पोखरा महानगरपालिका १२ र १०नम्बर वडाको सिमामा रहेको अमरसिह चोकको घर टहरा हट्ने भएको छ । झ्न्डै ४० बर्ष देखि स्कुलको चौरको जग्गा कौडिको भाउमा भाडा तिरेर कब्जा गरि घर टहरा बनाएर व्यापार ब्यबसाय गर्दै आएका थिए । बिध्यालयले ५१ वटा सटरबाट मासिक २ लाख ३९ हजार भाडा पाउने गरेको थियो । पटकपटक टहरा हटाउन बिध्यालयले पहल गर्दा कहिले राजनितिक दलको आडमा त कहिले अदालतमा मुद्दा हालेर हल्लाउँदै आएका थिए तर अब भने बाटो खुलेको छ । अब सटर टहरा हटाउन कानुन र ब्यबहारिक दुबै माहोल सकारात्मक बनेको छ ।
अमरसिंह माध्यमिक विद्यालय, पोखरा–१२ ले आफ्नो स्वामित्वमा रहेको जग्गामा सञ्चालन हुँदै आएका व्यापारिक सटर टहरा हटाउन पुनः सूचना जारी गरेको छ। विद्यालयको निर्णयअनुसार उक्त क्षेत्रलाई व्यवस्थित गर्दै नयाँ संरचना निर्माण गर्ने योजना अघि बढाइएपछि हाल सञ्चालनमा रहेका सटर हटाउन लागिएको हो। बिध्यालयले १५ दिनभित्र सटर खाली गर्न ब्यापारीका नाममा सार्बजनिक सुचना प्रकाशन गरेकोछ ।
विद्यालयले जारी गरेको सूचनामा रामघाट क्षेत्रस्थित विद्यालयको दक्षिणतर्फ पृथ्वी राजमार्ग र हस्पिटल मार्गसँग जोडिएका सटर टहराहरूले अमरसिंह चोकको सौन्दर्यमा असर परेको उल्लेख गरिएको छ। साथै विद्यालयको दीर्घकालीन हितलाई ध्यानमा राख्दै उक्त स्थान खाली गराई नयाँ संरचना निर्माण गर्ने उद्देश्यले सटर हटाउने निर्णय गरिएको जनाइएको छ।
यसअघि पनि विद्यालयले सम्बन्धित व्यवसायीहरूलाई सटर हटाउन सूचना जारी गरी जानकारी गराइसकेको थियो। तर, उक्त विषय अदालतसम्म पुगेको र उच्च अदालत पोखराबाट परमादेशसमेत जारी भएको थियो तर पछि रिट जारी गर्नु नपर्ने फैसला भयो । ब्यापारीहरुले सटरमा रहिरहन अर्को जुक्ती निकाले । ५२ जना व्यापारी मध्य ३८ जना ब्यापारेले कास्की जिल्ला अदालतमा कुल १ करोड १५ लाख रुपैयाको क्षतिपुर्ती मुद्दा दायर गरि अल्झाउन खोजेका थिए । क्षतिपूर्ति सम्बन्धी मुद्दा समेत २०८३”बैशाख ७ गते खारेज भएको छ । क्षतिपूर्ति मुद्दमा अदालतले हकदैयाको अभाव जनाइ मुद्दा खारेज गरिदिएको छ । मुद्दै नचल्ने भएपछी बिध्यालयलाई सटर टहरा हटाउन मार्ग प्रसस्त भएको छ ।

कानुनी मार्ग प्रसस्त भएपछी सटर हटाउने कार्य कार्यको लागि विद्यालयले पुनः १५ दिनको समयसीमा तोकेर सटर खाली गर्न आग्रह गरेको छ। निर्धारित समयभित्र सटर हटाई आफ्नो सरसामान सुरक्षित रूपमा लैजान सम्बन्धित व्यवसायीहरूलाई अनुरोध गरेको बिध्यालयका प्रधानाध्यापक बलराम पोखरेल द्वारा हस्ताक्षरित सुचनामा जनाइएको छ । विद्यालय प्रशासनले तोकिएको समयभित्र सटर खाली नगरेमा विद्यालय स्वयंले हटाउने र त्यसबाट हुने क्षति तथा सरसामानको जिम्मेवारी विद्यालयले नलिने स्पष्ट पारेको छ।
विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलद्वारा हस्ताक्षरित उक्त सूचनाले विद्यालयको जग्गा व्यवस्थापन र संरचनागत विकास कार्यलाई तीव्रता दिन खोजिएको संकेत गरिएको छ । घर टहरा हटाउन बिध्यालयले प्रहरी , प्रशासन , महानगर , शिक्षा बिकास तथा समन्वय इकाइ लगायतलाइ जानकारी गराउदै सहयोग मागेको छ ।

प्रतिक्रिया दिनुहोस्