गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा दादुरा (Measles) रोगको प्रकोप देखिएको जनाएको छ। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार वडा नं. ७, ८ र ९ मा पछिल्ला तीन हप्तादेखि दादुराको संक्रमण फैलिएको हो।
२०८२ चैत ३ गतेसम्म उक्त क्षेत्रमा १६ जना शंकास्पद बिरामी पहिचान भएका छन्। संक्रमितमध्ये केहीको बुर्तिबाङ अस्पताल, बडिगाड स्वास्थ्य चौकी, ढोरपाटन प्राथमिक अस्पताल तथा पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। केही बिरामी उपचारपछि निको भएर घर फर्किएका पनि छन्।
प्रकोप नियन्त्रणका लागि मन्त्रालयले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार तथा स्थानीय तहसँग समन्वय गर्दै निगरानी, उपचार र रोकथामका कार्य तीव्र बनाएको जनाएको छ। प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरी घरदैलोमै निगरानी तथा खोजपडताललाई प्राथमिकता दिइएको छ।
त्यसैगरी, संक्रमण फैलिन नदिन बुर्तिबाङ अस्पताल र बडिगाड स्वास्थ्य चौकीमा आइसोलेसन वार्ड स्थापना गरिएको छ भने आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको समेत व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
दादुरा नियन्त्रणका लागि ‘Outbreak Response Immunization (ORI)’ अभियानअन्तर्गत ढोरपाटन नगरपालिकाका ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप अभियान सञ्चालन गरिएको छ। अभियानमार्फत हजारौं बालबालिकालाई खोप दिइएको र छुट भएका बालबालिकालाई थप खोप दिने व्यवस्था मिलाइएको छ।
मन्त्रालयले उच्च ज्वरो, शरीरमा रातो दाग देखिनु, रुघाखोकी, आँखा रातो हुनुजस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ। साथै, संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न पनि अनुरोध गरिएको छ।
मन्त्रालयले दादुरा नियन्त्रण तथा व्यवस्थापनमा सहयोग गर्ने स्वास्थ्यकर्मी, निकाय र सर्वसाधारणप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्