२०८२ चैत्र ८
०६१४४५०००, ९८५६०३३३९१

पोखरा विमानस्थल भ्रष्टाचार काण्ड थप पेचिलो बन्दै, २१ जना विरुद्ध मुद्दा दायर, ४६ करोड बढी बिगो

राष्ट्रिय  गौरबको भनिएको बहुचर्चित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार काण्ड थप पेचिलो बन्दै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा २१ जना व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार कुल ४६ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार विमानस्थल निर्माणका क्रममा ठेक्का प्रक्रिया, लागत अनुमान र भुक्तानी व्यवस्थापनमा गम्भीर अनियमितता भएको ठहर गरिएको छ। विशेष गरी निर्माण सामग्री खरिद, परामर्शदाता छनोट तथा प्राविधिक मूल्यांकनमा मिलेमतो गरी राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याइएको आरोप लगाइएको छ। त्यसमा पनि परामर्शदाता छनोटबाटै भ्रष्टाचारको सुरुवात भएको ठहर भएको छ ।

मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण का तत्कालीन उच्च पदाधिकारी, परियोजना प्रमुख, इन्जिनियर र ठेकेदार कम्पनीका प्रतिनिधिहरूलाई प्रतिवादी बनाइएको छ। उनीहरूमाथि सार्वजनिक खरिद ऐन विपरीत निर्णय लिएको, गलत प्रतिवेदन तयार पारेको तथा अनावश्यक रूपमा लागत वृद्धि गराइएको आरोप छ।
आयोगले अनुसन्धानका क्रममा विभिन्न कागजात, भुक्तानी विवरण र प्राविधिक प्रतिवेदनको अध्ययन गरी ठोस प्रमाणका आधारमा मुद्दा दायर गरिएको जनाएको छ। यदि आरोप प्रमाणित भएमा दोषीहरूलाई कैद सजायसँगै बिगो असुलउपर गरिने कानुनी व्यवस्था रहेको छ।
यो प्रकरणले मुलुककै ठूलो पूर्वाधार आयोजनामध्ये एक मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। विमानस्थल निर्माणमा भएको भनिएको अनियमितताले राज्यको लगानी, सार्वजनिक विश्वास र विकासको पारदर्शितामाथि गम्भीर असर पारेको विश्लेषण गरिएको छ।
विशेष अदालतमा मुद्दा दर्ता भएसँगै अब यस प्रकरणको न्यायिक प्रक्रिया अगाडि बढ्नेछ। यसले दोषीलाई कानुनी दायरामा ल्याउने मात्र होइन, आगामी दिनमा यस्ता ठूला आयोजनामा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।
नया सरकार गठनको तयारी हुदाहुदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा सकृयता देखाएको छ । यसलाइ सकारात्मक रुपमा लिन सकिन्छ ।

यी हुन् आरोपित प्रतिवादीहरू –

– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी
– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम र राजन पोखरेल
– प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल
– प्राधिकरणका तत्कालीन निर्देशक स्व.ध्रुवदास भोछिभोया
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने
– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरी
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपप्रबन्धक हिमज्योती थापा
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु
-राष्ट्रिय गौरव आयोजनाका तत्कालीन लेखा अधिकृत/उपप्रबन्धक प्रमोद नेपाल
-राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत/उपप्रबन्धक सविन फुयाल

प्रतिक्रिया दिनुहोस्