक्टर सुर्य देवकोटाले गरेको योगदानको शब्दमा ब्यक्त गर्नै सक्दिन म । ३ दिन पछाडी चेतिला आँखा खुल्दा मैले देखेको पहिलो “महा मानिस”उनै डाक्टर देवकोटा थिए । बिक्षिप्त भएर बाहिरिन खोजेको प्राणलाइ शरिरमै अढ्याउने कार्यमा उनले ड्युटी समय नभनी दिन रात खटेका उनको मेहनतले म मेरा परिवार र शुभेच्छुकहरुको लागि अब्यक्त उपलब्धि हुन । डाक्टर देवकोटा “कस्केली ” हुन उनले मेरा शुभचिन्तक मित्रहरु ललित गुरुङ , रामकृष्ण ज्ञवालि , इन्द्र पौडेल , नारायण शर्मा , प्रकाश बराल , इ नवराज बास्तोला  राज गुरुङ लगायत अनगिन्ती साथीले गरेको सयौ फोन कलले पनि उनलाई थप उर्जा र उत्साह थपेको डाक्टर देवकोटाले बताएकाथिए  ,  उनको थप पहलमा   बिज्ञहरु  डाक्टर चन्द्रमणी पौडेल , डाक्टर सुवास आचार्य  , डाक्टर भट्टराई लगायतको  टोलिले गरेका बिहङ्गम प्रयासले सार्थक रुप लिएको छ जसको प्रमाण म आज जिवित रहेर आफ्नो कथा आफै लेख्दै छु  ।

म तेस्रो पटक निमोनियाको डसाइमा परेको थिए  । छाती कोल्याप्स भएपछी निमोनियाले मुटुको घाँटी पो समात्दोरहेछ । मेरो मुटुको घाँटी समातेकै कारण मेरो मुटुको  धड्कन बन्द हुने अबस्थामा पुगेको रहेछ । मुटुले काम नगरेपछी रगत छान्ने काम पनि बन्द हुने रहेछ , फलत ३ पटक डाइलासिस गर्न पर्यो , डाक्टर देवकोटा सम्झन्छन्  भेन्टिलेटरमै रहदा एनजीओग्राफी गर्न परेको थियो जुन बिरलै गरिन्छ ।  हेल्थ स्टेबल गर्न जे पनि गर्न पर्दो रहेछ  भन्ने बुझेर मैले चित्त बुझाएको छु । जीवन डाक्टरकै जिम्मा दिनुपर्ने रहेछ ।

(निको भएपछी डाक्टर सुर्य देवकोटाको साथमा )

होस चेत खुलेपछी म कति पनि बिचलित भइन । आत्मबल घटेन । जीवन यस्तै हो भन्ने महसुस गरे । मैले सोच्थे म काठमाडौमै  मरिहाले  भने पशुपतिमै सेलाए हुन्थ्यो , दाजुभाइ काठमाडौमै धेरै छन कर्म चलाउन सहज हुने  मेरो अनुमान थियो तर कसलाइ भन्ने यो कुरा  ? उपचारका क्रममा बिच्छिप्त भएर पागल झै यता र उता गरिरहेकी मेरि उनिको त्याग र समर्पणको बाकी जिवनको मात्र बढी चिन्ता आउथ्यो , मृत्यु त सत्य हो सद्दाम , हिटलर , नेपालकै बिरेन्द्र शाह र  गिरिजा बाबू पनि गएकै बाटो म पनि जाने हो भन्ने कुरा खेल्थे । शैयामा सोच्नु भन्दा अरु के नै हुन्थ्यो र ! दिनका २-३ जना म जस्तै आएका बिरामिहरुले बेड खाली गरेर चितामा लगिन्थे  म हेर्दै दिन रात गुजार्थे !  शिक्षण अस्पताल आइसियुका  नर्स र परिचारिकाहरुको प्रेमिल सेवाले उपचारलाइ सहयोग पुर्याइरहेको थियो , मेरो नाम पनि “ज्ञानि बुवा” राखेका थिए उनिहरुले । उनिहरुले भनेको मान्नु नै ज्ञानि भइदो रहेछ ।

१२  दिनको  कोमाको उपचार पछि म सिसियुमा सारिएको थिए । त्यस पछि बोली फुट्न थाल्यो । परिवार र साथी भाइको प्रत्यक्ष भेटघाट हुन पाउँदा मैले जीवन मात्र होइन सन्सार जितेको आभास गर्न थालेको थिए ।  पोखरा देखि  छिमेकी मोहन थापा , पुर्बमन्त्री कुमार खड्का , पत्रकार साथिहरु राजेन्द्र अधिकारी , ,पत्रकार  महासङका  बग्रेल्ती साथिहरु भेट्न आएका थिए । राजेन्द्रले सिसियुमा भेट्दा स्मरण सुनाउदै भनेका थिए  “गण्डकी अस्पतालको अबस्था हेर्दा अब अन्तिम हेराइ हो भन्ने लागेर दोस्रो चोटि हेरेर आँसु लुकाउदै म हिडेको थिए तर सौभाग्य फेरि देख्न पाइयो ।”  उनिमात्र होइन धेरैको मनले मेरो अन्तिम बिदाइ गरिसकेका रहेछन अहिले उनिहरु मलाइ भेट्दा चिमोट्दै भन्छन ” तपाईं उहीँ बन्जारा सर हो त !”

कोमामा गएकी बिरामिको कोमा पाइप र तार निकाल्दा उच्च जोखिम हुने कुरा नर्सहरुले बताएकाथिए । कृतिम प्रणालिलाइ प्रकृतिमा लादा फेल हुनपनी सक्ने रहेछ , चिकित्सक र नर्सहरुले डेमो गरेका थिए हामी यसो गर्छौ तपाईं यसो गर्नुपर्छ भनेर ,  तर सौभाग्यले जित्यो म सकुसल फर्किए नर्सहरुपनी खुसी हुँदै भने बधाइ छ “ज्ञानि बुवा “! अनि मैले मास्कबाट अक्सिजन लिन थाले ह्वार्ह्वार्ती ।

मान्छे जिन्दगीमा एक पटक जन्मन्छ भनिन्छ । तर म दुइपटक जन्मिए । पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानका चिकित्सकहरुले माया मारिसकेका रहेछन , अहिले भेट्दा पनि तपाईं “गड गिफ्ट”  मान्छे हो भन्दा बाकी जिन्दगी देश र जनताको खातिर असल कार्यमा  बिताउने सोच झाङ्गिएको छ । मन पुलकित भएको छ ।

दोस्रो जन्म पछि बिताएका एक बर्ष पनि  एक हप्ता जसरी  हासी खुसी बितेकाछन । आफ्नो पत्रकारिताको कर्म क्षेत्रमा यथावत फर्किएको छु ।  हेलिकप्टर चढेर काठमाडौको २१ दिन उपचार गर्दा २१ लाख रुपैयाँको ब्यय भारी बोक्न बिवस बनायो ।  हुनत जीवनको मूल्य पैसामा तुलना गर्न मिल्दैन तर पनि तितो यथार्थले क्लिक गरिरहदो रहेछ । जे होस पैसा गएपनी यो जीवन यमराजको खोकिलाबाट फुत्किएर आएको छु , मेरो जीवनको  यस महान उपलब्धी प्राप्ती कार्यमा मेरा आफन्तजन , दाजुभाइ ,कुटुम्ब ,  सकारात्मक सोचका धनी सहृदयी नित्रहरु , पत्रकार साथिहरु , राजनीतिक ब्यक्ती ब्यक्तित्व , सरकारी कर्मचारी , चिकित्सकज्युहरु प्रती आभारी छु ।

मेरो उपचारमा राज्यकोषबाट पनि सहयोग भएको छ ।  गन्डकी प्रदेश सरकारबाट १ लाख  , पोखरा महानगरपालिकाबाट ८० हजार , रुपा गाउपालिकाबाट २५ हजार सहयोग भएको छ यस्तै मेरो पेशागत सस्था  पत्रकार महासङ कास्की शाखाबाट १० हजार , जन आस्था साप्ताहिक काठमाडौबाट २५ हजार , सस्थागत सहयोग उपलब्ध भएको र यो सार्बजनिक र सस्थाको कोषबाट सहयोग भएकोले सार्बजनिक गरेको छु ।  यस कार्यमा सहयोग गर्नुहुने  मुख्यमन्त्री सुरेन्द्रराज पान्डे र कागजी प्रक्रियामा सहयोग गर्ने रमेश पौडेलजी , प्रेस रजिस्ट्रार बिमला भण्डारी , नरहरि सापकोटा , पोखराका मेयर धनराज आचार्य , उपमेयर मन्जु गुरुङ र सिफारिस समिती , पत्रकार महासङ कास्कीका अध्यक्ष माधब बराल  र कार्यसमिति , जन आस्थाका सम्पादक किशोर श्रेस्ठ , लाई बिनासर्त सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु ।  एक दुई जना कास्किका पत्रकारले सरकारले अरु नागरिक सरह एक पत्रकारलाइ स्वास्थ्य बिपत पर्दा गरेको सहयोग प्रती तितो पोख्दै सामाजिक सन्जालमा प्रश्न उठाउनुभएको रहेछ  उहाँलाई पनि धन्यवाद नदिइरहन सकिन ! तत्काल उद्दरको लागि   हेलिमा चढाउन पैसा नहुदा तत्काल बिना ब्याजको पैसा खोज खन्तर गरि उपचारको  बाटो फुकाइदिने भरत नेउपाने , सुक्र कडेल , पदम श्रेष्ठ , शिवदाइ , गोपाल गौतम , सन्त घिसिङ , दिपा खराल , कृष्ण हुमागाइ  लिला सुवेदी बिकास आचार्य  , सुजन गुरुङ , गणेश थापा , मोहन यादव   लगायत इस्टमित्रहरु  प्रती जीवनभर मानवीय रुपमा ॠणि भैरहनेछु ।

हरेक मानिसको  जीवन यात्रा अज्ञात छ , अनिश्चित छ ,अब्यक्त छ   त्यसैले “आफ्नै मनले गाली नगर्ने गरि असल कर्म गरौ “, सत्य र न्यायको लागि लडौ , सबैले पहिलो माया  आफ्नो शरीरको गरौ  किनकी शरीर सन्सार हो रहेछ ,शरिरभित्र मन मुटु , चेतना, बिवेक र चाल रहेको हुन्छ । त्यो नै सन्सार हो । यमलोक डुलेर फर्की आएको यो यात्रुको   बाकी जिन्दगी देश र आम जनताको लागि  समर्पित गर्दै सधै अरुका कथा ब्यथा लेख्ने , देश र जनताको कुरा लेख्ने , सुशासन र सदाचारको पक्षमा वकालत गर्ने यी मन र कर्मसिल हातहरु आज आफ्नै कथा लेख्न बिवस भएको छु ।  लेखाइमा कमिकमजोरी हुन सक्छ्न , छुट्पुट भएहोलान मन फराकिलो बनाएर माफी गरिदिनुहुनेछ भन्ने पुर्ण बिश्वासका साथ — तपाइहरुकै  —- यदुनाथ बन्जारा

प्रतिक्रिया दिनुहोस्