२०८३ भाद्र २५
०६१४४५०००, ९८५६०३३३९१

कबाड व्यावसायिले गरे १० लाख सहयोग , मेयर आचार्यालाइ बुझाइयो

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि पोखराका कवाडी व्यवसायीहरूले करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका छन्।

पोखराका युवा व्यवसायी सुजन गुरुङको बिशेष सक्रियता र आह्वानमा कवाडी व्यवसायीहरूबाट सङ्कलित रकमबाट १० लाख रुपैयाँ बराबरका भाँडाकुँडा खरिद गरि सहयोग उपलब्ध गराइएको छ ।

सङ्कलित राहत सामग्री पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरिएको छ। सामग्रीमा १ सय ३० थान प्रेसर कुकर, १ सय ६५ थान कराई, डाडु र पन्यूँ तथा ६ सय–६ सय थान थाल, कचौरा, गिलास र चम्चा रहेका छन्। उक्त सामग्री १ सय ६५ परिवारका लागि पुग्ने गरी तयार गरिएको सहयोग अभियन्ता सुजन गुरुङले बताए ।

राहत सामग्री हस्तान्तरण गर्दै गुरुङले बाढीले घरसँगै खाना पकाउने भाँडाकुँडासमेत बगाएपछि प्रभावित परिवारको चुलो पुनः बाल्न सहयोग पुगोस् भन्ने उद्देश्यले राहत जुटाइएको बताए।

उनले विपद्को समयमा पीडामा परेका नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको बताए। उनका अनुसार कवाडी व्यवसायी साथीहरूलाई एकजुट बनाएर आफूहरूले सानो भए पनि सहयोगको प्रयास गरेका हुन्।

राहत सामग्री बुझेपछि महानगर प्रमुख आचार्यले कवाडी व्यवसायीहरूको सामाजिक उत्तरदायित्वको प्रशंसा गरे। उनले विपद् कुनै भूगोल वा क्षेत्र विशेषको मात्र नभई साझा पीडा भएकाले पोखराका व्यवसायीहरूले देखाएको सहयोग प्रशंसनीय रहेको बताए।

महानगरपालिकाले प्राप्त भाँडाकुँडालाई प्रतिपरिवार प्याकेज बनाएर १ सय ६५ घरधुरीमा वितरण गर्ने जनाएको छ। राहत सामग्री तीनवटा गाडीमा प्रभावित क्षेत्रतर्फ पठाइएको छ ।

भाँडाकुँडाबाहेक कवाडी व्यवसायीहरूले लत्ताकपडा, सिरक र डसना समेत सङ्कलन गरी सहयोग गर्ने तयारी गरेका छन्। यो सहयोगले पिडित हरुलाइ राहत पुग्ने निस्चित छ ।

प्रतिक्रिया दिनुहोस्