
बिनोद चुल्याजु
देश उस्तै छ, तर नेपालीको मुटुबाट ‘भरोसा’ हराउँदै गएको छ। हरेक बिहान जाग्ने वित्तिकै देशको माटो सम्झने होइन, विदेशको तलब सम्झने बानी बसिसक्यो। किन? के देशले सम्भावना गुमायो त? कि हामीले विश्वास गुमायौं?
शायद देशले हामीलाई धोका दिएको होइन, हामी नै निरन्तर धोका खाँदै गयौँ सिस्टमबाट, आश्वासनबाट र आफ्नै सपनाबाट। कहिले सरकार फेरिए, कहिले नीति, तर फेरिएन हामी भित्रको पीडा जो बेरोजगारी, अन्याय र निराशाका शब्दहरूमा बाँधिएर बसेको छ। अब त देश प्रेम पनि फोटो खिच्दा प्रयोग हुने आदर्शबाची शब्द जस्तो भएको छ मनले होइन, मुखले मात्र दोहोर्याइने। तर के साँच्चै देशमा सम्भावना छैन? कि हामी सबै मिलेर त्यो सम्भावनामा माटो हाल्दैछौँ? शिक्षा छ, जागिर छैन,हाम्रो देशमा विद्यार्थी पास हुन्छन्, तर स्थायी हुँदैनन्। रातभर पढेर, कडा मेहनतले संघर्ष गरेर प्राप्त गरेको प्रमाणपत्र, अन्त कुनै फोल्डरमा थन्किन्छ किन भने रोजगारीको ढोका पहुँचवालालाई मात्र खुल्छ। जो घुस दिन सक्दैन, ऊ सपना मारेर घाममा पसिना बगाउने काममा विदेश हानिन्छ। शिक्षा होइन, श्रम र सम्बन्ध निर्णायक बन्दै गएको छ।
राजनीति नेतृत्व होइन, निराशाको स्रोत कहिल्यै नसकिने आरोप प्रत्यारोप, दल बदल, सत्ताको खेल। देशको भविष्य निर्माण गर्न नेताहरू लागेका होइनन्, आफ्नै भब्य भविष्य बनाउँदैछन्। युवाहरूको मनमा अब प्रश्न जागेको छ देश प्रेम गरेर के पाइन्छ?
देश बनाउन कोही लागेको छैन, देश दोहनमा सबै लागेका छन् भन्ने भावनाले भरोसालाई गाल्दै लगेको छ। भ्रष्टाचार सपनाको कफन कहिले पासपोर्ट बनाउन, कहिले अस्पतालमा बेड पाउन हरेक ठाउँमा पैसा देखाऊ, सेवा पाऊ भन्ने प्रवृत्ति। इमान्दार बन्ने सपना देख्नेहरू मूर्ख ठानिन्छन्। यस्तो समाजमा कसरी पलाउँछ आत्म गौरव , आत्मा सम्मान ? कसरी बढ्छ देशप्रतिको आस्था?
विदेश बाध्यता कि विकल्प? आजको युवा विदेश जान चाहँदैन ऊ बाध्य पारिएको हुन्छ। देशले इज्जत दिंदैन, अवसर दिंदैन, आश्वासन दिन्छ जुन कहिल्यै पूरा हुँदैन। मलेसिया, कतार, युके,अमेरिका,जापान जहाँ पनि उसले श्रम बेच्दा कम्तीमा पैसा त पाउँछ। तर उसको मन त अझै नेपालमै रोइरहेको हुन्छ बाउ आमाको याद, सन्तानको सम्झना गाउँको ठाउँको मनपर्ने साथीको आफ्नो संस्कृतिको। देश उसले छोडेको होइन उसलाई छोड्न बाध्य बनाइएको हो।
अब कहिले सोच्ने अब कसले सोच्ने कि इतिहासमा गएर देश विलिन भए पछि सोच्ने अब पनि यो बिषयलाई गहिरो रुपमा देश निर्माण गर्ने नितिकर्ताले सोचेनन् भने हामी नेपाली र हाम्रो नेपाल सदा सदाको लागि दन्त्यकथाको देश बन्नबाट कसैले रोक्न सक्ने छैनन्।
प्रतिक्रिया दिनुहोस्