उपभोक्तालाई गलत बिज्ञापनको सिकार बनाउन पाइदैन । जे कुरा बिज्ञापनमा खुलाइन्छ त्यो यथार्थमा हुनुपर्छ , भ!न भने त्यो उपभोक्ता ठगी हो । यस्तै काण्ड बर्जर पेन्टले गरेको तथ्य ढिलो गरि सार्वजनिक भएको छ । ‘७ देखि १० वर्षसम्म टिक्ने’ भन्दै वारेन्टीको दाबी गर्दै बिक्री गरिएको बर्जर पेन्ट केही महिनामै खुइलिएपछि परेको मुद्दामा उपभोक्ता अदालतले कम्पनी र बिक्रेतालाई रु. १२ लाख ७८ हजार ४ सय क्षतिपूर्ति भराउने फैसला गरेको छ। २०८१ सालमा भक्तपुरका उपभोक्ताले हालेको क्षेतिपुर्ती भराइ पाउ भन्ने मुद्दा २०८२ माघ २६ गते फैसला भएको थियो त्यसको पुर्ण पाठ ढिलो गरि आएपछी यो प्रकरण सार्वजनिक भएको हो ।
बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिले उत्पादन गरेको ‘वेदरकोट अल गार्ड’ र ‘वेदरकोट लङ लाइफ’ लगायतका पेन्टमा ७ देखि १० वर्षसम्म टिक्ने तथा वारेन्टी हुने दाबी गरिएको थियो। तर उपभोक्ताहरूले घरमा रङ लगाएको ६ देखि ८ महिनामै रङ उप्किने, खुइलिने र दाग देखिने समस्या आएको भन्दै अदालतमा उजुरी गरेका थिए।
मुद्दा भक्तपुरका दीपकराज गिरी, सिद्धान्त श्रेष्ठ र दयाराम कार्कीले क्षतिपूर्ति मुद्दा दायर गरेका थिए। अदालतले रङका बट्टा, विज्ञापन, वारेन्टी प्रमाणपत्र, खरिद बिल, तस्बिर तथा भिडियो लगायतका प्रमाण परीक्षण गरेको थियो।
विज्ञापन एउटा, सर्त अर्कै , गुणस्तर कमसल
फैसलाको महत्वपूर्ण पक्ष कम्पनीले सार्वजनिक रूपमा गरेको विज्ञापन र बिक्रीपछि देखाएको वारेन्टीका सर्तबीचको बिषय बिरोधाभाषपुर्ण रहेको अदालतले ठहर गरेको छ ।
कम्पनीका केही उत्पादनमा ७ वर्ष र केहीमा १० वर्षसम्म वारेन्टी उल्लेख गरिएको प्रमाण अदालतमा पेश भएको थियो। तर वारेन्टी प्रमाणपत्रमा न्यूनतम ४० लिटर पेन्ट खरिद गर्नुपर्ने जस्ता अतिरिक्त ब्यापारिक सर्त राखिएको विषय पनि अदालतले परीक्षण गरेको थियो। सार्वजनिक विज्ञापनबाट उपभोक्तालाई एउटा धारणा दिने र पछि फरक तथा सीमित सर्त देखाएर जिम्मेवारीबाट पन्छिन खोज्नु उचित नभएको अदालतको ठहर छ।
यो प्रकरणमा महत्वपूर्ण कुरा, उत्पादक र डिलरबीचको आन्तरिक सम्झौतामा वारेन्टी नहुने उल्लेख भए पनि त्यसलाई देखाएर उपभोक्ताप्रतिको दायित्वबाट कम्पनी उम्कन नसक्ने अदालतले मानेको छ। यो कुटिल ब्यापारिक चाल हो भन्ने स्पस्ट हुन आएको छ ।
फैसलाअनुसार बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिले रु. १२ लाख १४ हजार ५ सय र बिक्रेता फ्रेण्ड्स फरइभर ट्रेडिङ प्रालिले रु. ६३ हजार ९ सय क्षतिपूर्ति तिर्नुपर्नेछ। तीन उपभोक्ताले पाउने रकम क्रमशः रु. ६ लाख ३४ हजार ८ सय, रु. ३ लाख ४६ हजार १ सय र रु. २ लाख ९७ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने रहेको छ।
उपभोक्ताले दायर गरेको मुद्दाको फाइल सलग्न प्रमाण अनुसार फैसलामा ‘बर्जर वेदरकोट अलगार्ड’का बट्टामा ‘एक्स्टेरियर वाल पेन्ट, सिलिकन इन्हान्स्ड’ तथा ‘वेदरकोट: लङ लाइफ एक्स्टेरियर इमल्सन विथ पीयू’ उल्लेख रहेको र घरको बाहिरी भागमा प्रयोग गर्न मिल्ने गरी उत्पादन गरिएको देखिएको उल्लेख छ।
उपभोक्ता सिद्धान्त श्रेष्ठलाई जारी गरिएको वारेन्टी सर्टिफिकेटमा न्यूनतम ४० लिटर ‘वेदरकोट अलगार्ड’ खरिद गरेपछि मात्रै वारेन्टी लागू हुने सर्त राखिएको थियो। तर अदालतले प्रत्येक बट्टामा वारेन्टी भएको प्रचार गर्ने र वारेन्टी सर्टिफिकेटका लागि न्यूनतम ४० लिटर खरिद गर्नुपर्ने सर्त राख्ने कार्य तर्कसंगत नभएको ठहर गरेको छ।
अदालतका सदस्य गेहेन्द्रराज रेग्मी र सदस्य आनन्दराज पोखरेलको इजलासले २०८२ माघ २६ गते फैसला गर्दै उत्पादक बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.लाई १२ लाख १४ हजार ५ सय रुपैयाँ र बिक्रेता फ्रेन्ड्स फरइभर ट्रेडिङ प्रा.लि.का सञ्चालक दिनेश गिरीलाई ६३ हजार ९ सय रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ७(१)(च) तथा दफा ११ बमोजिम बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले १२ लाख १४ हजार ५ सय रुपैयाँ र बिक्रेता फ्रेण्ड्स फरइभर ट्रेडिङ प्रालिले ६३ हजार ९ सय रुपैयाँ गरी कुल १२ लाख ७८ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ७ अनुसार उत्पादकले गलत वा भ्रामक विज्ञापन गर्न पाउँदैन ।
दोस्रो, उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ११ (ङ) : वस्तुमा ग्यारेन्टी वा वारेन्टीको व्यवस्था भएमा त्यसको पालना गर्नुपर्छ । संख्यामा सर्त राखिनुहुन्न ।
न्नअदालतले बर्जरका रङका बट्टा तथा विज्ञापनमा ७ वर्ष र १० वर्षसम्म वारेण्टीको प्रचार गरिएको प्रमाणबाट उत्पादकले निश्चित अवधिको वारेण्टीसहितको वस्तु बजारमा बिक्री गरेको निष्कर्ष निकालेको छ। तर, वारेण्टी सर्टिफिकेटमा सार्वजनिक विज्ञापनभन्दा फरक तथा उपभोक्तालाई प्रभाव पार्ने गरी थप सीमितता राखिएको कार्यलाई अदालतले उचित नमानेको हो।
यो फैसलाले ठूला ब्रान्डले विज्ञापनमा गर्ने गुणस्तर र वारेन्टीका दाबी केवल बिक्री बढाउने प्रचार मात्र नभई उपभोक्ताप्रतिको जिम्मेवारीसँग जोडिन सक्ने स्पष्ट संकेत दिएको छ। त्यसैले प्रश्न उठेको छ—‘७ वर्ष टिक्छ’ भनेर विश्वास दिलाएर उपभोक्ताबाट महँगो मूल्य असुल्ने, तर केही महिनामै रङ खुइलिएपछि जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको अन्त्य कहिले होला?
स्मरणीय छ केही बर्ष अघि बर्जर पेन्टले अल गार्ड्को ६० लिटर किन्दा १० ग्रामको चादिको सिक्का उपहार दिने घोषणा गरेको थियो तर उपभोक्ताले शङ्का लागि शिक्का परिक्षण गराउदा चादिको सिक्कामा फलामको मिसावट भेटिएको थियो । त्यति मात्र होइन बर्जर लगायतका रङ हरुमा कानुनले तोके भन्दा बढी नाफा राखी मूल्य लेखी कालाबजारी गरेको कुरा सार्बजनिक भएको थियो । पछि प्रशासनले बजार अनुगमन गर्दा उक्त कुरा पुष्टि भएको थियो । कम्पनी मूल्य र बिक्रि मुल्यका बीचमा दोब्बर बढी रहेको थियो जबकि २० प्रतिशत बढी नाफा खानुलाइ कालाबजारी गरेको ठहर हुन्छ । शतप्रतिशत नाफा लिएर मुल्याङ्कित गर्दा पनि कार्बाहिबाट जोगिदै आएको थियो।
बर्जर एन्ड निकल्सन कम्पनिले उत्पादन गरेको बर्जर ब्रान्डको कल बिक्रेताहरु अहिले टाउको समातेर बसेका छन । बुकिङ भैसकेको अर्डर धमाधम फिर्ता हुन थालेको छ । बजारमा करोडौ फसेको रकम उठ्न बाकी छ तर उत्पादित रङको गुणस्तरमा प्रश्न उठि उपभोक्ता अदालतले क्षतिपूर्ति दिन फैसला गरेपछी बर्जर रङ बिक्रेताहरु सोचाइमा परेकाछन । गुणस्तरमा मुद्दा हारेपछी त्यसको असर सबैतिर पर्ने निस्चित प्राय रहन्छ । गुणस्तरको सुनिस्चितता कसरी दिन सक्ला यो यक्ष प्रश्नको जवाफ खोजिएको छ ।


प्रतिक्रिया दिनुहोस्