देशभरिका अतिक्रमणमा परेका सरचना हटाउने क्रमले तिब्रता पाए सङ्गै पोखरा उपत्यका नगर विकास समितिले आफ्नो स्वामित्वमा रहेका जग्गामा अनुमति बिना निर्माण गरिएका संरचना हटाउन ३५ दिनको समयसीमा तोकेको छ। समितिले हालै जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत अतिक्रमण गरेर बसोबास तथा संरचना निर्माण गरेका व्यक्ति तथा संघ–संस्थालाई तत्काल जग्गा खाली गर्न निर्देशन दिएको हो।
सूचनाअनुसार, पोखरा उपत्यकाभित्र समितिको स्वामित्वमा रहेका विभिन्न स्थानमा सम्झौता वा अनुमति बिना निर्माण गरिएका घर, टहरा लगायतका संरचनाहरू हटाउन आग्रह गरिएको छ। समितिले मिति २०८३/०१/०७ गते बसेको बैठकको निर्णयअनुसार सूचना प्रकाशित गरिएको जनाएको छ।

समितिका अनुसार सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिहरूले आफैं संरचना हटाई जग्गा खाली नगरेमा स्थानीय प्रशासन र सरोकारवाला निकायसँग समन्वय गरी कानुन बमोजिम हटाइनेछ।
समितिले समयसीमा भित्रै स्वेच्छाले संरचना हटाई सहयोग गर्न आग्रह गर्दै अन्यथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ। साथै यससम्बन्धी जानकारीका लागि सरोकारवाला सबैलाई सूचित गरिएको छ। सुचना जारी भए लगत्तै अतिक्रमण गरि बसेका , भाडामा लगाएका , सामाजिक संघ सस्था , दलका ट्रेड युनियनहरु ठाउँ छोड्ने तयारीमा देखिएका छन । सहारा क्लब देखि भित्र दायाँ तर्फका सबै हट्नुपर्ने छ । त्यो बैकल्पिक बाटो बन्ने छ । उता माओवादी निकट भातृ सस्थाहरु समेतले पुरानो अड्डा छोड्ने मनस्थिति बनाएकाछन ।
पोखरा उपत्यका नगर बिकास समितिका जग्गाहरु राजनीतिक दलका भातृ सस्था , सरकारी कार्यालय , सस्थान र विभिन्न गैरसरकारी संघ सस्थाहरुले अतिक्रमण गरेका छन । राज्यको सम्पती राज्यकै दायरामा ल्याउन बालेन सरकारले अघि बढाएको कदमलाइ सबैको सहयोग जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्