२०८२ असार ३२
०६१४४५०००, ९८५६०३३३९१

सडकका डिभाइडर जसले भत्कायो उसैले बनायो

सार्वजनिक सडकमा राज्यकोषबाट निर्मित रोड डिभाइडर भत्काएर आफ्नो व्यवसायिक अभिष्ट पुरा गर्न खोज्ने सुलभ डिपार्टमेन्टल स्टोर्सको मनोमानी कार्य एक रातमै उल्टिएको छ । जरेवरबाट लेकसाइड जाने मुल सडक नारेस्वर नजिकको गार्डेन सहित डिभाईडर भत्काएर सुलभ डिपार्टमेन्टल स्टोर्सले आफ्नो प्रवेशद्धार सिधा पर्ने गरी पास–वे निर्माण गर्ने कार्य गत शुक्रवार अघि वढएको थियो ।


सार्वजनिक मुल सडकको संरचना तोडफोड गरी बाटो खोल्न खोजेको भन्दै स्थानिय व्यक्ति र संघ संस्थाले तिव्र विरोध जनाएपछि ६ नम्वर वडा कार्यालयले पास–वे निर्माण कार्य रद्द गरी पूर्ववत डिभाइडर वनाउन निर्देशन दिन वाध्य भएको थियो ।
लेकसाइडमा रेष्टुरेण्ट व्यवसायीहरुद्धारा संचालित सुलभ सहकारीको मातहत संचालित उक्त डिपार्टमेन्टल स्टोर्सले राज्यको निकायसँग कुनै अनुमती नलिई आफ्नो अनुकुल हुने गरी सडकको डिभाइडर तोडेको थियो । डिभाइडर भत्काए लगत्तै स्थानीयले आक्रोस व्यक्त गरेका थिए । कास्की प्रहरीले वडा अध्यक्षलाई डिभाइडर तत्काल वनाउन लगाएर स्थानिय अमनचयन कायम राख्न भनेको थियो ।

Advertisement:

करिव २० फिट जति लामो डिभाइडर भत्काइएको थियो । सर्वत्र आलोचना र विवाद आएपछि शनिवार र आइतवार दुई दिनमै पूर्ववतझै डिभाइडर निर्माण गरिएको छ । धुपीका विरुवा समेत रोपिएको र अव दुवो रोप्न वाँकी रहेको देखिन्छ । राज्यले लगानी गरेको सार्वजनिक भौतिक संरचना भत्काएर सामुदायिक र सामाजिक कार्यमा अनुकुल हुनेगरी र दुर्घटना नहोस् भन्ने हेतुले सिधा पर्ने गरी निकास खोल्न खोजेको संस्थाका अध्यक्ष विश्वराज पौडेलले बताए । उनले भने –‘यसमा कुनै व्यक्तिगत स्वार्थ थिएन ।’ लिखित अनुुमती र सम्वन्धीत निकायलाई जानकारी नदिई काम गर्दा आर्थिक र सामाजिक दुवै क्षति गराएको छ । यसबाट कानून र जनता भन्दा माथि कोही पनि हुन सक्दैनन् भन्ने सवक यो प्रकरणले सिकाएको छ ।

प्रतिक्रिया दिनुहोस्