पोखरा प्राकृतिक पर्यटकिय सौन्दर्यको शहर मात्र होइन, भौगोलिक जोखिमको दृष्टिले पनि संवेदनशील शहर हो। एकातिर पहाडबाट आउने पहिरो, अर्कोतिर सेती नदीको गहिरो खोँच र माथिल्लो क्षेत्रमा सम्भावित आकस्मिक बाढीको जोखिमले पोखराको दीर्घकालीन सुरक्षामाथि प्रश्न उठाएको छ।
विशेषगरी सेती नदीको माथिल्लो जलाधार क्षेत्रमा ठूलो पहिरो, हिमपहिरो वा प्राकृतिक बाँध बनेर अचानक फुटेमा त्यसको असर तल्लो क्षेत्रमा पर्ने सम्भावनाबारे वैज्ञानिक अध्ययनहरूले पटक–पटक चेतावनी दिएका छन्। पोखराको सेती नदीलाई लिएर गरिएको एक अध्ययनले सेतीको माथिल्लो भागमा रहेको गहिरो र साँघुरो खोँच पहिरोका कारण अवरुद्ध भई अस्थायी ताल बन्न सक्ने र त्यस्तो बाँध फुटेमा ठूलो बाढी आउन सक्ने सम्भावना औंल्याएको छ। त्यसमा पनि सेती नदिको खोच र गहिरो गल्छिले गर्दा सेती पोखराको अबसर मात्र होइन चुनौतीको गोदाम पनि हो । जबसम्म समस्या आइपर्दैन तब सम्म कुनै आङ्कलन र पुर्व तयारी समेत छैन ।
२०७९ को घटना चेतावनीको सङ्केत
सेतीको जोखिम केवल कागजमा सीमित छैन। २०६९ वैशाख २३ गते आएको विनाशकारी सेती बाढीले यसको भयावह सम्भावनाको सङ्केत देखाइसकेको छ। अध्ययन अनुसार अन्नपूर्ण क्षेत्रबाट आएको ठूलो हिमपहिरो/हिमतालले सेतीको साँघुरो खोँचमा प्रवेश गरेपछि केही मिनेटमै विनाशकारी बाढीको रूप लिएको थियो। त्यस घटनामा ठूलो मानवीय क्षति भयो।
यस घटनाको सबैभन्दा गम्भीर पक्ष के हो भने त्यस्तो जोखिम दोहोरिनै सक्दैन भन्ने कुनै ग्यारेन्टी छैन बरु त्यो सङ्केत मात्र हो । नयाँ अध्ययनहरूले समेत सेतीको माथिल्लो क्षेत्रमा प्राकृतिक बाँध बन्ने र त्यसबाट आकस्मिक बाढी आउन सक्ने सम्भावनालाई जोखिम मूल्याङ्कनमा समेट्नुपर्ने बताएका छन्।
खोँचमा बढ्दै गएको बस्ती जोखिमको घेरामा
पोखराको समस्या प्राकृतिक जोखिम मात्र होइन, जोखिमयुक्त भूभागमा भइरहेको तीव्र शहरी विस्तार पनि हो। सेती नदी आसपासका तल्लो भूभाग, खोलानाला र बगर क्षेत्रमा बस्ती तथा पूर्वाधार बढिरहेका छन्।
अध्ययनअनुसार पोखराको उत्तर–पश्चिमी क्षेत्रमा सेती नजिक अनियन्त्रित बालुवा तथा गिट्टी उत्खननसँगै नदिको तटिय क्षेत्रमा बस्ती विस्तार भएको छ। कसेरी , याम्दी , रामघाट क्षेत्रमा समेत पछिल्ला वर्षहरूमा निर्मित क्षेत्र तीव्र गतिमा बढेको अध्ययनले देखाएको छ। ठूलो बाढी आएमा यस्ता क्षेत्र बढी प्रभावित हुन सक्ने वैज्ञानिक मोडलिङले देखाएको छ।
पोखरामा सेती नदीसँग जोडिएका धेरै क्षेत्रलाई बाढीको सम्भावित जोखिम क्षेत्रका रूपमा सरकारी अध्ययनले समेत पहिचान गरेको छ। रामघाट, याम्दी, कसेरी, डोबिल्ला, सिताघाटलगायतका क्षेत्र जोखिम सूचीमा छन्।
२०८३ मा फेरि देखियो सेतीको अर्को संकेत
यस वर्ष पनि सेती नदीले जोखिमको संकेत दिएको छ। निरन्तर वर्षापछि पोखरा–१५ र १७ को सीमामा पर्ने रातोपहिरोमा पहिरो खसेर सेती नदीको बहाव आंशिक रूपमा अवरुद्ध भएको थियो। नदी थुनिँदा माथिल्लो क्षेत्रमा पानीको सतह बढेको र जोखिम न्यूनीकरणका लागि प्राविधिक अध्ययन गर्नुपर्ने अवस्था आएको थियो।
यो घटना सानो देखिए पनि यसको सन्देश ठूलो छ—सेती नदीको बहावमा पहिरोले अवरोध सिर्जना गर्न सक्छ र त्यसबाट माथिल्लो क्षेत्रमा पानी जम्ने जोखिम वास्तविक छ।
चाइना पुल र के आइ सिह पुलको खतरा !
पोखराको के आइ सिह पुल र चाइना पुल जोखिमको मुख्री घाटि हो । भोटेकोशी जस्तो ग्ल्यासियर र हिम ताल र चट्टान फुटेर न आउला भन्न सकिन्न । उच्च पहाडी र हिमाली क्षेत्रमा कतिखेर के हुन्छ भन्ने बुझ्न सकिन्न । कुनै दिन त्यो अबस्था न आउला भन्न सकिन्न । आएको खन्डमा पोखराको घनाबस्ती बगर बन्न सक्छ , हजारौ जनताको चिहान बन्न सक्छ । खासगरी त्यस्तो बिनासकारी बाडी र चट्टानले पुल समेत जोखिममा पर्नेछन । त्यसबाट जोगिन र कम क्षती हुन बगर र रामघाटको सेतिको गल्छी खोलिनु अत्यन्तै आवश्यक रहेको जानकार भुगर्वबिदहरु बताउछन ।
अब पोखराले के गर्ने ?
पोखराको सुरक्षाका लागि पहिलो आवश्यकता जोखिमको वैज्ञानिक नक्साङ्कन हो। सेतीको माथिल्लो जलाधारदेखि पोखरा उपत्यकासम्म सम्भावित पहिरो, प्राकृतिक बाँध, बाढीको बहाव क्षेत्र र कमजोर बस्तीको एकीकृत अध्ययन आवश्यक छ।
त्यसपछि उच्च जोखिम क्षेत्रमा निर्माण नियन्त्रण, नदीको प्राकृतिक बहाव क्षेत्र संरक्षण, अवैज्ञानिक नदीजन्य पदार्थ उत्खनन नियन्त्रण, सुरक्षित खुला स्थानको व्यवस्था र अत्याधुनिक पूर्वसूचना प्रणाली स्थापना गर्नुपर्छ।
सेतीको पानीको सतह मात्र होइन, माथिल्लो जलाधारमा हुने असामान्य परिवर्तन निगरानी गर्न क्यामेरा, राडार, सेन्सर तथा स्याटेलाइट प्रणाली प्रयोग गर्न सकिन्छ। जोखिमको संकेत देखिएपछि केही मिनेटभित्रै नागरिकलाई मोबाइल, साइरन र सञ्चारमाध्यममार्फत सूचना पुग्ने व्यवस्था आवश्यक छ।
पोखराको विकास रोक्नु समाधान होइन। तर जोखिम बुझेर विकास गर्नुचाहिँ अनिवार्य हो।
आजको प्रश्न ‘पोखरामा फेरि ठूलो बाढी आउँछ कि आउँदैन ?’ भन्दा पनि ‘आयो भने हामी कति तयार छौँ ?’ भन्ने हुनुपर्छ। २०७९ को सेती विपद्ले दिएको चेतावनी, पछिल्लो पहिरोले देखाएको जोखिम र वैज्ञानिक अध्ययनले औंल्याएका सम्भावनालाई बेवास्ता गरेर पोखरालाई सुरक्षित शहर भन्न सकिँदैन।
विपद् आएपछि राहत बाँड्ने तयारी होइन, विपद् आउनुअघि जोखिम पहिचान गर्ने र नागरिक जोगाउने तयारी नै अब पोखराको प्राथमिकता बन्नुपर्छ। नदि खोला छेउका सुकुम्बासी र अव्यवस्थित बसोबासिहरुलाइ हटाएर ब्यबस्थापन गर्नुपर्छ । भोलि कसैले रुन नपरोस । राज्यले बेलैमा ध्यान देओस र सम्भावित जोखिमबाट पोखरेलिलाइ बचाओस ।

प्रतिक्रिया दिनुहोस्