नेपालको कानुनले शिक्षण सस्थाको १ सय मिटर वरिपरि धूम्रपान मध्यपानको कारोबार गर्न बर्जित गरेको छ । तर नेपालको पर्यटकीय नगरी पोखरामा पटकपटक कानुन उल्लंघन गरिदै आएको पाइन्छ । राज्यको अनुगमन गर्ने निकायले आँखा चिम्म गरिदिने गरेका कारण विभिन्न मेला र पर्बका नाममा आयोजक र ब्यापारीहरुले कानुन मिचेर निषेधित क्षेत्रमा ब्यापार गरिदै आएको छ ।
यस्तै पछिल्लो उदाहरण हेमजा आलु महोत्सवमा देखिएको छ । हेमजा आलु महोत्सब बिष्नु पादुका माविको चौर ( खेल मैदान) परिसरमा आयोजना गरिएको छ । एस इ इ परीक्षा सकिएको भोलिपल्ट चैत्र २७ गतेबाट बैशाख ५ गते सम्म आयोजित राष्ट्रिय हेमजा आलु महोत्सवमा कानुनले निषेध गरेको रक्सी बियरको खुल्लम खुल्ला बिक्रीवितरण र सेवन गरिएको छ । बिष्णुपादुका माध्यमिक बिध्यालयको मुल भवन अगाडिको चौरमा राखिएको दिदी बहिनी खाजा घर र विशाल खाजा घरको बोर्ड टागेर थापीएको रेस्टुरेन्टमा रम , रक्सी र बियरको बिक्रीवितरण र सेवन गरिएको पाइएको छ । उक्त रेस्टुरेन्टमा धूम्रपान समेत गर्ने छुट रहेको थियो ।

सरकारी बिध्यालय परिसरमा आयोजित आलु महोत्सवका आयोजकले सरकारारी कानुनको धज्जी उडाएको प्रतक्ष नमुना हो । अझ उदेक लाग्दो कुरा त के छ भने उक्त महोत्सवको उद्घाटन पोखराका मेयर धनराज आचार्यले गरेका थिए । महानगरलाइ सुशासनको कार्यान्वयन गराउने प्रमुख ब्यक्ति मेयरलाइ नै प्रमुख अतिथि बनाएर आयोजकले गलत फाइदा उठाउने राम्रै जमर्को गरेको छ । मेयर धनराज आचार्यले महोत्सवको स्वीकृति दिदा राज्यले निषेध गरेका कार्य नगर्ने सर्त राखेको हुन्छ तर त्यो केबल औपचारिकताको लागि अक्षरमा मात्र सिमित हुन पुगेको छ । मेयर आचार्यले महोत्सव उद्घाटन गरेर खाजा खादा सम्म बिध्यालय परिसरमा खोलेका रेस्टुरेन्टमा राखिएका रक्सी र बियरका बोत्तलमा आँखा नपुगेको हो या नदेखेको नाटक गरेको हो त्यो भने रहस्यकै गर्भमा छ ।
बिध्यालय भित्र आयोजित मेलामा महानगरका मेयर मात्र होइन प्रवक्ता समेत रहेका वडा अध्यक्ष मोति तिमल्सिना , कृषि महाशाखा प्रमुख मनहर कडरिया , शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्य समेत उपस्थित थिए । सुरक्षामा नगर प्रहरी , नेपाल प्रहरीहरु समेत थिए तर त्यो अबैध व्यापार रोक्न कसैको आँखा पुगेन । कृषि उत्पादन आलुको प्रबर्द्धनका लागि बिध्यालयको खेलमैदान परिसरमा आयोजित महोत्सवमा धूम्रपान मध्यपानको खुल्लेआम ब्यापर गर्न दिदा बिध्यार्थिहरुमा नकारात्मक प्रभाव पर्न जाने मनोसामाजिक बिज्ञहरु बताउछन । स्कुल भित्रै रक्सी बियर चुरोट बिक्रीवितरण तथा सेवन गर्न दिइदा भविष्यका कर्णधार बालबालिकाहरु कुलतमा जान बल पुग्ने उनिहरु बताउछन ।
गत बर्षहरुमा पनि महोत्सव आयोजकले रक्सी बियर कम्पनिहरुसङ्ग स्पोन्सर सौदाबाजि गरेर ती कम्पनिका उत्पादनको प्रचार गर्दै बोर्ड ब्यानर , स्वागत गेट बनाउने गरेका थिए । त्यसखाले गतिबिधिको मिडियाले रिपोर्टिङ गरेपछी बल्ल प्रहरीले हटाउने गरेको थियो जुन कुरा यसपालिको १४ औ आलु महोत्सवमा पनि सच्चिएन बरु निस्फिक्री बिक्रीवितरण र सेवनको चाजोपाजो मिलाइयो ।

पैसाको लागि कानुन मिचेर गरिने गतिविधिका बारेमा राज्यले अनुमती दिनुनै कानुनको खिलापमा गरिएको कार्य हुनेमा दुइमत नहोला । सरकारी स्कुलको चौरमा आयोजित मेला हेर्न प्रवेश गर्न सर्बसाधारण नागरिकबाट प्रती टिकट १०० रुपैया र बिध्यार्थिबाट ५० रुपैया असुल गरिदै आइएको छ । केही बर्ष अघिको आलु महोत्सव आर्थिक अनियमितता भएको भन्दै अख्तियार र जिल्ला प्रशासन कार्यालयले छानबिन गरेको थियो । यसबारेमा कास्किका प्रजिअ रुद्रादेवि शर्माले कानुन बिपरित कारोबार गरेको भए छानबिन गरि तत्काल कारबाही गरिने बताइन ।
मेलामा भैरहेको निषेधित बस्तुको कारोबार र सेवनको बिषयमा कसले गर्ने अनुगमन नियमन र कारबाही जहाँ स्थानिय सरकार प्रमुखले नै उद्घाटन गरेकाछन । संघीय सरकारको प्रतिनिधि सिडियो कार्यालयले कस्तो कदम चाल्छ त्यो भने प्रतिक्षाको बिषय बनेको छ । बालेन सरकारले बिध्यालय भित्र हुने धुम्रपान मध्यपान सहितको महोत्सवका बारेमा कस्तो कदम चाल्ला ? कृषि मेलाका नाममा सामुदायिक बिध्यालय परिसरमा भैरहेका मेला महोत्सब मेयरले उद्घाटन गर्दैमा आयोजकले कानुन मान्न पर्दैन ? मेयर जस्तो जिम्मेवार ब्यक्तिले स्वीकृती दिदा , उद्घाटन गर्दा कानुनको ख्याल गर्नु पर्दैन ? यसबाट कानुनको धज्जी उडेन र ? हेर्दा सामान्य लाग्ने यो प्रकरणले समाजलाइ ठूलो असर पार्छ , कानुनले नदिने , समाजले लज्जाबोध महशुस गर्ने बिध्यालय परिसरलाइ भट्टी पसल बनाउने , प्रचारका सङ्केत बोर्ड ब्यानर र स्वागत गेट राख्ने खेललाई तत्काल नियमन गरिनुपर्ने नागरिक समाजका अगुवाहरुले खबरदारी गरेकाछन । कृषि महोत्सबलाइ कृषिमय बनाउनुपर्ने तर्फ राज्यको ध्यान कहिले जान्छ ?

प्रतिक्रिया दिनुहोस्