२०८३ मंसिर ९
०६१४४५०००, ९८५६०३३३९१

सरस्वती आधारभूत विद्यालयलाई खेलकुद सामग्री सहयोग

पोखरा । खेलकुद ऊर्जा नेपालले पोखरा महानगरपालिका वडा नं. १८ स्थित सरस्वती आधारभूत विद्यालयलाई खेलकुद सामग्री सहयोग गरेको छ। विद्यालयमा अध्ययनरत बालबालिकामा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने, खेलकुद गतिविधिमा सहभागिता बढाउने तथा विद्यालयस्तरबाटै खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो।
विद्यालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना, विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद तिमिल्सिना, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, स्थानीय प्रतिनिधि तथा खेलकुद ऊर्जा नेपालका प्रतिनिधि र नेदरल्याण्ड्सबाट आएका अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा विद्यालय परिवारले खेलकुद ऊर्जा नेपालका प्रतिनिधि तथा अतिथिहरूलाई स्वागत गर्दै विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा खेलकुदको महत्वबारे जानकारी गराएको थियो। वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना र प्रधानाध्यापक नारायणप्रसाद तिमिल्सिनाले विद्यालयमा खेलकुद सामग्री उपलब्ध गराउँदा विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढ्ने, सक्रिय सहभागिता सुनिश्चित हुने तथा प्रतिभा विकासमा सहयोग पुग्ने बताए। उनीहरूले खेलकुद ऊर्जा नेपालले गरेको सहयोगको प्रशंसा गर्दै यस्ता रचनात्मक तथा सहयोगात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे।
खेलकुद ऊर्जा नेपालका अध्यक्ष निरज अधिकारीले बालबालिकालाई सानै उमेरदेखि खेलकुदमा सहभागी गराउँदै उनीहरूको रुचि, क्षमता र प्रतिभा विकास गर्ने संस्थाको उद्देश्य रहेको बताए। विद्यालय तथा समुदायमा खेलकुद सामग्रीको पहुँच विस्तार गर्दै बालबालिकाको खेलकुदप्रतिको रुचि र सहभागिता अभिवृद्धि गर्न संस्थाले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यालयलाई फुटबल, भलिबल, भलिबल नेट, बास्केटबल, बास्केटबल रिङ, कोन, चेस बोर्ड, ब्याडमिन्टन तथा स्किपिङ डोरीलगायतका खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो।
विद्यालय र समुदायस्तरमा खेलकुदको पहुँच विस्तार गर्दै बालबालिकालाई सक्रिय, अनुशासित र सिर्जनशील बनाउन यस्ता सहयोगात्मक कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्