गन्डकी प्रदेश सरकारले बागलुङको बडिगाड गाउँपालिकाबाट मेरुदण्डसम्बन्धी गम्भीर जन्मजात समस्या देखिएको ६ घण्टे नवजात शिशुको आकस्मिक हवाई उद्धार गरी उपचारका लागि पोखरा ल्याइएको छ। बडिगाड गाउँपालिका–१, दगातुङडाँडाकी ३६ वर्षीया तारा थापाले सामान्य प्रसूतिमार्फत जन्म दिएको नवजात शिशुको मेरुदण्डको झिल्ली बाहिर निस्किएको र फुटेको जटिल समस्या देखिएपछि गण्डकी प्रदेश सरकारले बुधबार हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका अधिकृत तथा हवाई उद्वार फोकल पर्सन बुद्धिसागर अधिकारीले बताए ।
जन्मिएको करिब ६ घण्टामै शिशुमा गम्भीर स्वास्थ्य समस्या देखिएपछि स्थानीय स्तरमा थप उपचार सम्भव नहुने र उपचारमा ढिलाइ भए शिशुको ज्यानसमेत जोखिममा पर्न सक्ने अवस्था देखिएको थियो। त्यसपछि गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको पहलमा तत्काल हवाई उद्धारको व्यवस्था मिलाइएको हो। उद्धार गरिएका आमा र नवजात शिशुलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याइएको छ। अस्पतालमा उनीहरूको उपचार प्रक्रिया अघि बढाइएको जनाइएको छ। शिशुको जन्म हुँदा तौल ३ केजी २०० ग्राम र गर्भावधि ३८ हप्ता २ दिन रहेको विवरणमा उल्लेख छ। चिकित्सकीय भाषामा स्पाइना बिफिडा विथ रप्चर्ड मेनिङ्गोमाइलोसील भनिने मेरुदण्डको जन्मजात जटिल समस्या शिशुमा देखिएको हो।
दुर्गम क्षेत्रबाट जन्मिएको केही घण्टामै गम्भीर स्वास्थ्य समस्या देखिएको नवजात शिशुको उद्धारले आपत्कालीन स्वास्थ्य सेवामा समयमै निर्णय र समन्वयको महत्वलाई पुनः उजागर गरेको छ। उक्त उद्धार कार्य सफल बनाउन धौलागिरि प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.किरण तिवारीले प्राविधिक सुझाव प्रदान गर्नुभएको थियो। त्यसैगरी बुर्तिबाङ अस्पताल, बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा। विज्ञान लामिछानेले उपचार व्यवस्थापन तथा हवाई उद्धारका लागि समन्वय र सहजीकरण गरेका थिए ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित निकायले पनि उद्धार कार्यमा आवश्यक समन्वय र सहयोग गरेका थिए। त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र उद्धारमा संलग्न सम्पूर्ण टोलीको सहकार्यमा आमा र शिशुलाई पोखरा ल्याएर उपचार प्रक्रिया अघि बढाइएको हो।



प्रतिक्रिया दिनुहोस्