२०८३ जेष्ठ १२
०६१४४५०००, ९८५६०३३३९१

गण्डकी प्रदेश प्रमुखनै डिजेल चोरीमा संलग्न

नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजाँदै गरेको ट्यांकर जिल्ला प्रशासन कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।

निगमको डिपोबाट डिजेल लोड गरी पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग २ ख ८३६ नम्बरको ट्यांकर कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेशमा नियन्त्रणमा लिएको हो ।

इन्धन चोरीमा संलग्न भएको भेटिएपछि कास्की प्रशासनले नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख चित्तरञ्जन दासलाई कारबाही गर्न अख्तियारलाई पत्राचार समेत गरेको छ ।

डिपोबाट १२ हजार लिटर डिजेलको बिल काटेर बाहिरिएको ट्यांकरमा १५ हजार लिटर डिजेल भेटिएपछि कारबाही सिफारिस गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

शुक्रबार डिपोले पश्चिमाञ्चल पेट्रोल पम्पका लागि ग२ख ८३६ नम्बरको ट्यांकरमा १२ हजार लिटर डिजेल बिक्री गरेको थियो । तर, डाँडाकोनाक प्रहरी चौकीमा डिपोबाट गएको ट्यांकरको नापजाँच गर्दा ट्यांकरमा १५ हजार लिटर डिजेल भेटिएको प्रजिअ घिमिरेले बताए ।

कम परिमाणको बिल जारी गरेर धेरै इन्धन बिक्री गरेको सूचनापछि कारबाही अघि बढाइएको हो ।

डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न (डिप लिने) कार्यालयका अपरेसन इन्चार्ज परशुराम अधिकारीलाई नदिई दासले आफै गर्ने गरेका थिए ।

बिहीबार नियन्त्रण गरिएको ट्यांकरको चलान, बिल र गेटपास समेत दासले आफै सही गरेर पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्