२०८३ भाद्र १९
०६१४४५०००, ९८५६०३३३९१

तीजको भोज छाडेर बाढीपीडितका लागि सहयोग, अम्बिका आमा समूहको अनुकरणीय कार्य

पोखरा । नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई पछिल्लो समय भड्किलो भोजभतेर र खर्चिलो कार्यक्रमसँग जोडेर हेर्ने प्रवृत्ति बढिरहेका बेला पोखरा–१६ अम्बिका टोलस्थित अम्बिका आमा समूहले भने तीज मनाउने रकम बाढीपीडितका लागि सहयोग गरेर अनुकरणीय सन्देश दिएको छ ।
समूहले यस वर्ष तीजमा कुनै भोजभतेर , पार्टी तथा रमाइलो कार्यक्रम नगरी भोटेकोशी बाढीपीडितको पीडामा साथ दिने उद्देश्यले रकम संकलन गरेको हो । संकलित १ लाख ८ हजार ८४५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेकाछन । समुहको अध्यक्ष कृष्ण कुमारी खवास , सचिव बेलमाया राना मगर समेतको अग्रसरतामा
समूहले उक्त रकम जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालमार्फत प्रधानमन्त्री राहत तथा उद्धार कोषमा पठाएको हो ।
बाढीपहिरो तथा प्राकृतिक विपत्तिका कारण धेरै परिवार शोक, पीडा र संकटमा रहेका बेला तीजको नाममा अनावश्यक खर्च गर्नुको सट्टा पीडित परिवारको सहयोगमा हातेमालो गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको आमा समूहका अध्यक्ष कृष्ण कुमारी खवासले बताइन ।
अम्बिका आमा समूहको यो निर्णयले तीज पर्वलाई केवल रमाइलो, गरगहना, भोजभतेर र खर्चसँग मात्र जोड्नु नहुने सन्देश दिएको छ । समाजमा विपत्ति आइपर्दा आफूले गर्ने सानो त्याग र सहयोगले पनि पीडितका लागि ठूलो अर्थ राख्न सक्ने उदाहरण समूहले प्रस्तुत गरेको छ
समूहका दिदीबहिनीहरूले दुःखको समयमा रमाइलो र भोज होइन, आँसु पुछ्ने रुमाल दिनुपर्छ भन्ने मानवीय सन्देशसहित सहयोग गरेका हुन् । उनीहरूको यो कार्यले सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सामूहिक सहयोगको भावना अझ बलियो बनाउन प्रेरणा दिएको छ ।
बाढीपीडितको पीडामा मल्हम लगाउने उद्देश्यले तीजको खर्च कटाएर सहयोग गर्ने अम्बिका आमा समूहका सम्पूर्ण दिदीबहिनीको कार्यलाई कास्किका प्रमुख जिल्ला अधिकारी कुमान सिह गुरुङले धन्यवाद दिएकाछ्न । दिदिबहिनीले गरेको यस्तो कार्य समाजका लागि अनुकरणीय हुने प्रजिअ गुरुङले बताए । स्थानीय स्तरमा समेत प्रशंसनीय र अनुकरणीय रूपमा लिइएको वडा नम्बर १६ का वडा अध्यक्ष अमृत शर्मा तिमल्सिनाले खुसी ब्यक्त गरे । १६ नम्बर वडाका आमा समुह मानविय सहयोगमा नमुना बनेको तिमल्सिनाले बताए ।
पर्व मनाउने क्रममा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा लगाउन सके त्यसले विपद्मा परेका परिवारलाई ठूलो राहत पुग्न सक्छ कास्किका सहायक प्रजिअ चित्राङ्गत बरालले बताए । अम्बिका आमा समुहको यस कार्यले असल सन्देश यस दिएको बरालले बताए ।
दुःखमा साथ, विपत्तिमा सहयोग र पर्वमा संयम—अम्बिका आमा समूहले यस वर्षको तीजमार्फत मानवीय संस्कार प्रस्तुत गरेको छ।
समूहका सहयोगी तथा मनकारी सम्पूर्ण दिदीबहिनीहरूलाई धन्यवादसहित सास्कृतिक पर्व हरितालिका तीजको हार्दिक शुभकामना।

प्रतिक्रिया दिनुहोस्