बालेन्द्र शाह नेतृत्व सरकारले खाली गरेको राजनितिक नेतृत्वको रिक्त ठाउहरुमा धमाधम बिज्ञापन खुलेको छ । यसै क्रममा चिकित्सा शिक्षा आयोगको शक्तिशाली उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ । आयोगको उपाध्यक्षका लागि दरखास्त दिने अन्तिम दिन १३ जेठसम्म १० जनाको आवेदन परेको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठन सिफारिस समितिले जनाएको छ । समितिले ३० बैशाखबाट १३ जेठसम्म चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि इच्छुक व्यक्तिहरुबाट दरखास्त माग गरेको थियो । अन्तिम दिनसम्म १० जनाको आवेदन परेपछि आयोगले कार्ययोजना सहितको सोचपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ता समय समेत निर्धारण गरेको हो ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्व अध्यक्ष प्रा.डा. गेहनाथ बराल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा.डा. दिनेशकुमार लम्साल, प्रा.डा. दिपेन्द्र श्रेष्ठ र प्रा.डा. देवेन्द्रबहादुर खत्रीको दरखास्त परेको छ । यस्तै, सह—प्रा. प्रमोद कुमार यादव, पूर्व स्वास्थ्य सचिव डा. रोशन पोरखेल, आयोगका पूर्व उपाध्यक्षसमेत रहिसकेका हालका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, प्रा.डा. सुरज श्रेष्ठ र प्रा.डा. शैलेश प्रधानले उपाध्यक्षका लागि दरखास्त दिएका छन् । समितिले आवेदन स्वीकृत भएका १० जना उम्मेदवारलाई २८ जेठमा प्रस्तुतीकरण र २८ जेठमै अन्तर्वार्ताका लागि बोलाएको छ ।
चिकित्सा शिक्षा आयोग नेपालको स्वास्थ्य शिक्षाको सबै काम गर्ने अधिकार सम्पन्न आयोग हो । मेडिकल र प्यारा मेडिकल शिक्षाको प्रवेश परीक्षा , छात्रवृत्ति लगायत सबै कार्य गर्दै आएको छ । यश अघि सत्ताधारी दलको आशिर्वाद प्राप्त ब्यक्तीलाई छनोट गरिन्थ्यो । अब प्रतिस्पर्धाबाट छानिए बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्