२०८२ बैशाख ११
०६१४४५०००, ९८५६०३३३९१

छोरेपाटनको टनेल उद्घाटन पछि चलेन, मन्त्रालय भन्छ–‘टनेल स्प्रे हानिकारक हुन्छ’

लकडाउनमा पोखरा महानगर प्रवेश गर्ने दोस्रो ठूलो नाका पोखरा १७ छोरेपाटनमा प्रहरी, स्वस्थ्यकर्मी सहितको टोली खटाइएको छ । अस्पताल जाने, विरामी भेट्न जाने, जरुरी काम छ भन्दै यता र उता मोटरसाइकल र कार दौडाउने, एम्वुलेन्समा विरामी भन्दै यात्रु ओसार्ने कार्य गर्दै आएकाहरुको वाक्लो भिड लाग्ने गरेको छ । प्रहरीलाई सोधपुछ गर्दैको हैरानी छ ।
छोरेपाटनमा थर्मल गनबाट तापक्रम नाप्ने काम मात्र भएको छ । प्रहरीको चेकिङ सोधपुछ वाहेक डिस्इन्फेक्टेड स्प्रे टनेल पनि राखिएको छ । रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानबाट सौजन्य प्राप्त उक्त टनेल सोमवार विहान माननीय विद्या भट्टराई (अधिकारी) र पोखरा महानगरका प्रमुख मान वहादुर जिसीबाट उद्घाटन गरेर गएपछि अटो सेनिटाइजर टनेल दिनभरी वन्द रहेको थियो ।
विजुली जोड्ने व्यवस्था मिलाउन नसक्दा प्रतिष्ठानबाट सौजन्य प्राप्त भई आएको डिस इन्फेक्टेड स्प्रे टनेल चलाउन नसक्ने अवस्था आएपछि सोमवार दिनभर टनेलको उपयोग भएको छैन । उद्घाटन मात्र गरेर केहि मिनेट चलाइएको टनेल अव चल्छ कि चल्दैन यसै भन्न सकिने अवस्था छैन ।
स्वास्थ्य मन्त्रालयले टनेल स्प्रे बाट छर्किने विसादी पानी मानव शरिरका लागि हानिकार हुने चेतावनी दिएको छ । मानव स्वास्थ्यलाई उपयोगी त के उल्टै हानी हुने केमिकल स्प्रे टनेल किन राखियो भन्ने अर्को प्रश्न उव्जिएको छ । यदी यस्ता प्रविधि उपयुक्त नहुने हो भने कसको सिफारिसमा यो काम गरियो भन्ने विषय उठेको छ । स्वास्थ्यको यो संकटको घडीमा प्रविधिको नाममा कमिशन र कमाउ धन्दा त होइन भन्ने तर्फ पनि सोच्न वाध्य पारेको छ । टनेलको वारेमा स्वास्थ्य मन्त्रालयबाट प्राप्त धारणा लाई तत्काल स्पष्ट पार्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्