
सराङकोट साप्ताहिक
पुष्पलाल मध्यपहाडी लोकमार्गको कालिखोलादेखि, महेन्द्रगुफा, लामाचौर देखि गण्डकी बोर्डिङ हुँदै जौवारी पुल सम्मका करिव दुई सय घर जग्गा धनी पीडित व्यक्तिहरु सम्पत्ति माथिको अधिकार जोगाउने आन्दोलनमा छन् । प्रभावित क्षेत्र भित्रका घर जग्गा धनीहरुलाई औपचारिक जानकारी समेत नदिई राजमार्ग निर्माणको टेण्डर गरिएपछि स्थानीय बासीहरु आक्रोसित भई आन्दोलनमा होमिएका छन् ।
आयोजनालाई टेण्डरका लागिअनुकुल हुने गरी वडा नं. १६ कार्यालयले पत्र पठाएपछि टेण्डर गरिएको र टेण्डर भएपछि वल्ल सार्वजनिक सुनुवाईको नाटक रचिएको विषयमा स्थानिय पीडितहरुले गंभिर आपत्ती जनाएका थिए । विकासका नाममा आएको राष्ट्रिय गौरवको योजनाले दर्जनौं नागरिकलाई सुकुम्वासी बनाउने निश्चित भएपछि स्थानिय पीडितहरु उक्तआयोजनाको रेखांकन परिवर्तन गरी २०७९ भाद्र १४ गते गरिएको टेण्डर रद्द गरी पीडित जनताको सम्पत्ति माथिको अधिकार सुनिश्चित गर्न माग गरिएको छ ।
प्रकृतिक सम्पदाको रुपमा रहेको पर्यटकीय गन्तव्य महेन्द्रगुफा, चमेरी गुफा, सरकारी विद्यालय इन्द्रराज्य लक्ष्मी मा.वि. लगायत प्रत्यक्ष प्रभावित हुने तर्फ समेत गंभिर भएर लाग्न सरोकारवालाको ध्यानाकर्षण गराउँदै स्थानिय संयौंको संख्यामा र्याली प्रदर्शन सहित महानगरमा धर्ना वसि दवावमूलक कार्यक्रम हुँदै आएको पुष्पलाल मधयपहाडी लोकमार्ग पीडित संघर्ष समितिका सचिव सन्दिप थापाले बताए ।
यस्तै पुष १० गते आइतबार पोखरा–१६ को विन्ध्यवासिनी मा.वि. प्रांगणमा संघर्ष समितिले यस क्षेत्रका प्रतिनिधि सभा सदस्य विद्या भट्टराई, प्रदेश सभा सदस्य, विन्दु कुमार थापा र वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना लाई आफूहरु पिडित बन्न पुगेको प्रमाण सहित हाल सम्म भए गरिएका आन्दोलनका वारेमा जानकारी गराएको थियो ।
संघर्ष समिति प्रस्तुत गरेको फेहरिस्त सुनेपछि प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले यो समस्या समाधानका लािग वडा अध्यक्ष अमृत शर्मा, प्रदेशका माननीय विन्दु कुमार थापा सहित सरकारी तहसम्म पुगेर निकास खोज्न पहल गर्ने बताइन् । उनले भनिन् यो समस्या क्याविनेटबाट मात्र समाधान गर्न सकिने हुँदा केहि समय लाग्न सक्ने बताइन् ।
कास्की २ ख का सांसद विन्दु कुमार थापाले जनतालाई योजनाले पार्न सक्ने पीर मर्कालाई सम्वोधन गरी निकास खोज्न केन्द्र सम्म पहल भएको र त्यसमा अपेक्षाकृत नतिजा दिन केहि समय लाग्ने बताए । सरकार गठन पछि तीनै तहका जनप्रतिनिधिले एउटै आवाज प्रस्तुत गरेर अगाडी बढ्ने सांसद थापाले बताएका थिए ।
वडा नम्वर १६ का अध्यक्ष अमृत शर्मा तिमल्सिनाले विकासका नाममा हुने जनताको सम्पत्ति माथिको सरकारी अतिक्रमण सैह्य नहुने र भएको टेण्डर रोक्न आफू हरतरहबाट लागि परेको बताए ।
आयोजनाको कमजोरीमा तत्कालिन वडा कार्यालयको कमजोरी मुख्य रहेको छलफलका सहभागिहरुले वताएका थिए । सघर्ष समितिका अध्यक्ष गोविन्द बस्नेतले अव आशाको त्यान्द्रोको रुपमा जनप्रतिनिधि रहेको र त्यसबाट पनि समाधान ननिस्किएमा जस्तो सुकै कदम उठाउन बाध्य हुने बताए ।
चमेरी गुफा सरोकार समितिका तर्फबाट खिमलाल अधिकारीले टेण्डर रद्द नगरिएमा अन्तिम सम्म संघर्षमा उत्रने वाध्य हुने बताए । आफू एक जना ज्यान फालेर परिवारका ५–६ जनाको भविष्य सुरक्षित हुन्छ भने जीवन आहुती दिन पछि नपर्ने अधिकारीले बताए । कानून व्यवसायी शालिकराम भट्टराईले संविधानले सम्पत्ति माथिको अधिकार सुनिश्चित गरेकोले जनताको सम्पत्ति राज्यले कव्जा गर्न नमिल्ने बताए ।
संघर्ष समितिले तत्कालिन अवस्थामा भए गरिएका मुजुल्का लगायतका कागजातहरुको सत्य तथ्य छानविन गरी यथार्थ बाहिर ल्याउने कार्य भइरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्