२०८३ भाद्र १६
०६१४४५०००, ९८५६०३३३९१

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन : शोभा गौतम प्यानलद्वारा १४ बुदे घोषणापत्र सार्वजनिक

भाद्र २० र २१ गते हुन गैरहेको पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनका लागि शोभा गौतम नेतृत्वको प्यानलले व्यवसायी तथा उद्योगीका समस्या समाधान, लगानी प्रबर्धन र संघलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित १४ बुदे घोषणापत्र सार्वजनिक गरेको छ।
गौतम प्यानलले घोषणापत्रमा आफूहरू निर्वाचित भएमा सार्वजनिक गरिएका कार्यक्रम तथा प्रतिबद्धतालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने दाबी गरेको छ। घोषणापत्रमा उद्योग–व्यवसाय क्षेत्रको विकाससँगै डिजिटल सेवा, युवा तथा महिला उद्यमशीलता, लगानी आकर्षण, पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको छ।
घोषणापत्रको पहिलो प्राथमिकतामा संस्थागत सुदृढीकरण र सुशासन राखिएको छ। प्यानलले पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री संघ निर्माण गर्ने, सदस्यको सुझाव तथा गुनासो प्रभावकारी रूपमा व्यवस्थापन गर्ने तथा नियमित कार्यसम्पादन, आर्थिक प्रतिवेदन र वित्तीय पारदर्शितालाई संस्थागत गर्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, सदस्यका लागि डिजिटल सेवा विस्तार, स्मार्ट सदस्य परिचयपत्र तथा अनलाइन सेवा प्रणाली सञ्चालन, कानुनी–कर तथा व्यवसाय परामर्श सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ। व्यवसायीलाई सहयोग पुर्‍याउन परामर्श डेस्क स्थापना गर्ने घोषणापत्रमा उल्लेख छ।
उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनलाई अर्को महत्वपूर्ण एजेन्डाका रूपमा प्रस्तुत गरिएको छ। पोखरालाई पर्यटन राजधानीका रूपमा थप प्रवद्र्धन गर्दै कृषि–पर्यटन र स्थानीय उत्पादनलाई जोड्ने, ‘Made in Pokhara’ अभियान विस्तार गर्ने तथा स्थानीय उत्पादनको ब्रान्डिङ र बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता प्यानलले जनाएको छ। पर्यटन व्यवसायको दिगो प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला आयोजना गर्ने र सरकार, निजी क्षेत्र तथा समुदायबीच सहकार्य बढाउने योजना पनि घोषणापत्रमा छ।
प्यानलले पोखराको विकास तथा लगानी प्रवद्र्धनका लागि सरकारसँग प्रभावकारी समन्वय र सहकार्य गर्ने, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने, सार्वजनिक–निजी साझेदारी (PPP) लाई प्रोत्साहन गर्ने तथा उद्योग, व्यापार, पर्यटन र पूर्वाधार विकासलाई गति दिने दाबी गरेको छ।
युवालाई व्यवसायमा आकर्षित गर्न स्टार्टअप प्रवद्र्धन, तालिम, मेन्टरिङ तथा नेटवर्किङका अवसर सिर्जना गर्ने र नवप्रवर्तन तथा उद्यमशीलता प्रवद्र्धन केन्द्र स्थापना गर्ने योजना पनि अघि सारिएको छ। त्यसैगरी महिला उद्यमीका लागि विशेष कार्यक्रम, वित्तीय पहुँच, नेतृत्व विकास तथा क्षमता अभिवृद्धिमा जोड दिने प्रतिबद्धता छ।
घोषणापत्रमा वित्तीय तथा व्यावसायिक सीप विकास अन्तर्गत व्यवसायीका लागि वित्तीय साक्षरता तथा व्यवस्थापन तालिम, लेखा, कर, बैंकिङ तथा लगानीसम्बन्धी व्यावहारिक सीप विकास र डिजिटल मार्केटिङ, एआई तथा ई–कमर्ससम्बन्धी सीप अभिवृद्धिको योजना समेटिएको छ।
कर, बैंक ब्याजदर तथा व्यवसायमैत्री नीतिका लागि प्रभावकारी पहल गर्ने, स्थानीय, प्रदेश तथा संघीय सरकारसँग निरन्तर समन्वय गर्ने र उद्योग–व्यवसायीका समस्या सरोकारवाला निकायमा सशक्त रूपमा उठाउने प्रतिबद्धता पनि प्यानलले जनाएको छ।
डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै संघका अधिकांश सेवा अनलाइनमार्फत उपलब्ध गराउने, मोबाइल एप तथा डिजिटल सूचना प्रणाली विकास गर्ने र सदस्यका लागि सुरक्षित तथा आधुनिक डिजिटल डाटाबेस निर्माण गर्ने योजना घोषणापत्रमा छ।
त्यस्तै, विपद्का समयमा व्यवसाय पुनःस्थापना सहज बनाउने, व्यवसाय बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, हरित व्यवसाय प्रवद्र्धन, फोहोर व्यवस्थापन तथा ऊर्जा दक्षतामा जोड दिने र दिगो पर्यटन तथा उद्योग प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाइएको छ।
गौतम प्यानलले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि विदेशी वाणिज्य दूतावास तथा व्यावसायिक संस्थासँग सहकार्य बढाउने, निर्यात बजार विस्तारका लागि पहल गर्ने तथा अन्तर्राष्ट्रिय अध्ययन भ्रमण र अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
पोखराको पूर्वाधार विकासमा पनि संघले सक्रिय भूमिका खेल्ने प्यानलको दाबी छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण व्यावसायिक उपयोग, सडक, पार्किङ, फुटपाथ तथा व्यावसायिक पूर्वाधार सुधार र औद्योगिक क्षेत्र विस्तार तथा लगानीमैत्री वातावरण निर्माणका लागि पहल गर्ने घोषणापत्रमा उल्लेख छ।
त्यसैगरी, ‘संघ हाम्रो परिवार’ अभियानमार्फत सदस्यबीच संवाद र सहकार्य बढाउने, सदस्यता विस्तार गर्ने, युवा व्यवसायीको सहभागिता बढाउने तथा नयाँ पुस्तालाई संघको गतिविधिमा जोड्ने प्रतिबद्धता प्यानलले सार्वजनिक गरेको छ।
शोभा गौतम प्यानलले घोषणापत्रमा समेटिएका यी कार्यक्रम केवल चुनावी प्रतिबद्धतामा सीमित नरहने दाबी गरेको छ। निर्वाचित भए घोषणापत्रलाई कार्ययोजनामा रूपान्तरण गरी प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने प्यानलको भनाइ छ।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा सार्वजनिक गरिएको घोषणापत्रले व्यवसायीका तत्कालीन समस्या समाधानसँगै संघको संस्थागत सुधार, लगानी विस्तार र पोखराको आर्थिक विकासलाई जोड दिएको देखिन्छ। अब महाधिवेशनबाट नेतृत्व चयन भएपछि सार्वजनिक प्रतिबद्धता कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने विषय भने नयाँ नेतृत्वका लागि मुख्य चुनौती बन्नेछ।
अधिवेशनमा पदाधिकारीको मात्र प्यानल बनेको छ । सदस्यहरुको छुट्टै टिम बनाएर चुनाव लडेकाछन । १० जनाको चुनाव हुने ठाउमा १३ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्