२०८३ मंसिर ४
०६१४४५०००, ९८५६०३३३९१

नेपाल औषधि व्यवसायी संघको आसन्न निर्वाचन तथा अधिवेशन स्थगित , सहभागीहरु घर फर्कदै

अदालतको एकै झट्काले नेपाल औषधि व्यवसायी संघको आसन्न निर्वाचन तथा अधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित भएको छ। उच्च अदालत पाटनले संघको मतदाता नामावली, निर्वाचन कार्यतालिका तथा सोसम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै निर्वाचन रोकिएको हो।
नेपाल औषधि व्यवसायी संघको १५औँ राष्ट्रिय अधिवेशन यही मंसिर ५ र ६ गते कर्णालीको सुर्खेतमा हुने कार्यतालिका तय गरिएको थियो। तर, अधिवेशनको तीन दिनअघि अदालतले प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएपछि निर्वाचन तत्काललाई स्थगित भएको हो।   
निवेदक लक्ष्मी प्रसाद तिम्सिनाले जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल औषधि व्यवसायी संघको केन्द्रीय कार्यालय, संघको निर्वाचन समितिको केन्द्रीय सचिवालय, प्रमुख निर्वाचन अधिकृत शिवराज धिताल तथा केन्द्रीय सहायक कार्यालय प्रमुख गणेश पुडासैनीलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण मुद्दामा अदालतले यस्तो आदेश दिएको हो। 
निर्वाचन कार्यक्रम यथास्थितिमा राख्नु भन्ने अदालतको आदेश आएपछी सुर्खेतमा भेला हुन देशभरबाट गएका उम्मेदवार तथा प्रतिनिधिहरु घर फर्कन थालेकाछन । प्रमुख निर्वाचन अधिकृत अधिबक्ता शिबराज धिताल र संघका महासचिव श्रीधर खनालले एक सूचना जारी गर्दै निर्वाचन कार्यक्रम यथास्थितिमा राख्ने बताएकाछन । मङ्सिर ८ गते अदालतले गर्ने निर्णयले बल्ल निर्क्योल गर्ने छ । ४ गते मनोनयन कार्यक्रम भएकोले अधिकास जिल्ला प्रदेश र केन्द्रबाट आज ३ गते नै त्यसतर्फ गएका थिए ।

प्रतिक्रिया दिनुहोस्