यदुनाथ बन्जारा
शिक्षाको गुणस्तर मेहनतको प्रतिफलमा भर पर्छ , मेहनत गर्न पर्याप्त समय चाहिन्छ ,त्यो समयको ब्यबस्थापन गर्ने काम राज्यको हो अर्थात शिक्षा नीति निर्माण र कार्यान्वयन राज्यको मुख्य दायित्व हो । शिक्षा सेवामुलक ब्यबसाय हो तर कतिपय अर्थमा शिक्षालाइ ब्यापारिक आँखा र जागिरको मनोबृतिबाट मुखरित छ । राज्यले नियम लागू गर्न नसक्दा यस्ता प्रवृत्ति हावी बन्दै गएको छ ।
पोखरा महानगरपालिका भित्र सञ्चालित निजी तथा सामुदायिक विद्यालय मध्ये ठूलो संख्यामा विद्यालयले अझै पनि बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा सञ्चालन गर्दै आएका छन् । विद्यालय सञ्चालनको सहजता, भौतिक संरचनाको अभाव तथा विद्यार्थीको चाप व्यवस्थापनका बहानामा वर्षौंदेखि कायम रहेको दुई सिफ्ट प्रणालीका कारण विद्यार्थीले पाउनुपर्ने न्यूनतम सिकाइ समयसमेत प्रभावित हुन थालेको छ । हुनुपर्ने पढाइ अबधी छोट्याएर दुई सिफ्टमा पढाइ हुँदै आएको छ त्यसको प्रत्यक्ष मार बिध्यार्थिले सहनुपरेको छ ।
विशेषगरी कक्षा ११ र १२ मा बिहान सञ्चालन हुने कक्षाको अवस्था झन् गम्भीर देखिएको छ । माध्यमिक तहको अन्तिम दुई कक्षा ११-१२ मा विद्यार्थीको शैक्षिक भविष्यसँग प्रत्यक्ष जोडिने विषयवस्तु अध्ययन गर्नुपर्ने भए पनि कतिपय विद्यालयमा नियमित पाँच घण्टाको पठनपाठन हुनुपर्ने अवस्थामा बिहानको कक्षा करिब साढे तीन घण्टामै सीमित हुने गरेको छ । बिहान ६.१५ बाट कक्षा सुरु गराइ ९.४५ मा छुट्टी गरेर त्यही भवन कक्षा कोठामा १-१० को पढाइ हुने गरेको छ ।यसले गम्भीर प्रश्न उब्जाएको छ निर्धारित पाठ्यभार पूरा नगरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा कसरी दिने ?
पोखरा महानगरपालिकालाई नै उदाहरण लिन सकिन्छ । महानगर भित्र संचालित निजी र सामुदायिक गरी ठूलो संख्यामा विद्यालय सञ्चालनमा छन् । तीमध्ये करिब आधा जसो विद्यालयमा अझै दुई सिफ्टमा पठनपाठन भइरहेको विद्यालय ब्यबस्थापन पक्षले बताउँछन् । बिहानको समयमा कक्षा सञ्चालन गरेर दिउँसो विद्यालयका अन्य कक्षा सञ्चालन गर्ने प्रचलन कतिपय विद्यालयमा लामो समयदेखि कायम छ ।
विद्यालयको भौतिक संरचना पर्याप्त नहुनु, विद्यार्थी संख्या धेरै हुनु र एउटै भवनबाट बढी विद्यार्थीलाई व्यवस्थापन गर्नुपर्ने बाध्यता देखाउँदै दुई सिफ्ट सञ्चालन गरिए पनि यसको प्रत्यक्ष असर विद्यार्थीको सिकाइ समय र शैक्षिक गुणस्तरमा परेको गुनासो बढ्दै गएको छ ।
पाँच घण्टाको पढाइ, साढे तीन घण्टामै सीमित
कक्षा ११ र १२ विद्यालय शिक्षाको महत्वपूर्ण चरण हो । उच्च शिक्षाको जग माध्यमिक तहको अन्तिम दुई कक्षामा विद्यार्थीले उच्च शिक्षामा प्रवेशका लागि आधार तयार गर्ने भएकाले विषयगत ज्ञान, अभ्यास, प्रयोगात्मक कक्षा तथा अतिरिक्त सिकाइका लागि पर्याप्त कक्षा समय आवश्यक हुन्छ ।
तर बिहान सञ्चालन हुने कतिपय कक्षामा विद्यार्थीले बिहान करिब साढे तीन घण्टा मात्र नियमित पढाइ गर्न पाउने अवस्था रहेको अभिभावक तथा विद्यार्थीको गुनासो छ ।
कक्षा सुरु हुने समय, बीचको विश्राम, शिक्षक तथा विषयगत व्यवस्थापनलगायतका कारण वास्तविक अध्यापन समय अझै घट्ने गरेको विद्यार्थीहरू बताउँछन् । यसरी तोकिएको पाठ्यभार र सिकाइ उपलब्धि हासिल गर्न आवश्यक समय नपुग्दा शिक्षकले पाठ्यक्रम पूरा गर्न हतार गर्नुपर्ने र विद्यार्थीले विषयवस्तु गहिराइमा बुझ्न नपाउने अवस्था सिर्जना हुन सक्छ । तर पोखरा महानगरको त्यसतर्फ ध्यान जान सकेको छैन ।
पोखरा महानगरमा यस अघिको नेतृत्व मेयर मान बहादुर जिसिको कार्यकालमा एकै सिफ्ट्मा बिध्यालय शिक्षा चलाउने बारेमा निर्णय गरि शिक्षा महाशाखा मार्फत बिध्यालयहरुलाइ २ पटक पत्राचार समेत भएको थियो , पत्राचार पछि पोखरा १ को राष्ट्रिय मा वि , १३ को भद्रकाली मावी लगायत केही सामुदायिक बिध्यालयले बिहानको सिफ्ट हटाएर दिउसोको सिफ्ट्मा झारेका थिए तर केही सामुदायिक र सस्थागत बिध्यालयले भने अटेर गर्दै आएका थिए । महानगरको नेतृत्व फेरिएर धनराज आचार्यको नेतृत्व आएपछी त्यो बिषय छायामा पर्यो । दुई बर्ष अघि सबै बिध्यालयका प्र अ भेलामा बिहान दिउँसो जुन सिफ्टमा पढाएपनी क्रेडिट आवर पुर्याएर पढाउनुस भन्ने अभिव्यक्ति दिएका थिए । मेयरले त्यस्तो अभिव्यक्ति दिए तर क्रेडिट आवर (पाठ्य भार ) पुगे नपुगेको बारेमा कहिल्यै खोजिनिती गरेको थाहा पाइएको छैन । दिनको ६ बिषय पढाइ हुने तर बिहानको कक्षा साढे तीन घन्टामा । के यहि होला त पुगेको क्रेडिट आवर ?
‘घण्टी गनेर पाठ्यक्रम सकाउने कि विद्यार्थीलाई बुझाएर पूरा समय पढाउने ?’ अहिलेको मुख्य प्रश्न यही बनेको छ । विद्यालयले तोकिएको पाठ्यक्रम र पाठ्यभार पूरा गरेको दाबी गरे पनि त्यसको वास्तविक प्रभाव विद्यार्थीको सिकाइ उपलब्धिमा कति परेको छ भन्ने विषयमा नियमित अनुगमन र मूल्याङ्कन आवश्यक देखिन्छ ।
विद्यालय सञ्चालनमा दुई सिफ्ट प्रणाली कानुन सम्मत मान्न सकिन्न यो एउटा ब्यापारिक उन्नयन मात्र हो । विद्यार्थी संख्या, भौतिक पूर्वाधार र स्थानीय आवश्यकताअनुसार देखाएर दुई सिफ्ट कक्षा चलाइको छ विद्यार्थीले पाउनुपर्ने न्यूनतम पठनपाठन समय नपुग्नु गम्भीर विषय हो ।
विशेषगरी कक्षा ११ र १२ मा कम समय पढाएर पूरा पाठ्यक्रम सम्पन्न गर्ने अभ्यासले विद्यार्थीको सिकाइको गहिराइमा असर पर्दै गएको छ , नतिजा पनि खस्किएको छ ११-१२ को । परीक्षा केन्द्रित भएर पाठ्यक्रमका विषयवस्तु छिटो–छिटो सकाउने प्रवृत्ति बढेमा विद्यार्थीले अवधारणा बुझ्ने, अभ्यास गर्ने र सिर्जनात्मक रूपमा सिक्ने अवसर गुमाउन सक्छन् । ६ वटा बिषयको पढाइ साढे ३ घन्टामा तमाम गर्दा कस्तो नतिजा आउला ? कति मिनेटको कक्षा होला बुझन गारो छैन ।
अभिभावकले शुल्क तिरेर आफ्ना छोराछोरीलाई विद्यालय पठाउँछन् । सामुदायिक विद्यालयमा राज्यको लगानी हुन्छ । दुवै अवस्थामा विद्यार्थीले तोकिएको समय र मापदण्डअनुसार गुणस्तरीय शिक्षा पाउनु उनीहरूको अधिकार हो । त्यसैले विद्यालयले पठनपाठनका लागि छुट्याएको समय र वास्तविक अध्यापन समयबीचको अन्तरबारे सम्बन्धित निकायले गम्भीरतापूर्वक हेर्नुपर्ने देखिन्छ । बिध्यालय सन्चालक र दोहोरो जागिर खाने शिक्षकको दवाबमा भएको हो भने त्यो सेटिङ हो ।
शिक्षा समितिको अनुगमन शुन्य
पोखरा महानगरपालिका अन्तर्गतको शिक्षा महाशाखा तथा । महानगर शिक्षा समितिको मुख्य जिम्मेवारीमध्ये विद्यालयको शैक्षिक गुणस्तर, सञ्चालन ब्यबस्थापन , पठनपाठनको नियमितता र विद्यार्थीको सिकाइ उपलब्धिको अनुगमन पनि हो । त्यसमा पनि बिध्यालय शिक्षा १०-४ लाई कार्यान्वयन गर्नु मुख्य दायित्व हो ।
तर महानगरभित्र लामो समयदेखि दुई सिफ्टमा सञ्चालन भइरहेका विद्यालयको अवस्था, कक्षा ११–१२ मा भइरहेको पठनपाठनको वास्तविक समय र पाठ्यभार पूरा भए–नभएको विषयमा प्रभावकारी अनुगमन हुन नसकेको गुनासो छ ।
विद्यालयलाई अनुमति दिने, कक्षा सञ्चालनको स्वीकृति दिने र आवश्यक निर्देशन जारी गर्ने निकायले त्यसको कार्यान्वयनको अवस्थासमेत हेर्नुपर्ने हुन्छ । के कति मापदण्ड पूरा भए कति सिट बिध्यार्थी पढ्न पढाउन अनुमती दिने भन्ने कुरा एकिन गरिनु पर्छ । खेल मैदान छैन , भुकम्प प्रतिरोध गर्ने भवन छैन , पुर्बाधार बिकाश छैन , खोरमा बाख्रा कोचे जसरी बिध्यार्थी कोच्न अनुमती दिइएको छ त्यसको खास डाटा राज्य सङ्ग छैन । कागजमा विद्यालय सञ्चालनको अवस्था ठीक देखिए पनि कक्षाकोठाभित्र विद्यार्थीले वास्तवमा कति समय गुणस्तरीय शिक्षा पाइरहेका छन् भन्ने विषयको निगरानी गर्नु अझ महत्वपूर्ण हो ।
शिक्षा समितिले गुणस्तर सुधारका लागि ठोस योजना बनाएर नियमित अनुगमन नगर्ने हो भने दुई सिफ्टको नाममा पठनपाठनको समय घट्ने र विद्यार्थीको सिकाइ कमजोर हुने समस्या थप गम्भीर बन्न सक्छ भन्ने कुरा राज्य सन्चालक , शिक्षा मन्त्रालय र प्रदेश सरकार र पालिकालाई हेक्का छ तर न नियमन छ न कारबाही नै ।
विद्यालय तहको दुई सिफ्ट कहिलेसम्म ?
पोखरा महानगरपालिका देशकै प्रमुख शैक्षिक केन्द्र मध्ये एक हो । यहाँका विद्यालयले गुणस्तरीय शिक्षाको नमुना प्रस्तुत गर्नुपर्ने अपेक्षा गरिन्छ । तर एउटै भवन र सीमित पूर्वाधार व्यवस्थापन गर्न भन्दै वर्षौंदेखि दुई सिफ्ट सञ्चालन भइरहने र त्यसको मार विद्यार्थीको पढाइमा पर्ने हो भने महानगरको शैक्षिक व्यवस्थापनमाथि प्रश्न उठ्नु स्वाभाविक हो ।
महानगरपालिकाले कुन–कुन विद्यालय दुई सिफ्टमा सञ्चालित छन्, किन दुई सिफ्ट आवश्यक परेको हो, प्रत्येक सिफ्टमा वास्तविक पठनपाठन समय कति छ, बिध्यार्थी कति बजे देखि कति बजेसम्म कक्षा ११–१२ को कक्षा पढ्छन भन्ने कुराको एकिन तथ्यांक लिएर नीति बनाउनुपर्छ ।
त्यसैगरी विद्यालयको भौतिक पूर्वाधार विस्तार गरेर क्रमशः दुई सिफ्ट अन्त्य गर्ने दीर्घकालीन योजना पनि आवश्यक देखिन्छ । तर कहिले हुन्छ महानगर जवाफदेही ? बोर्डिङ सन्चालकहरु नै महानगर शिक्षा समितिका सदस्य रहेका कारण स्वार्थ बाझिएकोछ । उनिहरुले मेयरलाइ दवाब दिएर दुई सिफ्ट पढाउने बाताबरण मिलाएका छन ।
शिक्षाको गुणस्तर भाषण र नीतिले मात्र सुध्रिँदैन । विद्यार्थीले कक्षाकोठामा पाउने गुणस्तरीय समय, योग्य शिक्षक, पर्याप्त अभ्यास र प्रभावकारी अनुगमन नै यसको आधार हो । ५ घन्टा पूरा
पड्नुपर्ने पाठ्रय भारलाइ साढे ३ घन्टा पढाएर नितिगत भ्रष्टाचार गरेका छन तर पनि राज्य मौन रहनु बिडम्बनाको कुरा छ । पोखरा महानगरपालिकाले अब प्रश्नको सामना गर्नुपर्ने बेला आएको छ– विद्यार्थीको पाठ्यभार नपुग्ने गरी बिहानको साढे तीन घण्टे कक्षा कहिलेसम्म चलिरहने ? विद्यालय तहको दुई सिफ्ट कहिलेसम्म कायम रहने ?
यी प्रश्नको जवाफ अभिभावक र विद्यार्थीले मात्र होइन, महानगरपालिकाको शिक्षा प्रशासनले , शिक्षा मन्त्रालयले दिनुपर्ने समय आएको छ ।
२०८३ मा नियम फेरियो तर समस्या अझै उस्तै
यसबीच विद्यालय शिक्षाको कार्यघण्टा व्यवस्थापनमा नयाँ परिवर्तनसमेत आएको छ । २०८३ मा सातामा दुई दिन सार्वजनिक बिदा लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालयको पठनपाठन समय र कार्यघण्टा मिलान गर्ने नयाँ व्यवस्था गरेको छ । तर पनि कार्य घन्टा थपिएको छैन । हप्तामा ५ दिन साढे ३ घन्टा पढाएर कसरी हुन्छ गुणस्तर मेन्टेन ? यो शिक्षामा भएको ठूलो गद्दारिको रुपमा लिइएको छ ।
नयाँ व्यवस्थाअनुसार विद्यालय तहमा तोकिएको पाठ्यघण्टा नघट्ने गरी विद्यालयको समय निर्धारण गर्नुपर्ने र कक्षा ९ देखि १२ सम्म कम्तीमा ३७ पाठ्य घण्टा अर्थात् वार्षिक १ हजार १८४ कार्यघण्टादेखि बढीमा ४२ पाठ्यघण्टा अर्थात् १ हजार ३४४ कार्यघण्टासम्म पठनपाठन गर्नुपर्ने व्यवस्था गरिएको विवरण सार्वजनिक भएको छ तर स्कुल सन्चालक मान्दैन त्यो निर्देशन । बोर्डिङहरुले नाफा कमाउन र सामुदायिक बिध्यालयहरुले दोहोरो तलब खान दुई सिफ्ट चलाउदै आएका छन । छोरेपाटन माविले बिहानिको कक्षा पनि चलाएको छ , प्रधानाध्यापक डिल्लिराम पढाई ६ बजे देखि ११ बजेसम्म गरेको बताउछन । त्यहा कक्षा कोठा पुगेको छ तर पनि बिहानी सिफ्ट पढाइ गरेर १२-१३ जना शिक्षकले दोहोरो जागिर खाएका छन । सबैको स्वार्थ मिल्यो तर कानुनको धज्जी उडाइयो ।
पोखराका नाम चलेका सामुदायिक बिध्यालय कालिका मावि रामबजार , अमरसिंह मावि , नवीन मावि गैरापाटन , बिन्ध्यबासिनी मावि बरपाटन , बालमन्दिर मावि नदिपुर , छोरेपाटन मावि , जनप्रकाश मावि भन्डारढिक लगायतका सामुदायिक बिध्यालयले बिहान र दिउँसो गरि दुई सिफ्ट स्कुल चलाएका छन । यस्तै सस्थागत तर्फ प्रतिभा मावी पालिखेचोक , सृजना बोर्डिङ सृजना चोक , शिशुनिकेतन बिरौटा , टप्स मावी रामघाट , ग्लोबल कालिजियट रानिपौवा , लगायतका छ्न ।
शिक्षामन्त्री सस्मित पोखरेल , प्रदेश शिक्षा हेर्ने मन्त्री रेखा गुरुङ र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले बिध्यार्थिको शैक्षिक गुणस्तरमा कहिले सोच्ने ? केही सिमित पात्रहरुको स्वार्थमा शैक्षिक गुणस्तरलाई कहिले सम्म बन्धकी राखेर बिध्यार्थिको भविष्य माथि खेलवाड गरिरहने ? दवाव र प्रवावको घेरा कहिले तोढ्ने ? हप्तामा दुई दिन बिदा हुदा कति पढ्छन बिध्यार्थिले ? अझै उदाशिन भएर कहिले सम्म कुम्भकर्ण निन्द्रामा पर्ने ?


प्रतिक्रिया दिनुहोस्