गण्डकी प्रदेश बिजुलि उत्पादनको प्रचुर सम्भावना बोकेको प्रदेश हो । पहाडी र हिमाली गाउँ मात्र होइन पोखरा महानगरपालिकाभित्र निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति सुरु गरेको छ । पोखरा–३३ तिक्लाङस्थित सेतीखोला हाइड्रोपावर लिमिटेडको २२ मेगावाट क्षमताको आयोजनाबाट सोमबारदेखि विद्युत उत्पादन थालिएको हो ।
नेपाल विद्युत प्राधिकरणका प्राविधिकले अनुगमन गरी मिटरमा सिलबन्दी गरेपछि आयोजना सञ्चालनमा आएको कम्पनीले जनाएको छ । आयोजनाको औपचारिक उद्घाटन भने आगामी शुक्रबार गर्ने तयारी गरिएको छ । उत्पादन सुरु भएसँगै पहिलो १५ दिन नेपाल विद्युत प्राधिकरणलाई परीक्षणका रूपमा विद्युत उपलब्ध गराइने छ । त्यसपछि आयोजनाले व्यावसायिक रूपमा विद्युत बिक्री सुरु गर्ने लिमिटेडका निर्देशक दिपक बरालले बताए ।
यो आयोजना पोखरा महानगरपालिकाभित्र सञ्चालनमा आएको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । पोखरा–३३ तिकलाङमा बाँध निर्माण गरिएको छ । त्यहाँबाट पानी सुरुङमार्ग हुँदै पुँडीटारस्थित पावरहाउसमा पुर्याइएको छ । पेनस्टक पाइपमार्फत पानी खसालेर विद्युत उत्पादन भइरहेको छ ।
आयोजनाका लागि ३ हजार १ सय ६ मिटर लामो सुरुङ निर्माण गरिएको छ । पावरहाउसमा ११–११ मेगावाट क्षमताका दुइटा टर्बाइन जडान गरिएको कम्पनीले जनाएको छ । लिमिटेडले उत्पादित विद्युत २ किलोमिटर लामो प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ । सो दूरीमा ५ वटा टावर निर्माण गरिएका छन् । तीमध्ये ३ वटा टावर जंगल क्षेत्रमा परेका छन् ।
आयोजनाका साइट इन्जिनियर अनुसार प्रसारण लाइन निर्माणका लागि वन मन्त्रालयबाट स्वीकृति प्राप्त गर्न ढिलाइ हुँदा आयोजना लक्ष्यअनुसार सञ्चालनमा आउन सकेन । त्यसकै कारण उत्पादन सुरु गर्ने समय करिब ६ महिना पछाडि धकेलिएको हो ।
‘
‘वातावरण संरक्षण र पर्यावरण जोगाउने नाममा वनजंगल कटान गर्नुपर्ने अवस्थालाई सरकारले एकद्वार नीति अनुसार लगानीकर्तालाई लगानीको अवसर सहज हुने गरी व्यवस्थापन गर्नुपर्ने खाँचो छ,’ बरालले भने, ‘सरकारको एकद्वार नीति नहुँदा लगानीकर्ताले अनेकथरीका झन्झट व्यहोर्नुपर्छ ।’
सेतीखोला हाइड्रोपावर लिमिटेडले विसं २०७९ मा आयोजनाको शिलान्यास गरेको थियो । आयोजना साढे ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर प्राविधिक तथा प्रशासनिक कारणले निर्धारित समयमै उत्पादन सुरु हुन सकेन । आयोजनामा वैदेशिक संस्था डोल्मा इम्प्याक्ट फण्डले लगानी गरेको छ । फण्डमार्फत जापानीज संस्था जाईका, आइएमएफ, स्वेड फण्ड, ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट, डिएफसी तथा आइएफसीलगायत संस्थाको लगानी रहेको निर्देशक दिपक बरालले बताए । आयोजनाको लागत हालसम्म ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्