अनुराग बन्जारा
विश्वको मानचित्रमा नेपाल नदेखिने भुगोल भएपनी यहाका नेपालिहरुको आफ्नै चुनौती र समस्या छन । निम्न मध्यम परिवारको सदस्य , बेरोजगारी समस्या ,घर परिवार छोडेर बिदेशिनुपर्ने बाध्यता , उध्योग व्यापारमा गरेको लगानिको प्रतिफल नआउने अस्थिर आर्थिक अबस्था जस्ता थुप्रै चुनौतीको बोझ धान्नु अधिकास नेपालीहरुको नियती नै बनेको छ । परिवारमा बढ्दो बेरोजगारी, पारिवारिक अपेक्षा, प्रतिस्पर्धात्मक जीवनशैली र सामाजिक सञ्जालको भ्रामक र देखावटी दुनियाँबाट आजका युवा यिनै र यस्तै चपेटामा परेका छन्। बाहिरबाट हेर्दा हँसिला र ऊर्जावान् देखिने कयौँ युवा भित्रभित्रै मानसिक रूपमा विक्षिप्त बन्दै गइरहेका छन्। उनीहरूमध्ये धेरैलाई लाग्छ, “अब जीवनको कुनै अर्थ छैन, सबै बाटो बन्द भइसके।” तर, मनोविज्ञहरू भन्छन्— यो जीवनको अन्त्य होइन, केवल एउटा कठिन मोड मात्र हो। र, यही मोडमा युवालाई फेरि मूल बाटोमा फर्काउने संजीवनी बुटी बनिरहेको छ , त्यो हो ‘मनोविमर्श’ (Counseling)।
बढ्दो निराशा र सार्थक कदम
पछिल्लो समय अस्पतालका मानसिक रोग विभाग र प्रहरी कार्यालयका तथ्याङ्कहरूले एउटा डरलाग्दो चित्र प्रस्तुत गरेको छ । डिप्रेसन, एन्जाइटी र आत्महत्याका घटनाहरूमा युवा वर्गको सङ्ख्या उल्लेख्य छ। करिअर बिग्रिएको चिन्ता, प्रेम सम्बन्धमा आएको दरार वा आर्थिक असुरक्षाले युवाहरूलाई यति छिटो गलाउँछ कि उनीहरू क्षणिक शान्तिको खोजीमा लागुऔषधको कुलतमा फस्ने वा जीवन नै समाप्त पार्ने जस्तो कठोर निर्णय लिन पुग्छन्।
तर, सहरका विभिन्न मनोविमर्श केन्द्रहरूमा पुग्दा अवस्था अर्कै देखिन्छ। सही समयमा मनोविमर्श पाएका सयौँ युवाहरू विक्षिप्त अवस्थाबाट बाहिर निस्केर नयाँ जीवन बाँचिरहेका छन्। मनोविमर्श केवल एउटा कुराकानी मात्र नभएर मानिसलाई ‘बाँच्न सिकाउने’ एउटा वैज्ञानिक यात्राको बैशाखी सावित भइरहेको छ।
मनोविमर्श विज्ञ भन्छन्— ‘यो जादु होइन,जिउने कला हो’
हाम्रो समाजमा अझै पनि मानसिक समस्यालाई लिएर अनेकौँ भ्रम छन्। धेरैले यसलाई ‘पागलपन’ सँग जोडेर पनि हेर्छन्। तर, मनोविद्हरू यसलाई पूर्ण रूपमा इन्कार गर्छन्। यो बाटो नचिनेको अबस्था हो चिनाइदिनुपर्छ गन्तब्यमा पुग्छन भन्ने भाष्य बिकास हुँदै गएको छ । बादलको घेरामा चादिको रेखा बनेको छ मनो परामर्श । अर्थात समाजको डाक्टर बनेकाछन परामर्शदाता ।
यता एक अग्रज मनोविमर्शकर्ता उमेश सिवाकोटीको ठहर अर्कै छ , सिवाकोटीका अनुसार “मनोविमर्श कुनै जादुको छडी होइन जसले एकैछिनमा दुःख गायब पार्छ। यो त एउटा सुरक्षित र गोप्य संवादको प्रक्रिया हो। जब युवाहरू चौतर्फी दबाबले थिचिन्छन्, उनीहरूलाई उपदेश होइन, सुनिदिने मान्छेको खाँचो हुन्छ। हामी उनीहरूलाई कुनै पूर्वाग्रह (Judgment) बिना सुन्छौँ र उनीहरूकै भित्र रहेको समस्या जुध्ने क्षमतालाई बाहिर ल्याउन मद्दत गर्छौँ।” अर्थात बिर्सिएको बाटो सम्झाइदिन्छौ । मनोसामाजिक प्रशिक्षक समेत रहेका शिवाकोटी अनुसार, जब मानिस विक्षिप्त हुन्छ, उसको सोच्ने दायरा साँघुरो हुन्छ र उसले नकारात्मक पाटो मात्र देख्छ। मनोविमर्शले त्यही नकारात्मक चक्रलाई तोडेर सकारात्मक र यथार्थपरक सोचको विकास गराउँछ।
चेतनको कथा : अँध्यारोबाट उज्यालोतिरको यात्रा
यसको ज्वलन्त उदाहरण हुन्— २५ वर्षीय चेतन (परिवर्तित नाम)। लगातार लोकसेवा र अन्य रोजगारीका अन्तर्वार्तामा असफल भएपछि चेतन यति निराश भए कि उनले महिनौँसम्म कोठाबाट बाहिर निस्कन र मानिसहरूसँग बोल्न छाडे। उनका लागि संसार सकिएझैँ भएको थियो।
तर, जब परिवारको पहलमा उनलाई मनोविमर्शकर्ता सङ्ग भेट गर्न ल्याइयो, उनको जीवनले विस्तारै कोल्टे फेर्यो। पहिलो केही दिन बोल्न नचाहेका सुशान्तले विस्तारै आफ्ना कुण्ठा, असफलताको डर र भित्री पीडाहरू मनोविमर्शकर्तासामु पोखे। नियमित सेसनहरूपछि उनले महसुस गरे— एउटा परीक्षामा असफल हुनु भनेको पूरै जीवन असफल हुनु होइन। आज उनी एक सफल युवा उद्यमी बनेका छन् र आफ्ना साथीभाइलाई पनि मानसिक स्वास्थ्यको महत्त्व बुझाइरहेका छन्। उनी स्थायी जागिरे भन्दा सन्तुष्ट छन अहिले ।
समाज र राज्यको दायित्व
युवा पुस्तालाई यो विक्षिप्तताबाट जोगाउनु व्यक्ति वा परिवारको मात्र होइन, राज्य र समाजको पनि दायित्व हो। सञ्चारमाध्यम, विद्यालय र कलेजहरूमा मानसिक स्वास्थ्य र मनोविमर्शबारे खुला बहस हुनु जरुरी छ। “शारीरिक रूपमा बिरामी पर्दा डाक्टरकहाँ जान जति सामान्य हो, मन बिरामी पर्दा काउन्सिलरकहाँ जानु पनि त्यति नै सामान्य हो” भन्ने भाष्य समाजमा स्थापित गर्न ढिला भइसकेको छ।
यदि कोही युवा अस्वाभाविक रूपमा शान्त छ, झर्को मान्छ वा एक्लिन खोजिरहेको छ भने, उसलाई बेवास्ता गर्नुहुँदैन। परिवार वा साथीभाइले “म तिम्रो साथमा छु” भन्दै उसको कुरा सुनिदिने र आवश्यक परे विशेषज्ञकोमा लैजाने हो भने धेरै अप्रिय घटनाहरू रोक्न सकिन्छ। न्यूनीकरण गर्न सकिन्छ ।
निष्कर्ष : अवसर दिऔँ बाटो बदलौ –
जीवनका पानाहरू सधैँ उज्याला हुँदैनन्, कहिलेकाहीँ कालो पोतिन्छ। तर, एउटा पाना कालो हुँदैमा पूरै किताब च्यात्नु समाधान होइन। बाटो बिराएको वा जीवनदेखि हार मानेको महसुस गरिरहेका हरेक युवालाई आजका मनोविमर्शकर्ताहरूको एउटै सन्देश छ— “हार मान्नुअघि एकपटक आफ्ना भावना कसैसामु पोखेर हेर्नुहोस्। मनोविमर्शको साहारा लिनुहोस्। यो तपाईंको कमजोरी होइन, आफूलाई बचाउन गरिएको सबैभन्दा ठूलो साहस हो।”
साँच्चै नै, विक्षिप्तता जीवनको ‘पूर्णविराम’ होइन, यो त केवल एउटा ‘अल्पविराम’ मात्र हो। मनोविमर्शले त्यही अल्पविरामलाई नाघेर जीवनको नयाँ र सुन्दर वाक्य लेख्न सिकाइरहेको छ। समाजमा शसक्त शक्ति बनेर प्रतिस्पर्धा गर्न सक्छ । त्यसैले बिच्छिप्तता रहर होइन परिस्थितिको उपज हो त्यसलाइ फेस गरौ सफल जीवन बाचौ , हामी परामर्शदाता बैशाखी बनेर उनिहरुलाइ सफल यात्री बनाएर सङ्गै हिडाऔ ।
(बन्जारा पोखरा महानगरपालिकाबाट प्रशिक्षित मनोसामाजिक परामर्शदाता हुन )

प्रतिक्रिया दिनुहोस्