देवीभक्त ढकाल
मानव शरीर कुनै कारखाना वा कृत्रिम यन्त्र होइन,यो त प्रकृति स्वयंको एक अद्वितीय,स्वायत्त र चेतनामय प्रतिरूप हो। पञ्चमहाभूत पृथ्वी,जल,तेज, वायु र आकाशको सूक्ष्म सन्तुलन तथा लयबद्धतामा नै मानव जीवनको अस्तित्व टिकाउ रहन्छ।जबसम्म मनुष्य प्रकृतिको यो नैसर्गिक नियम र लयसँग एकाकार भएर बाँच्दछ, तबसम्म उसलाई आरोग्यता प्राप्त भइरहन्छ।तर, आधुनिकताका नाममा जब मानव जातिले प्राकृतिक जीवन पद्धतिबाट विमुख भई अप्राकृतिक,कृत्रिम र प्रविधिसञ्चालित जीवनशैली अङ्गीकार गर्यो,तबदेखि नै आरोग्यताको स्थान रोग र व्याधिले ओगट्न थाले।यही दार्शनिक तथा वैज्ञानिक पृष्ठभूमिमा प्राकृतिक चिकित्साको महत्त्व प्रकट हुन्छ।प्राकृतिक चिकित्सा केवल एउटा उपचार पद्धति मात्र होइन,यो त मानव स्वास्थ्य,जीवनको परम लक्ष्य र प्रकृतिबीचको गहिरो अन्तरसम्बन्धलाई पुनर्जागृत गराउने जीवन-दर्शन (Philosophy of Life) हो।
प्राकृतिक चिकित्सा र मानव स्वास्थ्यको अन्तरसम्बन्धलाई बुझ्न सर्वप्रथम शरीरको आत्म-आरोग्यताको सामर्थ्य (Self-healing mechanism) लाई बुझ्न आवश्यक छ।प्रत्येक जीवभित्र रोगसँग लड्ने र आफूलाई स्वयं सच्याउने एउटा आन्तरिक जैविक संयन्त्र क्रियाशील हुन्छ। जब शरीरमा विजातीय द्रव्य (Toxins) हरू सञ्चित हुन्छन्, तब शरीरले तिनलाई बाहिर निकाल्न विभिन्न प्रतिक्रियाहरू मार्फत सूचना सम्प्रेषण हुन्छ।त्यो भाषा बुझ्नु नै प्राकृतिक चिकित्सा विधाको न्यूनतम ज्ञान हो।प्राकृतिक चिकित्साको मूल मर्म नै के हो भने शरीरमा देखिने ज्वरो, झाडापखाला,हाछ्युँ वा छालाका चिलाउने समस्याहरू रोगका अन्तिम लक्षण मात्र हुन्, यी वास्तवमा स्वयम् रोग होइनन्।यी त शरीरले आफूलाई शुद्ध बनाउन र आन्तरिक सन्तुलन कायम गर्नका लागि चलाएको प्राकृतिक रक्षात्मक अभियान हुन्।आधुनिक चिकित्सा पद्धति (Allopathy) ले प्रायःयी प्राथमिक लक्षणहरूलाई दबाउने (Symptomatic suppression) प्रयास गर्दछ। जसका कारण विजातीय द्रव्यहरू अझ गहिरो गरी तन्तु (Tissues) र अङ्गहरूमा जम्मा हुन पुग्छन् र कालान्तरमा तिनै दबाइएका विकारहरूले नसर्ने दीर्घकालीन रोग (Non-communicable chronic diseases) को रूप लिन्छन्। यसको विपरीत, प्राकृतिक चिकित्साले शरीरको स्वाभाविक शुद्धीकरण क्षमतालाई पञ्चमहाभूतको प्रयोगद्वारा जागृत गराई रोगलाई समूल निर्मूल पार्ने कार्य गर्दछ।
आधुनिक चिकित्सा पद्धतिको तुलनामा प्राकृतिक चिकित्सा मानव स्वास्थ्यका लागि एक महान् वरदान हो भन्ने तथ्य निर्विवाद छ।आधुनिक चिकित्साले आपत्कालीन अवस्था (Emergency Care), शल्यक्रिया (Surgery) र सङ्क्रामक जीवाणुहरूको तत्काल नियन्त्रणमा भने निश्चय नै ठूलो क्रान्ति ल्याएको छ।तर,यसको सीमितता के छ भने यसले रोगलाई छुट्टै बाह्य शत्रु मान्छ र मानिसको शरीरलाई केवल अलग-अलग पुर्जाहरूको सङ्ग्रहका रूपमा हेर्छ। आधुनिक औषधिहरूले तत्कालको लागि दुखाइ वा लक्षण दबाउन त मद्दत गर्छन्, तर तिनले निम्त्याउने पार्श्व प्रभाव (Side-effects) ले शरीरका अन्य महत्त्वपूर्ण अङ्गहरू जस्तै मिर्गौला,कलेजो र मुटुलाई शिथिल बनाउँछन्। अर्कोतर्फ,प्राकृतिक चिकित्साले मानव शरीरलाई एक एकीकृत सम्पूर्णता (Holistic Entity) को रूपमा स्वीकार गर्दछ।यस पद्धतिमा औषधिको रूपमा कुनै रासायनिक तत्त्व दिइँदैन,बरु माटो,जल,घाम,शुद्ध हवा र उपवास जस्ता प्राकृतिक घटकहरूमार्फत शरीरको जीवनी शक्ति (Vital Force) लाई जागृत गराइन्छ।आधुनिक चिकित्सा पद्धति प्रायःमहँगो हुन्छ,जसले दीर्घकालीन रोगीलाई जीवनभर औषधिको निर्भरतामा राख्छ।तर प्राकृतिक चिकित्साले व्यक्तिलाई आफ्नै शरीरको चिकित्सक बन्न सिकाउँछ।यसले केवल रोग हटाउने काम मात्र गर्दैन,बरु व्यक्तिको शारीरिक,मानसिक र आध्यात्मिक चेतनालाई उच्च स्तरमा पुर्याएर पूर्ण आरोग्यता प्रदान गर्दछ।त्यसैले,बिना कुनै पार्श्व प्रभाव मानिसलाई जीवनभर निरोगी र ऊर्जावान् बनाइराख्न सक्ने भएकाले प्राकृतिक चिकित्सा आधुनिक मानव सभ्यताका लागि एउटा वरदान साबित भएको हो।
दीर्घकालीन स्वास्थ्यको मुख्य आधार जीवनशैली नै हो भन्ने कुरा प्राकृतिक चिकित्साको सिद्धान्तमा केन्द्रीय रूपमा जोडिएको छ।आधुनिक युगमा देखिने अधिकांश जटिल रोगहरू जस्तै मधुमेह,उच्च रक्तचाप,मुटुरोग,पक्षघात, मोटोपना,बाथरोग र क्यान्सर जस्ता समस्याहरू कुनै सङ्क्रामक जीवाणुका कारण नभई गलत आहारविहार, अस्तव्यस्त दिनचर्या, तनावपूर्ण सोच र अप्राकृतिक वातावरणको प्रत्यक्ष परिणाम हुन्। मानिस कुन समयमा उठ्छ,कस्तो भोजन गर्छ, कत्तिको शारीरिक श्रम वा योग गर्छ,कसरी सोच्छ र प्रकृतिको प्रकाश एवं वायुसँग कत्तिको सामिप्य राख्छ भन्ने कुराले नै उसको दीर्घकालीन आयु र स्वास्थ्यको निर्धारण गर्दछ। मानव शरीरको जैविक घडी (Circadian Rhythm) प्रकृतिको चक्रसँग जोडिएको छ।जब मानिसले ब्रह्ममुहूर्तको जागरण,सूर्यको किरणसँगको सम्पर्क,प्राकृतिक सात्विक आहार र रातिको समयमा पर्याप्त निद्रा जस्ता नैसर्गिक नियमहरूलाई त्याग्छ,तब शरीरभित्र हर्मोनको असन्तुलन उत्पन्न हुन्छ।विषाक्त पदार्थहरू कोषहरूमा जम्मा हुन थाल्छन् र पाचन शक्ति मन्द हुन्छ। आयुर्वेद र प्राकृतिक चिकित्सा दुवैमा भनिएको छ कि सम्पूर्ण रोगहरूको उत्पत्ति मन्द अग्नि र दूषित आन्द्रा (Gut health) बाट हुन्छ।गलत जीवनशैलीले पाचन प्रणालीलाई ध्वस्त पार्छ, जसबाट उत्पादित विकारले रक्तसञ्चारलाई विषाक्त बनाउँछ।त्यसैले,दीर्घकालीन आरोग्यका लागि कुनै चामत्कारिक औषधि वा प्रविधि होइन,बरु जीवनशैलीमा ल्याइने प्राकृतिक र सन्तुलित रूपान्तरण नै एकमात्र दिगो बाटो हो।जीवनशैली सुधार्नु भनेको रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने पूर्वसावधानी अपनाउनु हो।
प्राकृतिक चिकित्साका माध्यमबाट सिङ्गो देशका नागरिकलाई निरोगी र सबल बनाउनका लागि एक व्यापक, बहुआयामिक र दूरदर्शी राष्ट्रिय कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनु अत्यावश्यक भइसकेको छ। यस कार्ययोजनाको पहिलो र मुख्य स्तम्भ भनेको शिक्षा र चेतनाको जग बसाल्नु हो। देशका प्राथमिक विद्यालयदेखि विश्वविद्यालय स्तरसम्मको पाठ्यक्रममा प्राकृतिक जीवनशैली,पञ्चमहाभूतको महत्त्व,सात्विक आहार र व्यक्तिगत स्वच्छताका व्यावहारिक पक्षहरूलाई अनिवार्य विषयका रूपमा समावेश गरिनुपर्छ। बाल्यावस्थादेखि नै बालबालिकाहरूलाई प्रकृतिसँग जोड्ने,माटो र हरियालीसँगको सम्पर्क बढाउने र प्रशोधित तथा अस्वास्थ्यकर खानपान (Junk food) बाट टाढा रहने संस्कारको विकास गरिनुपर्दछ।जब नागरिकहरू सानै उमेरदेखि आफ्नो स्वास्थ्यप्रति स्वयं जिम्मेवार बन्न सिक्छन्,तब मात्र निरोगी समाजको आधारशिला तयार हुन्छ।
कार्ययोजनाको दोस्रो महत्त्वपूर्ण आयाम भनेको स्वास्थ्य नीतिको पुनर्संरचना र प्राकृतिक चिकित्सालाई राष्ट्रिय स्वास्थ्य प्रणालीको मूलधारमा एकीकृत गर्नु हो।हालसम्मको सरकारी स्वास्थ्य बजेट र योजनाहरू प्रायःअस्पताल निर्माण र औषधि खरिदमा मात्र सीमित छन्,जसले रोग लागिसकेपछिको उपचारलाई मात्र प्राथमिकता दिन्छ।यस नीतिको सट्टा रोग प्रतिरोधात्मक र स्वास्थ्य प्रवर्द्धनात्मक (Preventive and Promotive) नीतिलाई प्राथमिकता दिनुपर्छ।देशका प्रत्येक स्थानीय तह,वडा र गाउँपालिकाहरूमा प्राकृतिक चिकित्सा तथा योग आरोग्य केन्द्रहरूको स्थापना गरिनुपर्छ। यी केन्द्रहरू केवल रोगको उपचार गर्ने थलो मात्र नभई स्थानीय नागरिकहरूलाई आहार,विहार,योग,ध्यान, उपवास र पञ्चमहाभूत चिकित्साका व्यावहारिक विधिहरू सिकाउने ‘जीवनशैली रूपान्तरण पाठशालाको रूपमा सञ्चालित हुनुपर्दछ।
यस कार्ययोजनाको तेस्रो स्तम्भ जैविक कृषि र माटो संरक्षणसँग जोडिएको छ। मानिसले जे खान्छ,उस्तै उसको शरीर र मन बन्दछ।यदि कृषिमा अत्यधिक रासायनिक मल, कीटनाशक र विषदीहरूको प्रयोग जारी रह्यो भने नागरिकहरूलाई निरोगी बनाउन असम्भव छ।त्यसैले प्राकृतिक चिकित्साको राष्ट्रिय अभियानलाई प्राङ्गारिक एवं जैविक कृषिसँग प्रत्यक्ष रूपमा जोड्नुपर्छ।माटोको जैविक गुण र सूक्ष्म पोषक तत्त्वहरूलाई बचाएर उत्पादन गरिएका खाद्यान्न,फलफूल र सागपातको उपलब्धता सुनिश्चित गरिनुपर्छ। प्राचीन कृषिग्रन्थहरूको ज्ञान र आधुनिक प्राङ्गारिक प्रविधिलाई मिलाएर विषादीमुक्त खाद्यान्न उत्पादन गर्नु नागरिकलाई गम्भीर रोगहरूबाट बचाउने सबैभन्दा ठूलो राष्ट्रिय रोकथाम उपाय हो।
कार्ययोजनाको चौथो आयाम भनेको उच्चस्तरीय जनशक्ति उत्पादन,उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको विकास गर्नु हो। प्राकृतिक चिकित्सालाई केवल परम्परागत वा अनुभवमा आधारित विद्यामा मात्र सीमित नराखी यसलाई आधुनिक विज्ञान,शरीरक्रिया विज्ञान (Physiology) र बायोकेमिस्ट्रीका कसीमा राखेर अध्ययन-अनुसन्धान गरिनुपर्छ। यसका लागि देशमा प्राकृतिक चिकित्सा तथा योग विज्ञान विषयमा उच्च स्तरीय स्नातक (BNYS) र स्नातकोत्तर तहका अध्ययन संस्थानहरू तथा मानित विश्वविद्यालयहरूको स्थापना र सुदृढीकरण गरिनुपर्छ।दक्ष प्राकृतिक चिकित्सक (Naturopathic Physicians) हरूको उत्पादन बढाएर उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय अस्पतालहरूसम्म पदस्थापन गरिनुपर्छ।यसका साथै,नेपालमा उपलब्ध बहुमूल्य जडीबुटी,खनिज,शुद्ध जलवायु र प्राकृतिक स्रोतहरूको प्रयोग गरी प्राकृतिक चिकित्सामा आधारित अनुसन्धानात्मक अध्ययनहरूलाई प्रोत्साहन गरिनुपर्छ।
पाँचौँ आयाम भनेको जनस्वास्थ्य जागरणका लागि व्यापक सञ्चार र सामुदायिक अभियान सञ्चालन गर्नु हो।
सञ्चारमाध्यम,सामाजिक सञ्जाल र नागरिक समाजका विभिन्न मञ्चहरूमार्फत दैनिक जीवनमा प्राकृतिक चिकित्साका सरल विधिहरूको प्रयोगबारे चेतना फैलाउनुपर्छ। खाली खुट्टा घाँसमा हिँड्ने (Earthing), सूर्यको किरण लिने,शुद्ध जलको उचित प्रयोग, आन्द्राको शुद्धीकरण,सन्तुलित उपवास र प्राणायामका फाइदाहरूबारे जनमानसमा सरल भाषामा जानकारी पुर्याइनुपर्छ।बहुराष्ट्रिय कम्पनीहरूद्वारा उत्पादित हानिकारक पेय पदार्थ र अप्राकृतिक जीवनशैलीको प्रचारलाई नियन्त्रण गर्दै प्राकृतिक र स्थानीय खानपानलाई राष्ट्रिय पहिचानको रूपमा प्रवर्द्धन गरिनुपर्छ।
अन्ततः, प्राकृतिक चिकित्सा कुनै अतीतमुखी वा आधुनिक विज्ञान विरोधी अवधारणा होइन।यो त आधुनिक विज्ञानको अति-रासायनिक र अप्राकृतिक एकाङ्गीपनलाई सन्तुलित बनाउने एक उच्च तथा परिपक्व जीवन-दृष्टि हो। रोग लाग्नै नदिनु र यदि लागेमा पनि प्राकृतिक तरिकाले शरीरकै आन्तरिक शक्तिलाई जगाएर स्वास्थ्य पुनर्स्थापना गर्नु नै यसको शाश्वत सत्य हो। जब कुनै देशका नागरिकहरू शारीरिक रूपमा निरोगी, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा सन्तुलित हुन्छन्,तब मात्र त्यो देशले वास्तविक विकास र समृद्धि हासिल गर्न सक्छ।राष्ट्रिय स्वास्थ्य नीतिको केन्द्रमा प्राकृतिक चिकित्सा र प्राकृतिक जीवनशैलीलाई राखेर अघि बढ्न सकेमा नेपाल विश्वसामु आरोग्यता र प्राकृतिक उपचारको एउटा अद्वितीय केन्द्र (Global Wellness Hub) को रूपमा स्थापित हुन सक्छ। प्रकृतितर्फको यो पुनरागमन नै आधुनिक मानव सभ्यतालाई विनाश,मानसिक तनाव र नसर्ने रोगहरूको महामारीबाट बचाउने एकमात्र दिगो एवं कल्याणकारी मार्ग हो।
[लेखक ढकाल > नेपालको सबैभन्दा ठूलो र जेठो सामुदायिक प्राकृतिक चिकित्सालय रजहरले आगामी वर्ष देखि सञ्चालन गर्ने प्राकृतिक चिकित्सामा स्नातक BNYS प्राकृतिक चिकित्सा विज्ञान कलेजका प्राचार्य हुनुहुन्छ ]


प्रतिक्रिया दिनुहोस्