२०८३ आश्विन १४
०६१४४५०००, ९८५६०३३३९१

हस्ताक्षर नभएका मतपत्रलाई मान्यता दिएको भन्दै कांग्रेस कास्की–२ मा सिग्देलको आपत्ति

नेपाली काङ्ग्रेसको अधिबेशनको नतिजा सङ्गै विवाद  र असन्तुष्टिको आवाज गुन्जन थालेको छ ।  नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदको निर्वाचनमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्रलाई समेत मान्यता दिइएको भन्दै उम्मेदवार सुबास सिग्देलले आपत्ति जनाएका छन्।
बुधबार जारी प्रेस विज्ञप्तिमार्फत सिग्देलले निर्वाचनका क्रममा ३२ भन्दा बढी मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नरहेको दाबी गर्दै त्यस्ता मतपत्रलाई मान्यता दिने निर्णयप्रति गम्भीर असहमति जनाएका हुन्।
उनका अनुसार निर्वाचनसम्बन्धी प्रचलित नियम तथा व्यवस्थाअनुसार निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्रलाई अवैध मानिनुपर्ने व्यवस्था छ। तर, नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता देवराज चालिसेले हस्ताक्षर नभएका मतपत्रलाई समेत मान्यता दिने निर्णय गरेको भन्दै सिग्देलले त्यसप्रति विरोध जनाएका हुन ।
निर्वाचनको निष्पक्षता, पारदर्शिता र विश्वसनीयता लोकतान्त्रिक अभ्यासको आधार भएको उल्लेख गर्दै उनले स्थापित नियम र विधिलाई बेवास्ता गर्दा निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठ्ने बताएका छन्।
सिग्देलले उक्त निर्णय पुनरावलोकन गरी निर्वाचन प्रक्रियालाई विधिसम्मत, निष्पक्ष र पारदर्शी बनाउन माग गरेका छन्। साथै, सम्पूर्ण मतदाताको मताधिकार र विश्वासको सम्मान गर्नुपर्ने उनको भनाइ छ।
सिग्देल्ले  आफ्नो मुख्य मागका रूपमा कास्की क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदको निर्वाचन रद्द गरी पुनः निर्वाचन गर्नुपर्ने बताएका छन्।
विज्ञप्तिमा सिग्देलले पार्टीको लोकतान्त्रिक मूल्य, विधिको शासन र निष्पक्ष निर्वाचनप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। उनले निर्वाचन प्रक्रियामा देखिएको विवादलाई पार्टीको आन्तरिक लोकतन्त्र र निर्वाचन प्रणालीको विश्वसनीयतासँग जोडेर पुनरावलोकन गर्न नेतृत्वसमक्ष आग्रह गरेका छन्। उक्त क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक भए अनुसार नविनराज बरालले सभापतिमा जितेका छन ।

प्रतिक्रिया दिनुहोस्