
कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय पोखराले सूचना ढाँटेर पुरानै पाटीलाई ठेक्का सम्झौता गरेको छ । कम्पनीको स्वामित्वमा रहेको पोखरा महानगर पालिका वार्ड नं. ९ पृथ्वीचोकको ७ रोपनी जग्गाको टेण्डर प्रकृया नै नअपनाई पुरानै पाटी पोखरा ३१ का मिलन प्रसाद तिवारीलाई दिइएको पाइएको छ ।
सरकारी सम्पत्ति, घर जग्गा भाडामा लगाउँदा सार्वजनिक खरिद ऐन नियम अनुसार टेण्डर आव्हान गरी वढावढ भाडा दरमा ठेकमा लगाउनु पर्ने नियमलाई नाघेर कृषि सामग्री कम्पनी लिमिटेडले पुरानै व्यक्तिको माग निवेदनका भरमा कृषि सामग्री लिमिटेडले पुरानै व्यक्तिको माग निवेदनका भरमा दुई वर्षलाई ठेक्का सम्झौता प्राप्त सम्झौता पत्रवाट पुष्टि भएको छ । सूचनाको हक प्रयोग गरी माग गरिएको सम्झौता कागज वमोजिम साविक भाडामा ४० प्रतिशत थप गरी पुरानै पाटीलाई दिइएको पाइएको छ ।
उक्त जग्गा भाडा सम्वन्धमा मिति २०७६/७/२५ गते सूचनाको हक सम्वन्धि अधिकार प्रयोग गरी माग गरिएको सूचनाको मर्म विपरित सम्झौता गरिएको खुल्न आएको छ । सराङकोटलाई उपलव्ध गरिएको सूचनामा सम्झौताको म्याद २०७६/१०/२९ गते समाप्ती हुने हुँदा म्याद समाप्ती हुनु अगावै प्रचलित ऐन अनुसार टेण्डर प्रकृया गरिने व्यहोरा उल्लेख छ ।
कृषि सामग्री कम्पनी लिमिटेडको दुई महिना अगाडि उपलव्ध गराएको सूचना ढाँटेर टेण्डर नै नगरी पुरानै व्यक्तिलाई टेण्डर दिइएको प्रकरणलाई रहस्यमयी ढंगबाट हेरिएको छ । कम्पनी स्वयम्ले टेण्डर गर्ने भनि लिखित सूचना उपलव्ध गराइए पनि लिनेदिने वीच मिलेमतो गरी जग्गा भाडा सम्झौता थप गरिएको छ ।
२०७६ पौष २७ गते नै भाडा सम्झौता गरिएको छ । २०७६ फागुन १ गते वाट सम्झौता लागू हुने उल्लेख गरिएको छ । खुल्ला टेण्डर गर्दा लाखौं रुपैयाँ आम्दानी हुने विश्वास लिइएको थियो यद्दपि एउटा निवेदनको भरमा भाडा सम्झौता गरिएको छ । उता जग्गा भाडामा लिने पक्षले व्यापारी सँग हाल लिइरहेको भाडामा सत प्रतिशत भाडा थपेर लिन उर्दी जारी गरेको व्यवसायीहरुले वताएका छन् ।
प्रतिक्रिया दिनुहोस्