पोखराको जेठो सस्था पोखरा उध्योग बाणिज्य संघको नेतृत्वमा पुग्ने यात्रामा दुईपटक पराजय व्यहोरे पनि अर्जुन पोखरेलको हौसला भने कमजोर भएको छैन। पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष बन्ने अठोट सहित उनी तेस्रोपटक चुनावी मैदानमा उत्रिएका छन्। संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारणसभाअन्तर्गत अध्यक्ष पदका लागि पोखरेलसहित चार जनाले उम्मेदवारी दिएका छन्।
विगतका दुई निर्वाचनमा परिणाम आफ्नो पक्षमा नआए पनि त्यसलाई हारको अन्तिम अध्यायका रूपमा नलिएका पोखरेल यसपटक अझ परिपक्व अनुभव र स्पष्ट एजेन्डासहित व्यवसायीमाझ पुगेका छन्। उनको चुनावी मूल सन्देश छ– ‘व्यवसायीको उत्थानः समुन्नत संघ।’
पोखरेलले सार्वजनिक गरेको पाँचबुँदे प्रतिबद्धताले पोखराको निजी क्षेत्रदेखि विमानस्थल, साना व्यवसायी र युवा उद्यमशीलतासम्मका विषयलाई समेटेको छ। उनी भन्छन्, कठिन समयमा नै नेतृत्वको वास्तविक परीक्षा हुने भएकाले अहिले निजी क्षेत्रको बलियो खम्बा बन्न सक्ने नेतृत्व आवश्यक छ।
पाँच प्रतिबद्धता, पाँच प्राथमिकता
पहिलो– ‘ग्रेटर पोखरा’को अवधारणा। पोखरा उद्योग वाणिज्य संघलाई विस्तारित गर्दै पोखरा क्षेत्रका उद्योग–व्यवसायलाई राष्ट्रिय तथा विश्व बजारमा प्रवर्द्धन गर्ने र निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्ने उनको योजना छ।
दोस्रो– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउन राज्यका सम्बन्धित निकायसँग निरन्तर व्यावसायिक संवाद र दबाब सिर्जना गर्ने पोखरेलको प्रतिबद्धता छ। अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि व्यावसायिक दूत परिचालन तथा टुरिज्म’मार्फत द्विपक्षीय अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ।
तेस्रो– सबै व्यवसायीको साझा घर। साना, मझौला र ठूला उद्योगी–व्यवसायी सबैको आवाज समान रूपमा सुनिने प्रणाली विकास गर्ने उनको दाबी छ। विशेषगरी घरेलु तथा साना उद्योगलाई वित्तीय पहुँच र बजार सुनिश्चितताका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उनले बताएका छन्।
चौथो– व्यवसायीका अड्चनविरुद्ध सशक्त पैरवी। व्यवसाय सञ्चालनका क्रममा देखिने कानुनी, प्रशासनिक तथा नीतिगत समस्या समाधानका लागि संघलाई प्रभावकारी पैरवी गर्ने संस्थाका रूपमा विकास गर्ने पोखरेलको प्रतिबद्धता छ। विभिन्न नाममा निजी क्षेत्रमाथि हुने धरपकडलाई समेत संवादबाट समाधान गर्ने उनको भनाइ छ।
पाँचौँ– युवालाई पोखरामै उद्यममा जोड्ने। दिनप्रतिदिन विदेश पलायन भइरहेको ऊर्जावान् युवा जनशक्तिलाई पोखरामै रोक्ने र उद्यमशीलतातर्फ आकर्षित गर्ने लक्ष्य उनले अघि सारेका छन्। सीप, उद्यम र बजारबीचको सम्बन्ध स्थापित गर्दै दिगो उद्यमशीलता विकासको मोडल बनाउने उनको योजना छ।
हारले होइन, निरन्तरताले चिनिएको उम्मेदवारी
पोखरेलका लागि यो निर्वाचन केवल अध्यक्ष पदको प्रतिस्पर्धा मात्र होइन, दुईपटक अधुरो रहेको यात्रालाई पूर्णता दिने अर्को अवसर पनि हो। अघिल्ला निर्वाचनमा पराजित भए पनि व्यवसायीका मुद्दाबाट आफू कहिल्यै टाढा नभएको उनको दाबी छ। “निष्ठाको यात्रामा कहिल्यै पूर्णविराम हुँदैन” भन्ने उनको सन्देशले यसपटकको उम्मेदवारीको मनोविज्ञान झल्काउँछ।
संघलाई कठिन अवस्थामा रहेका व्यवसायीको ‘साझा घर’ बनाउने उद्घोषसहित चुनावी मैदानमा उत्रिएका पोखरेलले यसपटक आफूलाई विगतको अनुभवले अझ खारिएको उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।
अब प्रश्न एउटै छ—दुईपटकको हारपछि पनि नथाकेको अर्जुनको धैर्यलाई यसपटक पोखराका उद्योगी–व्यवसायीले विश्वासमा बदल्छन् कि बदल्दैनन्? यसको फैसला आगामी निर्वाचनले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्