कास्की । काङ्ग्रेस गगन समुहले क्षेतृय तह सम्मको अधिबेशन सम्पन्न भइरहदा देउवा समुहले पनि अस्तित्वको लडाइमा होमिएको छ । यसक्रममा कास्किका वभिन्न पालिकाहरुमा सयोजक तोकेर महाधिवेशनको तयारी अगाडि बढाइएको छ ।
नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिका महाधिवेशन तयारी समितिका संयोजक माधव आचार्यले पार्टीलाई गुटभन्दा माथि उठाएर जनताको भरोसाको संगठनका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
आचार्यले माछापुच्छ्रेको प्राकृतिक स्रोत, पर्यटन, कृषि, जलस्रोत र जडीबुटीलाई स्थानीय विकासको आधार बनाउनुपर्नेमा जोड दिएका छन्। मर्दीखोलालगायत पानीका मुहानको संरक्षण गर्दै खानेपानी, सिँचाइ र जलविद्युत्लाई एकीकृत रूपमा अघि बढाउनुपर्ने उनको धारणा छ। पर्यटनबाट स्थानीय युवालाई रोजगारी र उद्यमको अवसर सिर्जना गर्ने तथा कृषि उत्पादनलाई पर्यटनसँग जोडेर बजार विस्तार गर्नुपर्ने उनले बताएका छन्।
उनले राजनीतिको मूल्यांकन सामाजिक सञ्जालमा प्राप्त हुने लाइक, कमेन्ट र भ्युजका आधारमा नभई जनताको घरदैलोमा पुगेर गर्नुपर्ने उल्लेख गरेका छन्। बाढीपहिरोपीडितको अवस्था बुझ्ने, किसानका समस्या सुन्ने, युवाको रोजगारीका सवाल उठाउने र जनताको सुख–दुःखमा साथ दिने राजनीतिक संस्कार आवश्यक रहेको उनको भनाइ छ।
कांग्रेसको अधिवेशनलाई केवल नेतृत्व चयन गर्ने प्रक्रिया नभई संगठन पुनर्जागरणको अवसरका रूपमा लिनुपर्ने आचार्यले बताएका छन्। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा प्रविधिलाई जोडेर पार्टीलाई वर्षभरि जनतासँग जोडिएको संगठन बनाउनुपर्ने उनको जोड छ।
माछापुच्छ्रे क्षेत्रमा पार्टीभित्र देखिएको असन्तुष्टि र सांगठनिक असन्तुलन हटाउन सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता पनि आचार्यले व्यक्त गरेका छन्। लामो समय योगदान गरेका अग्रज, अवसरबाट वञ्चित युवा तथा क्षमतावान् कार्यकर्तालाई उचित स्थान दिनुपर्ने उनले बताएका छन्।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको असरप्रति पनि उनले चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणलाई विकास योजनाको अभिन्न हिस्सा बनाउनुपर्ने बताएका छन्। मर्दीको पानीजस्तै पारदर्शी र माछापुच्छ्रे हिमालजस्तै अटल कांग्रेस निर्माण गर्ने लक्ष्यसहित अधिवेशनलाई एकता र संगठन पुनर्निर्माणको अवसर बनाउनुपर्ने उनको निष्कर्ष छ। गगन समुहले गरेको अधिबेशनमा असन्तुष्ट बन्न पुगेका , पुरानै बाटो समातेको भन्दै चरम असन्तुष्ट बनेकाहरु बरु पुरानै ठिक रहेछ भन्दै पुरानै मुल घरमा फर्कन थालेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्