
पोखरा : राजधानी काठमाडौंमा पठाओ र टुटलको अनाधिकृत राइड शेयरिङ व्यवसायले अराजकता मच्चाइरहेको बेला पर्यटन नगरी पोखरामा पनि विभिन्न नाम धारी तर त्यही प्रकृतिका राइड शेयरिङ व्यवसायले जरा गाड्ने जमर्को गर्दै रहेको पाइएको छ। केही महिना मात्र अगाडी रामबजार घलेचोकमा कार्यालय नै खोलेर ‘मोटरगाडी’ नामको नयाँ राइड शेयरिङ कम्पनी सञ्चालनको तयारी गरिरहेको खबर सराङकोटले प्रकाशन गरे लगतै यातायात व्यवस्था कार्यालय प्रहरी प्रशासनले सक्रियता देखाउँदै कानूनी आधार प्रमाण खोजेपछि मोटरगाडी एप मार्फत यातायात कार्यालयको अनुमती नै नलिई सञ्चालन गर्न खोजिएको राइड शेयरिङ व्यवसाय सञ्चालन नै नभई स्थगित भएको पाइएको छ ।
“मोटरगाडी प्रकृतिकै साधन नेपाल” नामक एप दर्ता गराएर राइड शेयरिङ व्यवसाय सञ्चालन गरिरहेको भेटिएको छ । पोखराको न्युरोडमा कार्यालय खोलेर सुरु भएको उक्त राइड शेयरिङ व्यवसाय सञ्चालनका लागि यातायात व्यवस्था कार्यालय, विभागबाट कुनै स्वीकृती, अनुमति नलिइएको पाइएको छ । साधन नेपालका को–अर्डिनेटर तुसार दुवेले यातायात कार्यालयबाट स्वीकृती नलिएको स्वीकार गरे । उनले भने ‘वार्ड नम्बर आठ कार्यालयबाट व्यवसायिक इजाजत लिएको र सिडियो कार्यालयलाई निवेदन दिइएको छ ।’ वार्ड नं. ८ कार्यालय र सिडियो कार्यालय ट्रान्स्पोटेसन सञ्चालनको अनुमती दिने सरकारी निकाय भित्रै पर्दैनन् । अनुमती दिने यातायात व्यवस्था विभाग र कार्यालयबाट कुनै अनुमती नलिई गरिने यातायातको राइड शेयरिङ व्यवसाय अवैध भएकोले यातायातबाट तिनले अनुमती पाउनै नसक्ने यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख डिल्लीराम रिज्याल बताउँछन् । रिज्यालले भने रातो प्लेटमा दर्ता भएका सवारीलाई यात्रु बोकेर भाडा असुल्ने राइड शेयरिङ व्यवसायको लागि दर्ता स्वीकृती दिन कानूनले मिल्दैन। त्यस्तो अवैध पेशा व्यवसाय गर्ने छुट कसैलाई नहुने र भएमा कारबाही गरिने पनि प्रमुख रिज्यालले बताए ।
उता जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाही राइड शेयरिङ व्यवसायको अनुमती जिल्ला प्रशासन कार्यालयले दिन नमिल्ने बताउँछन् । यातायातको स्वीकृती विना प्रयोजन विपरित व्यवसाय गर्नु अवैध हुने यातायात क्षेत्रका विज्ञ जानकारहरु बताउँछन् । काठमाडौंमा सुरुमै नियन्त्रण गर्न नसक्दा टुटल र पठाओले अराजकता मच्चाइरहेको धेरैको निस्कर्ष रहेको छ ।
निजी नम्बरमा दर्ता भएका सवारी साधनहरु भाडामा लगाउन पाइदैन लगाएमा प्रयोजन विपरित ठहर हुन्छ । निजी नम्बरका दुई पा·्रे र चार पा·्रे सवारी साधनहरुमा यात्रु ओसारेर भाडा असुल गर्ने कार्यलाइई निरुत्साही तुल्याउन जरुरी हुन्छ ।
साधन नेपालले चलाएको राइड शेयरिङले मह·ो भाडा असुल्ने गरेको पाइएको छ । कम्पनीका सञ्चालक तुसार दुवेका अनुसार कार ट्याक्सीमा जानेको लागि बुकिङ सुल्क नै एक सय र प्रति किलो मिटर ७० (सत्तरी) रुपैया भाडा लिने गरिएको छ भने बाइक र स्कुटरमा बुकिङ शुल्क २५ र प्रतिकिलो मिटर २२ रुपैया भाडा तोकिएको छ । यी दुवै साधनमा लिइने यो भाडा सार्वजनिक सवारी (ट्याक्सी) को भन्दा बढी हो । निजी सवारीमा यात्रुबाट उठाइएको भाडा बाट २० प्रतिशत कमिशन साधन नेपालको खातामा लिने गरेको छ ।
भाडामा चलाउन सार्वजनिक प्लेट, कालो या हरियो प्लेटमा दर्ता गर्नुपर्छ । त्यसमा पनि यात्रु विमा अनिवार्य छ तर अवैध रुपले चलाइने राइड शेयरिङ धन्दामा न विमा छ न सुरक्षा ?
प्रतिक्रिया दिनुहोस्