२०८३ कार्तिक ५
०६१४४५०००, ९८५६०३३३९१

शिक्षासेवी “रुप सर “अब स्मृतिमा …! सोमबार गरियो अन्त्योस्टी

पोखराका अग्रज शिक्षासेवी रुप गुरुङको ८१ बर्षको आयुमा निधन भएको छ । पोखरा १६ दिप निवासी गुरुको ८१ वर्षको उमेरमा शुक्रबार साँझ ग्राण्डि हस्पिटल काठमाण्डौमा उपचारका क्रममा निधन भएको हो ।

लामो समय पोखराको शैक्षिक क्षेत्रमा विताएका गुरुङको सोमबार धार्मिक परम्परा अनुसार शान्ति दीप घाटमा अन्त्येष्टि गरिएको छ ।अन्त्येष्टि अघि दिपस्थित निवासबाट शव यात्रा गरिएको थियो ।शव यात्रामा पोखराका शिक्षासेवी, बिभिन्न राजनितिक दलका नेता, सामाजिक संघ संस्थाका व्यक्ति तथा बाक्लो मात्रामा स्थानीयको उपस्थिती रहेको थियो । स्वर्गीय गुरुङ प्रति नेकपा एमालेका केन्द्रीय सदस्य रश्मी आचार्य, एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी, नेता हितकाजी गुरु, एमाले क्षेत्र नंं २ का सचिव झपट रानाभाट,पोखरा महानगर कमिटीका अध्यक्ष जीवनप्रसाद आचार्य लगायतका राजनितिक, समाजसेवी र शिक्षासेवीले श्रद्धाञ्जली अर्पण गरेका थिए । पोखराको सरकारी तथा निजि विद्यालयमा सेवा गरेका गुरुङ ‘रुप सर’ को नामबाट परिचित थिए । जीवनको ६ दशक शिक्षा क्षेत्रमा बिताएका उनले वि.सं.२०२२ सालमा भद्रकाली मा.विबाट शिक्षण पेशा शुरु गरेका थिए ।

विज्ञान र गणित विषयमा दख्खल राख्ने गुरुङले कन्या स्कुल , नवप्रभात स्कुलमा पनि अध्यापन गराएका थिए । निजि शैक्षिक संस्था शिशु निकेतन माविलाई उत्कृष्ट बनाउन विशेष भुमिका खेलेका उनले मिलिनियम बोडिङ्ग स्कुलको स्थापना गरी शैक्षिक सेवामा थप क्रियाशील बनेको परिवारिक स्रोतले बताए । त्यसपछि पोखराको दिपमा उनले सूर्योदय बोर्डिङ स्कुलको प्राचार्यको रुपमा सेवा गरेका थिए ।सो विद्यालय अहिले उनका छोरा राजेश गुरुले हेर्दै आएका छन् । स्वर्गीय गुरुङका श्रीमती नरशोभा, दुई छोरा राजेश र अभिनास तथा छोरी अञ्जली छन् ।

जेठा छोरा राजेश पोखरा १६ का जनप्रतिनिधि समेत भएका थिए भने कान्छा छोरा डा. अभिनाश ग्राण्डि इन्टरनेशनल हस्पिटलमा बरिष्ठ चिकित्सकको रुपमा कार्यरत रहेका छन् । गुरुङको निधनप्रति त्यस क्षेत्रका बिभिन्न संघ संस्थाले दुख व्यक्त गर्दै, पोखराले एक असल शिक्षासेवी र सामाजिक व्यक्तित्व गुमाएको भन्दै उनको योगदानको स्मरण गरेका छन् । शिक्षासेवी गुरुङ लमो समय देखि मृगौला रोगबाट पिडित थिए । डाइलासिस गरिरहदा पनि उनी पढाउने गर्दथे । उनको लगाबले शिक्षाको सेवामा अनुकरणीय योगदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्