२०८२ माघ २८
०६१४४५०००, ९८५६०३३३९१

निर्वाचन विशेष २०८२:- (कास्की -२ ) पोखरा १६ मैदानमा निर्वाचन चहलपहल ,एउटै चोकमा ५ राष्ट्रिय पार्टिको निर्वाचन कार्यालय स्थापना

यदुनाथ बन्जारा /सराङ्कोट ब्यूरो

देश यतिखेर आगामी फागुन २१ गते हुने आम चुनावमा होमिएको छ । चुनावमा उठेका उम्मेदवारहरु न्वारान देखिको बल लगाएर प्रचारप्रसारमा उत्रिएकाछन । विभिन्न पालिका र वडा वडामा चुनाव प्रचारका लागि कार्यालय खोलीएका छन । चहलपहल बढेको छ देशनै चुनावमय भएको छ ।
यस्तै कास्किमा पनि चुनाव सरगर्मी बढेको छ । भेट्रान्स उम्मेदवारको अभाव देखिएपनी चुनाव नजिकिदै गर्दा चर्चा चुलिन थालेको छ । यसै क्रममा पोखराको सबैभन्दा बढी मतदाता भएको १६ नम्बर वडामा कास्की २ नम्बर क्षेत्रका उम्मेदवारहरुले चुनाव प्रचारप्रसार कार्यालय खोलेकाछन । बाटुलेचौरको मैदान चोकमा ठुला ४ दलका कार्यालय खुलेको छ ।

रास्वपा – घण्टी –

राष्ट्रिय स्वतन्त्र पार्टिले सबैभन्दा पहिला घन्टिघर खोलेर चर्चा कमाएको थियो । यो पार्टिबाट २ नम्बर क्षेत्रको उम्मेदवार बनेका उत्तम पौडेल समानुपातिक सासद उम्मेदवार बिष्णु एकता गुरुङले घन्टिघरको उद्घाटन गरेका थिए । पोखराको सबै भन्दा धेरै (१२५०० बढी) मतदाता रहेको वडाबाट आधा भन्दा बढी मत रास्वपालाइ झर्ने अपेक्षा गरेका छन । दुई दशक लामो पत्रकारिता पेशा छोडेर राजनीतिक यात्रामा होमिएका पौडेल आफू जनताको गाली र ताली दुबै स्वीकार्न तयार भएर जनसेवामा होमिएको बताए ।

नेकपा एमाले – सुर्य

नेकपा एमालेले माघ २४ गते मैदान चोकमा १६ नम्बर वडा चुनाव प्रचारप्रसारको सम्पर्क कार्यालय खोलेका छन । एमालेका केन्द्रिय सदस्य कृष्ण थापा , एमालेका पुराना नेता सोमनाथ अधिकारी प्यासी , र २ नम्बर क्षेत्रका उम्मेदवार रश्मि आचार्यले सम्पर्क कार्यालय उद्घाटन गरेका थिए । एमाले उम्मेदवार रश्मि आचार्यले एमालेको पुरानो बिरासत जोगाउने बताउदै भ्रष्टाचार बिरुद्द बोल्ने बताएका थिए । आफुले जितेर गएपछी हरेक ६-६ महिनामा १६ नम्बर वडामा आइरहने बताए । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा जिल्ला तथा वडाका एमाले कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

नेपाली काङ्ग्रेस – रुख –

 

काङ्ग्रेस बदलियो अब देश बदल्छौ भन्ने नारा लिएर आएको नेपाली काङ्ग्रेस पार्टिले पनि १६ नम्बरको मतदाताको ध्यान तान्ने जमर्क गरेको छ । यसै क्रममा पोखरा १६ को बाटुलेचौर मैदानमा आफ्नो सम्पर्क कार्यालय खोलेको छ ।आइतबार कार्यालय उद्घाटन गरिएको छ । यो क्षेत्रबाट काङ्ग्रेसले माधब बास्तोला मधुलाई उम्मेदवार बनाएको छ । काङ्रेसका सादगी नेता मानिने बास्तोलाले यो चुनाव १६ नम्बरका मतदाताको मायाले जित्ने बताए । आफुले कास्केली जनताको हित र सुशासनको पक्षमा लागिपर्ने बताए । पुराना काङ्रेसी नेता बलराम रेग्मी र मुक्तिनाथ शर्माको स्मरण गर्दै आफुले उनिहरुले लिएको मार्ग पछ्याउने बताए । सम्पर्क कार्यालय उद्घाटनमा वडान १६ का काङ्ग्रेस जनहरुको उपस्थिति रहेको थियो ।

नेकपा  -तारा

नेकपा अर्था झन्डै डेड दर्जन पार्टी मिलेर पुनर्गठित दल नेपाली कम्युनिस्ट पार्टीले पनि १६ नम्बर वडा सम्पर्क कार्यालय स्थापना गरेको छ । जीवन श्रेस्ठको घरमा कार्यालय केही दिन पहिला खोलेको भएपनी माघ २६ गते सोमबार सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गरिएको छ । २ नम्बर क्षेत्रका उम्मेदवार किरण थापा र समानुपातिक उम्मेदवार ज्ञानु आचार्यले सयुक्त रुपमा उद्घाटन गर्दै निर्वाचन क्षेत्र न २ का सचेत नागरिकले मत दिएर जिताउन आग्रह गरे। नेकपाका उम्मेदवार किरण थापाले देशको युवा पलायन सङ्गै भैरहेको पुजि पलायन रोक्न आवश्यक कार्यनिती ल्याउने बताए । जेनजी पुस्ताले उठाएको मुद्दा र हामिले बिगत बर्ष देखि चालेको कदम एउटै रहेकोले पार्टिले अपनत्व लिएर जाने नीति रहेको बताउदै थापाले भने भ्रष्टाचार बिरुद्द शून्य सहनशीलता आफ्नो पार्टिको मुल मुद्दा हो । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा रास्वपाका नेता कुमार खड्का , नेकपा एमाले १६ का नेता दान बहादुर बानिया लगायतले शुभकामना दिएका थिए ।

राप्रपा –हलो

राष्ट्रिय प्रजातन्त्र पार्टिले माघ १६ गते बाटुलेचौरप मैदान चोकमा आफ्नो निर्वाचन प्रचारप्रसार सम्पर्क कार्यालय खोलेको छ । यो क्षेत्रमा राप्रपाले हेमजङ गुरुङलाइ उम्मेदवार बनाएको छ । प्रचारप्रसार सम्पर्क कार्यालय पार्टिका उम्मेदवार हेमजङ गुरुङ र जिल्ला पार्टी अध्यक्ष नारायण गुरुङले सयुक्त रुपमा उद्घाटन गरेका थिए । राष्ट्रिय पार्टिको मान्यता पाएको राप्रपाले आफ्नो दलको नीति राष्ट्र केन्द्रित र जन केन्द्रित रहेको बताए उम्मेदवार गुरुङले बताए । राजा सहितको प्रजातन्त्र , सनातन हिन्दु राज्य नेपाल , संघीयताको खारेजी र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री मुल सिद्दान्त रहेको राप्रपा पोखरा १६ का अध्यक्ष रामचन्द्र शर्माले बताए । धेरै मतदाता भएको पोखरा १६ मा ५ वटै राष्ट्रिय पार्टिले सम्पर्क कार्यालय खोलेका छन ।

यस अघिका निर्वाचनमा पनि बाटुलेचौर राजनीतिक चहलपहलको केन्द्र बन्दै आएको थियो । यसपालिको चुनाव थप आकर्षणको केन्द्र बनेको छ । ४ वटा ठुला पार्टिको निर्वाचन सम्पर्क कार्यालय एकै ठाउमा स्थापना भएकाछन । मतदाता को कसका पक्षका हुन भन्ने कुरा खुल्न र खुलाउन मुस्किल जस्तै बनेको छ । ४ वटै कार्यालयमा पुग्ने र गफ गर्ने मतदाताहरुलाइ सबैले आफ्नै हुन भन्दै माहोल अनुकुल भएको बताउदै आएको सुनिन्छ ।
निर्वाचन हुने दिन नजिकिदै गर्दा सरगर्मीको पारो तात्तिदै गएको छ । फागुन ४ गतेबाट हुने औपचारिक प्रचारप्रसारको तयारीमा सबै दल जुटेका छन । कार्यकर्ताहरु भाषण गर्ने र मतदाताको मन जित्न नयाँ नयाँ मुद्दा र आश्वासनका पोका खुलाउदै आएका छन । सामाजिक सन्जालले मतदाताहरुको चेतना स्तर बढेको , बिश्वको राजनीतिक बुझ्दै नेपालको राजनिती सङ्लियोस भन्ने आशा अभिलाषा राख्नेहरुको जमात बढेर गएकोले पुराना दलहरुलाई सहजै चुनाव जितिएला भन्ने ढुक्कको अबस्था छैन ।
चुनाब कस्ले बाजि मार्ला भन्ने एउटै प्रश्नको वर्षा हुँदै आएको छ । मुख्यतया कास्किको २ नम्बर क्षेत्रमा तीन दलिय प्रतिष्पर्धा रहेको बुझिन्छ । काङ्रेसले आफुलाइ सुध्रीएको काङ्ग्रेस भन्दै देशै सुधार्ने बताएको छ । उसले गगन थापालाई प्रधानमन्त्रीको दाबेदारी पेश गरेको छ तर गगन थापा आफैले चुनाब जित्ने निस्चित नरहेको अबस्थामा यो नारा परिपक्व मान्न मतदाता तयार छैनन । मासबेस पार्टी भएकोले जनलहरको हावा कता बग्छ उतै परिणाम जाने काङ्रेस कार्यकर्ता बीचमै चर्चा चलेको छ ।
यता कार्यकर्ताको सन्जाल मजबुद भएको दाबी गर्ने नेकपा एमाले आफुलाइ २ नम्बर सुरक्षित मान्छ । रबिन्द्र र बिध्याको लोभ लाग्दो बिरासतलाइ क्यास गर्न सकिन्छकी भन्ने दाउमा छ एमाले । कार्यकर्ताले ढाडस दिएपनी मतदाताको मुड मथिङ्गल हल्लिएको महशुस गराएको छ । भाद्र २३-२४ गते भएको जेनजी पुस्ताको आन्दोलन र त्यसपछिको अबस्था एमालेको लागि ढुक्क हुने खालको बाताबरण छैन । आन्दोलन लगत्तै बिचलित भएका कार्यकर्ता र मतदाता कतिपयले पार्टी परिवर्तन नगर्ने तर मत परिवर्तन गर्ने कुरा भुसको आगो जस्तै धुवाएको छ । बाकी रहेको ३ हप्ता भित्र एमालेले जेनजी पुस्ताको मनमा लागेको घाउ कसरी सम्बोधन गरेर बिश्वस्त तुल्याउन सक्छ त्यसमा भर पर्ने देखिन्छ । पार्टी अध्यक्ष केपि ओलीका कतिपय बिबादास्पद अभिब्यक्तिले मतदाताको घाउ बल्झाउन पुगेको र उम्मेदवारलाई रक्षात्मक भुमिका खेल्न बाध्य बनाएको कार्यकर्ता बृतमै गुनासो छ ।
दुई ठुला दलको असन्तुष्ट मतदाताको मत बटुल्ने योजनामा छ रास्वपा । आफ्नो दल नया भएकोले सबैको मन र मत बटुल्ने साझा दल रहेको रास्वपाको भनाइ छ । केन्द्रिय सभापती रवि लामिछाने र प्रधानमन्त्रीका प्रस्थावित उम्मेदवार बालेन शाह देशको राजनितिको केन्द्रमा छन । प्रचार समितीको काम एमाले र काङ्रेसले गरिरहेको भन्दै उनिहरु दुबै दलबाट बिछिप्त भएका , असन्तुष्ट रहेका ठूलो सङ्ख्याको मतदाताबाट चुनाव जित्ने योजनामा छन । बालेनलाइ प्रधानमन्त्री बनाउने योजना सहित चुनावमा होमिएको रास्वपाले युवा मत तान्ने प्रबल सम्भावना छ ।
बिदेशिएका नेपालिहरु आफ्नो परिवारलाइ घन्टिमा मत दिन गरिरहेको आग्रहलाइ एमाले नेता प्रदिप ज्ञवालिले इमोस्नल ब्ल्याक मेलिङ गरेको भन्दै आलोचना गरेपछी असन्तुस्टी बढेको छ । बाउ आमा र छोराछोरीको घर भढुवा शैली अपनाएको भन्दै एमाले प्रती आलोचना भएको छ यसले एमालेको राजनितीक योजनामा ब्याक फाएर हुने देखिन्छ । यसरी समिक्षात्मक टिप्पणी गर्दा यो निर्वाचनमा रास्वपा धेरै कोणबाट सुरक्षीत देखिने राजनीतिक जानकारहरु बताउछन ।
कास्किमा तीन दलको कडा प्रतिस्पर्धालाई इन्कार गर्न सकिन्न । यसको अलावा नेकपाबाट १ नम्बरका उम्मेदवार राजकाजी गुरुङ करणको बाहिरी चर्चा पातलो छ । उनी राजनितीका खेलाडी हुन भित्री रणनीति कसरी चालेका छन भन्ने बुझ्न बाकी छ । २ का किरण युवामा लोकप्रिय नेता हुन उनले आफ्नो पार्टिको पुरानो मत जोगाउन सक्ने सम्भावना रहेको बताइन्छ भने ३ का उम्मेदवार गोपाल गिरि आफ्नो क्षेत्र सुरक्षित रहेको बताउछन । उनले आफ्नो भेगमा लामो समय सेवा गरेको फल पाउने आशा गरेका छन ।
पोखरा १६ सबैभन्दा बढी मतदाता रहेको वडा हो । लामाचौर ब्यापारिक केन्द्र भएको र बाटुलेचौर राजनीतिक केन्द्र बनेको छ । एउटै चोकमा ५ वटा कार्यालय भएकोले मैदान चोकमा चहलपहल ह्वात्तै बढेको छ । उम्मेदवार र समर्थकहरु सबै पार्टिको कार्यालयमा आवतजावत गर्ने शुभकामना दिने कार्य सौहार्द्द्पुर्ण रुपमा भएको छ । यो अनुकरणीय अभ्यासको रुपमा लिइएको छ । मैदान चोकलाइ चुनाव चोकको रुपमा बदलिएको छ , रौनकता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्