Prabhu Bank Ad

नेपाली विरताको इतिहास कहाँ छ ?

सराङकोट न्यूज
22 August, 2021 2:05 pm
रेशम शर्मा बस्ताकोटी
रेशम शर्मा बस्ताकोटी

प्रथम र द्वितीय विश्वयुद्धको समयमा नेपाली फौजले अंग्रेजसँग युद्ध गरे । त्यो समयमा नेपाली युवा चार लाखसम्म सेनामा भर्ना भएका थिए । भारत स्वतन्त्र भए पछाडि अंग्रेजले केही गोर्खाली फौज आफू्सँगै लगेको थियो । अंग्रेजले आफ्नो शत्रु ठानेको गोर्खा फौज बलभद्र सिंह गुरुङ साथीहरूको साहसी कदमको विरताबाट अंग्रेज सरकार प्रसन्न भई वीर गोर्खाली भन्ने सम्मान दिएको थियो । १८१४ देखि १८१६ सम्म भारतमा अंग्रेजी फौज ४६ हजार ६ सय २९ र नेपाली १६ हजार फौज थियो भन्ने कुरा दिलबहादुर के.सी पृथ्वीनारायण क्याम्पस पोखराबाट प्रकाशित हुने गरेको राष्ट्र आवाज पत्रिकामा उल्लेख गरेका छन् ।
श्री ५ बडामहाराज पृथ्वीनारायण शाहले नेपालका गुरुङ मगरको समुदायभित्र उचित मूल्याङ्कन गरी सुब्बा, सुवेदार, कप्तान, दुर्गापाल, सरदार र थप विर्ता तथा भावि सन्ततीका लागि भरोट दिने गरेको पाइन्छ । गुरुङ समाजमा दूरदर्शी विद्वान्हरू त्यो बेला पनि थिए वीर सम्शेर राणाले रिकुट सकल दर्जामा नेपाली युवा भर्ना गर्न आदेश हुँदा १८१४ देखि १८१६ सम्म २२ सय नेपाली भर्ती भएका थिए । जसमध्ये प्रायः गुरुङ मगर नै रहेका थिए भन्ने इतिहासमा पढ्न पाइन्छ ।
पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्दा मागल गुरुङको सहयोग थियो भने कीर्तिपुरको पहिलो युद्धमा पिठू गुरुङले वीरगति प्राप्त गरे । १८१६ असार २१ गते शिवपुरीको विजयमा देव्या गुरुङले सक्रिय भूमिका खेले । सरदार वंश गुरुङले सिन्धुली कब्जा गरेको हुँदा वडामहाराज प्रसन्न भई (लड्का) भन्ने सम्मान गरेको पाइन्छ । श्री ५ रणबहादुरका सेवक केसर गुरुङ उनका पिता जया गुरुङ १८४९ देखि पौष ९ गतेसम्म दरबारको द्वारपाले रहेका थिए । भोटसँगको युद्धमा कास्कीका गुरुङलाई रेखदेखको जिम्मा दिइएको थियो । १८४९ को युद्धमा भने अङ्गत घले र पिठूवरलामाले भाग लिएका थिए । १८६२ मा प्रलाद गुरुङलाई सुर्खेत तैनाथीसहितको जिम्बा थियो भने काँगडातर्फ केसौ गुरुङलाई तैनाथी दिइएको पाइन्छ । काजी अम्मरसिंह थापाका साथ प्रलाद गुरुङका छोरा सु हिरा गुरुङ सु विल गुरुङ रहेका थिए । १८६२ को युद्धमा सु.प्रलाद गुरुङहरूले वीरगति प्राप्त गरे । श्री ५ द्रव्य शाहबाट गुरुङहरूलाई (उमरा पद) र श्री ५ रणबहादुरबाट (द्वारेपद) द्वारा सम्मान गरेका थिए । यसरी सम्मान पाउनेमा गुरुङ मगर थापा, राई, क्षेत्री सबै समुदाय देखिन्छन् ।
अन्तर्राष्ट्रिय युद्धकलामा कार्यरत भई इतिहासमै उच्च सम्मानबाट विभूषित हुने कुलबहादुर थापा पर्वत थानबहादुर थापा गुल्मी, नेत्रबहादुर थापा राई, लसमन गुरुङ चितवन, गजे घले गोर्खा वारपाक, अगनसि राई, भानुभक्त गुरुङ गोर्खा, शेरबहादुर थापा तनहूँ तुलबहादुर पुन म्याग्दी, थमन गुरुङ सिम्ला, रामबहादुर लिम्बु दमक रहेका थिए । यसरी विभूषित हुनेमध्येका रामबहादुर लिम्बु अझै जीवित हुनुहुन्छ । यस्ता वीर नेपालीहरूले अन्तर्राष्ट्रिय जगतमा आफ्नो बहादुरी देखाइदिए जसले गर्दा नेपाल र नेपालीको विरताको उच्च सम्मान संसारभर छरिएको सर्वविधितै छ । सूर्यचन्द्र धर्ती रहँदासम्म यो सम्मान इतिहासका पानापानामा अब्बल रहने हुँदा वीरयोद्धाहरूलाई सम्मान गर्न नेपाल र नेपालीले भुल्न हुँदैन ।
वर्तमान अवस्थामा नेपाली विरताको इतिहास कहाँ छ भनेर खोज्नु पर्ने भएको छ । वीर गोर्खालीका सन्ततिहरू कता हराए ? आफ्नो राष्ट्रियता, स्वाधिनता अखण्डता जोगाउनका लागि किन अलमलमा परे ? किन एकजुट हुन सकिरहेका छैनन् ? नेपाल आमालाई अहिले अत्यन्त वेदना गइरहेको छ । कस्तुरीले बिना खोजे सरी राष्ट्रवादी किन र के का लागि भौतारिएका छन् ? यिनीहरूमा आत्मीय भावना त भएन भएन तर राष्ट्रियताका लागि एकै विचार हुनु पर्ने, एकै ठाउँमा उभिनुपर्नेमा त्यो हुन नसक्नु हामी सबैका लागि दुर्भाग्य भइरहेको छ । यसले राम्रो नतिजा निकाल्दैन भन्नेमा हामीले राम्ररी बुझ्नुपर्छ ।
अदृश्य शक्तिको चलखेल र तिनैको हालि मुहालीले हाम्रा नेताहरूको विचारमा भ्रमको खेती मौलाएको छ । त्यही फोहरको फैलाइमा आम नेपाली रमाइरहेका छन् । यस्तै रहिरहने हो भने हामी तोरी पेल्ने कोल घुम्दा झैँ घुमिरहेका छौं । ढिलोचाडो पिसिनै कर लाग्छ । पुर्खाले त्यो दुःखले विशाल नेपाल निर्माण गरेर छोडे तर आज हाम्रो नेपाल दलाल, सामन्त, चोर, बदमास र ठगको फुटबल खेल्ने मैदान जस्तो भएको छ । अब त्यसतर्फ ध्यान जानुपर्ने हुन्छ । हाम्रोे राष्ट्र र राष्ट्रियतालाई रंगमञ्च बनाउन दिनु हुँदैन । सकरात्मक चिन्तन, राष्ट्रिय अखण्डता र नेपाली स्वाभिमान झुकाउनका लागि विदेशीले बारबार आक्रमण गरिरहँदा मुकदर्शक भई उनीहरूकै काखमा बसेर नेपाल आमाको छातीमा लात मार्नु राम्रो होइन । जुन राष्ट्र र जनताका लागि असह्य हुने कुरामा हामीले चिन्तन गर्नैपर्छ । त्यसैकारण आजको अवस्थाको नेपाल निर्माणका लागि हिजो नेपाली सेनाले नै उल्लेख्य बहादुरी देखाएकाले अब पनि आफूमा रहेको अन्तरनिहित क्षमताको प्रदर्शन गर्दै आफूलाई प्राप्त अधिकारको प्रयोग गरी राष्ट्र र राष्ट्रियताको रक्षाका लागि आचार, नियम र कानूनभित्र रहेक सबै पक्षलाई अनुकूल परिपालन गरी राष्ट्र र जनताको रक्षा गर्नका लागि आवश्यक परेको खण्डमा ऐतिहासिक कदम चल्न पर्ने अवस्था आएको अनुभूति आम नेपाली नागरिकले गरेका छन् । अब आमा नेपालीले नेपाली सेनातर्फ फर्केर हेर्नु बाहेक अन्य उपाय नभएको विभिन्न विद्वान्, राष्ट्रवादी जनता र प्रवासी नेपालीले स्मरण गरी रहेको देखिन्छ । यसैले नेपाली विरताको इतिहासलाई जीवन्त राख्न देशलाई सदासदा फुटबल मैदान बनाउन नदिनका लागि आवश्यक परेको बेला नेपाली सेना जुर्मुराउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्: