
मणिपाल अस्पतालमा कार्यरत कोभिड पीडित कर्मचारीहरुले कोभिड विमा वापतको रकम पाउन सकस परेको छ । अस्पताल जस्तो जोखिम क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मीहरुलाई जोखिम वापतको क्षतिपूर्ति राहत दिने उद्देश्यले कोरोना विमा गरिएपनि पोजेटिभ भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले विमा नीति वमोजिम पाउनु पर्ने विमा दावी रकम पाउन सकेका छैनन् ।
मणिपाल अस्पतालका विमा गरिएका स्वास्थ्यकर्मी र कर्मचारीहरु मध्य ४९ जना कोरोना पोजेटिभ भई नेश्नल इन्स्योरेन्स कम्पनी लिमिटेड पोखरा शाखामा विमा दावी भुक्तानी माग गरिएकोमा ४२ जना स्वास्थ्यकर्मी कर्मचारीको भुक्तानी मणिपाल शिक्षण अस्पतालको खातामा पठाइसकिएको विमा कम्पनी पोखरा शाखाका प्रवन्धक सुनिल काजी श्रेष्ठले वताए ।
४२ जना विमितको ४२ लाख रुपैयाँ मणिपालको खातामा जम्मा गरिएपनि कोरोना पोजेटिभ पीडित विमितहरुले कति पनि पैसा पाएका छैनन् । नेश्नल इन्स्योरेन्स कम्पनी पोखरा शाखाले विमितलाई अफिसमै वोलाएर विमाको डिस्चार्ज सर्टिफिकेटमा हस्ताक्षर गराएको भएपनि विमा दावी रकम भने मणिपाललाई पठाएको हो । तर मणिपालले पीडित विमितहरुलाई पुरै रकम दिन आलटाल गरिरहेको छ ।
मणिपालले आफ्नो अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुको विमा गर्न प्रिमियम रकममा रु. ३ सय रुपैयाँ सहयोग गरेको र वाँकी ५० प्रतिशत ३ सय रुपैयाँ विमित कर्मचारी स्वास्थ्यकर्मी स्वयम्ले वेहोरेका थिए। विमा दावी रकम प्राप्त भएपछि मणिपालले विमितलाई रकम उपलव्ध नगराउने मनसाय राखेको छ यदि दिनै परे ५० हजार रुपैयाँ मात्र दिने योजना गरिरहेको छ ।
विमितले आफ्नो स्वास्थ्य जोखिम मोलेर काम गर्दा हुन सक्ने सम्भावित कोरोनाको जोखिमको क्षति पूर्ति गर्न गरिएको विमा रकममा मणिपालले र्याल काड्न थाले पछि स्वास्थ्यकर्मी र कर्मचारीहरुको टे«ड यूनियनहरुले विमा वापत प्राप्त पुरै रकम विमितलाई दिन मणिपाल व्यवस्थापनलाई आव्हान गरेको भएपनि मणिपाल व्यवस्थापनले ट्रेड युनियनको कुरा टेर पुच्छर लगाएको छैन । मणिपालको खातामा विमितको रकम जम्मा भएको महिनौं भइसक्दा पनि पिडितहरु थप पिडित वन्न पुगेका छन्। पत्रकारसँग वोल्दा जागिर माथि नै धक्का पुग्ने अवस्था गुजार्दै आएका पिडित कर्मचारी र तिनका ट्रेड युनियन संघ, संगठनहरु परिचय खुलाएर वोल्न डराउँछन् उनिहरु। मणिपालमा ३ वटा मुख्य राजनीतिक दलका मजदुर युनियन र १ समन्वय समिति अस्तित्वमा छ तर ति युनियनहरु आफ्ना कोभिड पिडित मजदुर कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई जायज मागमा न्याय दिन सफल देखिदैनन् ।
विमा समिति नेपालका सूचना अधिकारी निर्मल अधिकारी कोभिड विमा अस्पतालको हैन कर्मचारी र स्वास्थ्यकर्मीहरुको गरिने हुँदा कोरोना पीडितहरुको विमा रकम पुरै सम्बन्धित पीडित व्यक्तिले पाउनु पर्ने वताउँछन् । विमा भुक्तानीको सन्दर्भमा विमा गर्ने व्यक्तिलाई गर्ने संस्थाले पुरै विमा गरेको भए संस्थाको नाममा भुक्तानी जाने र संस्थाले पीडितलाई वुझाएको भरपाई विमा कम्पनीलाई उपलव्ध गराउनु पर्ने प्रावधान रहेको विमा समिति नेपालका सूचना अधिकारी निर्मल अधिकारी वताउँछन् ।
तर पोखराको नेश्नल इन्स्युरेन्स कम्पनी लि. ले व्यक्तिको विमा वापत व्यक्तिलाई नै डिस्चार्ज भौचरमा सहि छाप गराउने तर रकम भने मणिपाल अस्पतालमा पठाउने गरेका कारण पीडित विमित मर्कामा परेको देख्न सकिन्छ ।
पैसा देखेपछि महादेवको तीन नेत्र भने जस्तै आफ्नो कर्मचारीको कोरोना विमा वापतको रकममा मणिपाल व्यवस्थापनले गिद्धे दृष्टि लगाउनु लज्जाको विषय हो । कर्मचारीको कोभिड विमाको रकम भुक्तानी सम्वन्धमा किन आलटाल भन्ने वारेमा मणिपाल शिक्षण अस्पतालका एक उच्च अधिकारी भानु भारद्धाज सँग प्रतिकृया लिन पटक पटक सम्पर्क फोन गर्दा उनि सम्पर्कमा आउन चाहेनन् ।
मणिपालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोरोना विमा वापतको एक लाख रकम दिलाउन राज्यका निकायले तत्काल पहल गर्नु जरुरी छ । स्वास्थ्य क्षेत्रमा फ्रन्टलाइनमा काम गरेर सेवा दिइरहनेहरुको मनोवल वढाउन सके मात्र सेवा प्रवाह थप प्रभाकारिता वन्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्